जातिय विभेदको पराकाष्ठाः अन्तरजातिय विवाह गरेको भन्दै वावुको काजकिरिया गर्न रोक
ओखलढुंगाको चम्पादेवी गाउँपालिका ३, ताप्केडाँडामा अन्तरजातिय विवाह गरेको भन्दै दुई जना छोरालाई वावुको अन्त्येष्टि गर्न रोक लगाईएको छ ।
गत जेठ २९ गते स्थानीय ७० वर्षिय मित्रबहादुर तामाङको निधन भएको थियो । मुटुका रोगी उनका चार भाइ छोरा छन् । तीमध्ये माइला शंकर र कान्छो प्रदीपले उनको अन्त्येष्टि गर्न पाएनन् ।
वडाअध्यक्ष बलबहादुर तामाङले समुदायका अन्य ब्यक्तिहरुलाई उचालेर आफुहरुलाई वुवाको काजक्रिया गर्न समेत नदिईएको उनीहरुको गुनासो छ। अन्तरजातीय बिवाह गरेको भन्दै उनीहरुलाई अन्त्येष्टिमा सहभागी हुन नदिइएको हो। शंकरले क्षेत्री प्रदिपले दलित समुदायकी महिला सँग विवाह गरेका छन् ।
मित्रवहादुरको निधन पछि शंकर धादिङबाट र प्रदीप काठमाडौंबाट घर पुगेका थिए । तर बुबाको अन्त्येष्टि स्थलमा पुगेका उनीहरूलाई माटो चढाउनसम्म दिइएन । उनको अन्त्यष्टिमा जेठो यामबहादुर र साइला तुलबहादुर सहभगि भएका छन् ।
बुबाको काजकिरिया गर्न नपाएपछि शंकर र प्रदिप भने काठमाडौं फर्किएका छन्। उनीहरूका अनुसार अन्त्येष्टिका मुख्य पुजारी लामाले क्रियापुत्रीको रूपमा सहभागी हुन भने पनि वडाअध्यक्ष बलबहादुर तामाङको नेतृत्वमा गाउँलेहरूले रोकेका हुन् ।
वडाअध्यक्षले भने देशको कानुन र समाजको कानुन फरक हुने भन्दै थर्काएको उनीहरुको गुनासो छ । यस विषयमा जिज्ञासा राख्दा वडाअध्यक्ष बलबहादुर भने आरोप सरासर झुटो भएको बताए ।
जातिय विभेद