News

आफ्नै निकटस्थबीच चर्को अन्तर्द्वन्द्व शुरु भएपछि कमजोर वन्दै ओली

आफ्नै निकटस्थबीच चर्को अन्तर्द्वन्द्व शुरु भएपछि कमजोर वन्दै ओली

एउटासँगको रिस मार्न अर्कालाई बोक्दाबोक्दै अन्ततः आफ्नाहरु नै रिसाएपछि केपी ओली आफ्नै समूहभित्र रक्षात्मक वनेको चर्चा बालुवाटार वृत्तमा चल्न थालेको छ ।

१८ औँ पटकको मन्त्रिपरिषद् पुनर्गठनमा गोकुल बाँस्कोटालाई मन्त्री बनाउन तयारी गरिँदै थियो । त्यसका लागि प्रधानमन्त्रीले अख्तियार प्रमुख प्रेम राईलाई ७० करोडवाला अडियो टेपसम्बन्धी गोकुलको मुद्दा मिलाउन भन्नुभएकै हो । बीचमा लेखा समितिको अर्को पत्रले अख्तियारलाई रोकिदियो । अनि समूहभित्रैको अन्तरद्दन्दका कारण न गोकुल, न महेश बस्नेत– कोही मन्त्री बन्न सकेनन् ।

बुझिएअनुसार, गृहमन्त्री बन्नबाट महेशलाई रोक्न सुवाष नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल, राजन भट्टराईदेखि गोकुलसम्मको सहमति थियो । त्यसैले उनलाई बनाउनै पर्ने अवस्थामा सञ्चारसम्म दिने मुडमा प्रधानमन्त्री रहनुभयो । तर, त्यहाँ पनि रोकियो ।

गत वर्ष बर्दिबासबाट सांसद प्रदीप यादवहरुलाई काठमाडौं ल्याउने (अपहरण) जिम्मा शुरुमा गोकुललाई दिइएको थियो । उनले त्यस्तो आपराधिक काममा मन नगरेपछि महेश तम्सिए । काम पनि फत्ते गरे । गण्डकीदेखि तराईसम्मको अपजशे काम पाए तर, ऐन मौकामा मन्त्री पाएनन् ।

गण्डकीमा विश्वासको मत नपाउनासाथ संसद विघटन गरेर फेरि मुख्यमन्त्रीको शपथ लिनु भन्ने निर्देशन थियो, पृथ्वीसुब्बा गुरुङलाई । तर, उनले मानेनन् । पत्रकार सम्मेलन गरेरै भनिदिए, ‘केपी ओलीका कारणले समेत यस्तो परिस्थिति आएको हो ।’ अर्थात्, केपी बरु भाँच्चिने, नसच्चिने नीतिमा हुनुहुन्छ, त्यसलाई पृथ्वीसुब्बाले अस्वीकार गरेका छन् ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशलाई विपक्षी गठबन्धनले ओलीमुक्त बनाइसके । लुम्बिनीमा शंकर पोखरेल र प्रदेश प्रमुखले झेल गरेपछि सरकार टिकेको छ । प्रदेश १ र बागमति ओलीको हातबाट जाने खतरा बढेको छ । २ मा त्यसै पनि एमाले कमजोर हो । प्रधानमन्त्री केपी ओलीमा शीतल निवास र बालुवाटार जोगिए सबै जोगिन्छ भन्ने विश्वास बाँकी हुँदा प्रदेशहरु गुम्दै अन्ततः आफ्नै निकटस्थबीच चर्को अन्तद्वन्द्व शुरु हुने अनुमान लगाइँदैछ ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो। 

विशेष