News

भारतमा अक्टोबरमा कोरोनाको तेस्रो लहर आउन सक्ने स्वास्थ्य विशेषज्ञको चेतावनी

भारतमा अक्टोबरमा कोरोनाको तेस्रो लहर आउन सक्ने स्वास्थ्य विशेषज्ञको चेतावनी

स्वास्थ्य विशेषज्ञहरुले भारतमा केहि महिनाभित्रै कोरोनाको तेश्रो लहर देखिन सक्ने चेतावनी दिएका छन् । स्वास्थ्य विशेषज्ञहरूसँग गरेको एक सर्वेक्षणमा ८५ प्रतिशत सहभागीले कोभिडको तेस्रो लहर भारतमा अक्टोबरमा देखिन सक्ने ठानेको पाइएको छ।

चालीस विज्ञ सहभागी उक्त सर्वेक्षणमा झन्डै दुईतिहाइले उक्त लहरमा बालबालिका र १८ वर्ष मुनिका मानिस सबैभन्दा जोखिममा हुने कुरा स्वीकारेका छन्।

तर विज्ञहरूले उक्त लहर नियन्त्रण गर्न सकिने खालको हुने बताउँदै कोभिड अझ एक वर्षका लागि खतराका रूपमा रहने बताएका छन्।

जुन १३ देखि १७ बीचमा गरिएको उक्त सर्वेक्षणमा विश्वभरिका स्वास्थ्य स्याहार विशेषज्ञ, चिकित्सक, वैज्ञानिक, भाइरसविद्, इपिडिमियोलजिस्ट र प्राध्यापकहरू छन्।

उल्लेख्य रूपमा खोप कार्यक्रम अघि बढेका कारण नयाँ लहरको प्रभाव केही कम हुने उनीहरूले बताएका छन्।

यस्तो छ भारतको अवस्था
भारत सरकारले शनिवार बिहान प्रकाशित गरेको तथ्याङ्कमा विगत २४ घण्टामा झन्डै १९ लाखवटा नमुनाको परीक्षण हुँदा सङ्क्रमण पुष्टि हुनेको संख्या ६० हाजर ७५३ देखिएको छ।

भारतमा दैनिक लगातार एक लाखभन्दा कम सङ्क्रमित पाइएको यो बाह्रौँ दिन हो।

विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।
कोभिडसँग सम्बन्धित कारणले थप १ हजार ६४७ जनाको मृत्यु भएसँगै भारतमा यो महामारीमा ज्यान गुमाउनेको संख्या तीन लाख ८५ हजार नाघिसकेको छ।

भारत सरकारका अनुसार अहिलेसम्म २.९८ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।
बीबीसीको सहयोगमा

विशेष