News

प्रधानमन्त्री ओलीका कारण नेपालीले खोप पाउने अवसर गुमाएः गगन थापा

प्रधानमन्त्री ओलीका कारण नेपालीले खोप पाउने अवसर गुमाएः गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालले खोप नपाएको दावी गरेका छन् । वर्तमान सरकारकै कारण नेपालले कोरोना विरुद्धको खोप किन्ने अवसर समेत गुमाएको उनको आरोप छ ।

शुक्रबार जूममार्फत आयोजित ’कोभिडविरुद्ध हाम्रो अभियान संवाद शृंखला’लाई सम्बोधन गर्दै थापाले भने, ’गत पुस महिनामा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन नगरेको भए अहिलेसम्म नेपालमा खोप आइसक्ने थियो ।’

संसद् चलेको भए संसद्ले निर्देशन दिन्थ्यो र सरकार खोप किन्न बाध्य हुन्थ्यो भन्दै उनले थपे–‘तर सरकारले त्यो अवसर पनि गुमायो ।’ 

नेता थापाले गत माघ–फागुन महिनामा सरकारले अक्सिजनको प्रबन्ध गर्न नसक्दा सयौं नेपाली नागरिकको ज्यान गएको बताए । 

उनले कोरोना महामारीका बेला औषधि किन्दा भ्रष्टाचार गर्ने, महँगो चार्टर्ड उडान गरेर कमिसन खाने यस्तो सरकार संसारमै कहीं नभएको दाबी पनि गरे । ’महामारीमा सबैभन्दा महत्वपूर्ण कुरा समय हो । चीन र भारतमा कोरोना महामारी फैलिएको ३०–३५ दिनपछि नेपालमा कोरोना ’केस’ देखिएको हो तर सरकारले त्यो समयको उपयोग गर्न सकेन’, उनले भने ।

थापाले आउँदो एक–डेढ वर्ष नेपाली कांग्रेसले सरकार चलाउने अवसर पाउने विश्वास व्यक्त गर्दै तर त्यसका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने जनाए । ’नेपालको राजस्व कर्मचारीको तलब, भत्ता दिनमात्रै पुग्छ, विकास निर्माणको काम गर्न ऋण लिनु पर्ने अवस्था छ। त्यसैले नेपालभित्रै लाखौं रोजगारी कसरी सिर्जना गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा कसरी सर्वसुलभ र गुणस्तरीय बनाउने भन्नेतर्फ अहिलेदेखि नै तयारी गर्न जरुरी छ’, उनले भने ।

गगन थापा कोरोना विरुद्धको खोप

विशेष