गाउँपालिका अध्यक्ष जसले गाउँमा डाक्टरको अभावले डाक्टर नै उत्पादन गर्ने निर्णय गरे
नेपालको पुर्वी भागमा रहेको ताप्लेजुङ्गको सिरीजङ्गा गाउँपालिकाले आफ्नै खर्चमा एमबिबिएस पढाउने समाचारले सञ्चारमाध्यममा प्राथमिकता पाएको छ। सिरीजङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रममा सार्वजनिक गरेको एउटा कार्यक्रम हो ‘आफ्नै खर्चमा एमबिबिएस पढाउने’ कार्यक्रम । नेपाल आजले गाउँपालिकाले आफ्नै लगानिमा एमबिबिएस अध्यापन गराउने निर्णयको पृष्ठभुमी खोतल्ने प्रयास गरेको छ ।
सिरीजङ्गा गाउँपालिका ताप्लेजुङ जिल्लाको सबै भन्दा पुर्वी सिमानामा रहेको गाउँपालिकाहो । लिम्बु भाषा तथा लीपी (सिरीजङ्गा) का सर्जक तथा संरक्षक त्येअङ्सी सिरीजङ्घा सिन थेवेको योगदानलाई कदर गर्दै यस गाउँपालिकाको नाम सिरीजङ्घा गाउँपालिका रहन गएको हो । कुल क्षेत्रफल ४८१.०९ वर्ग कि।मी। रहेको यस गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार १५८०६ रहेको छ । विश्चको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कंचनजङ्घा ९८५८६ यसै गाउँपालिकाको वडा नं ८, याम्फुदिनमा अवस्थित रहेको छ ।
ताप्लेजुङ्गको सदरमुकामदेखि करिब ८० किलोमिटरको दुरीमा रहेको यो गाउँपालिकामा अझैपनि सहज तरिकाले यातायात पुग्न सकेको छैन । सदरमुकामबाट गाउँपालिका जोड्ने कच्चिबाटो ४० किलोमिटरको दुरीमा रहेपनि बर्खायाममा बन्द हुने गर्दछ । मानवका न्युनतम आवश्यकता मध्येका शिक्षा, स्वास्थ, यातायात, सञ्चारको समस्या झेली रहेको सिरीजङ्गा गाउँपालिकाले सञ्चालन गर्न लागेको निःशुल्क एमबिबिएस कार्यक्रम अहिले लोकप्रिय बनेको छ ।
गाउँमा कुनै अप्राकृतिक कारणले मान्छेको मृत्यू भएपनि पोस्टमार्टम गर्न समेत डाक्टर नहुँदाको पिडा बोध गरेर गाउँपालिकाकै लगानिमा डाक्टर उत्पादन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङ्गले जानकारी दिए । उनि भन्छन् , ‘गाउँपालिकामा एउटा मात्रै प्राथमिक स्वास्थ्य केन्द्र छ । स्वास्थ्य केन्द्रमा एक जना विशेषज्ञ डाक्टरको दरबन्दि भएपनि दुर्गम भएकाले कोहि आउन मान्दैनन् । कोहि आएपनि एक महिना दुई महिना बस्छन् । धेरै टिक्न सक्दैनन् ।’
गाउँपालिकाले बारम्बार स्वास्थ्य मन्त्रालय तथा सामान्य प्रशासन मन्त्रालयमा डाक्टर पठाई दिन बारम्बार अनुरोध गर्दा समेत कोहि आउन नमान्ने गरेको गुनासो गर्छन अध्यक्ष गुरुङ्ग । उनि भन्छन्, ‘हामीले बारम्बार मन्त्रालय मै गएर डाक्टरको माग गर्यौ । डाक्टर उपलब्ध भएन । आफैले दरबन्दी आह्वान गर्दा समेत दुर्गम भनेर कसैले आवेदन दिएनन् । तोकिएको तलब भन्दा थप ५० हजार दिने निर्णय गरेपछि अहिले एकजना एमबिबिएस डाक्टरले काम गरिरहेकाछन् । उहाँ नै हो गाउँपालिकामा लामो समय बस्नुभएको ।’
गाउँपालिकाका नागरिकहरुले न्युनतम शिक्षा र स्वास्थ्यबाट बन्चित नहुन भनेर नै निःशुल्क एमबिबिएस अध्यापन गराउने निणर्य कार्यपालिकामा पेश गरेको अध्यक्ष गुरुङ्गको भनाई छ । उनि भन्छन् , ‘गाउँपालिकाको खर्चमा एमबिबिएस अध्ययन पुरा गरिसकेपछि विद्यार्थीले अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र स्वास्थ्य कार्यालयमा सेवा गुर्न पर्ने प्रावधान गरिएको छ जसले गर्दा स्थानिय स्तर मै डाक्टर उत्पादन भएपछि अभाव झेल्नु पर्दैन ।’
गाउँपालिका अध्यक्ष टिकाराम गुरुङ्ग नेपाली काँग्रेसबाट स्थानिय तहको चुनावमा निर्वाचित भएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमए गरेका गुरुङ्ग विद्यार्थी राजनितिबाट आएका हुन् ।
यो सँगै गाउँपालिकाले ‘निःशुल्क शिक्षा हामी सबैको इच्छा’ नाराअन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्ने पालिकाभरिका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था, प्रत्येक वडाका एक–एक जना सर्बोत्कृष्ठ विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क अध्ययनको व्यवस्था र पालिकाभरिका ४१ वटै विद्यालयका विद्यार्थीको पोशाकमा एकरुपता कायम गर्ने नीति गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले एसइईअघि कम्तीमा दुई महिना निःशुल्क कोचिङ कक्षा चलाउने भएको छ भने उपाध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत दलित, महिला र अपाङ्गता परिचयपत्र प्राप्त विद्यार्थीको भर्ना शुल्क, मासिक शुल्क, रजिष्ट्रेन शुल्क र परीक्षा शुल्कवापतको रकम गाउँपालिकाले व्यहोर्ने भएको छ । यस्तै प्रत्येक वर्षको एसइई परीक्षामा पालिकाभित्रबाट सर्वोत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई एक–एक थान ब्राण्डेड ल्यापटपसहित सम्मान गरिने भएको छ । यस्तै कक्षा ८ को वार्षिक परीक्षामा सर्बोत्कृष्ट नतीजा ल्याउने एक छात्र र एक छात्रालाई नगद रकमसहित पुरस्कृत गर्ने घोषणा गाउँपालिकाले गरेको छ ।
गाउँपलिकाले राष्ट्रिय कलाकार मनोज गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्ति गर्ने घोषणा गरेको छ । गाउँपालिकाको नियमित नवौँ गाउँसभामा गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्त गर्ने निर्णय गरिएको थियो । ‘सिरिजङ्गाको छोरा’ उपनामले समेत गजुरेललाई सम्मान गर्ने गाउँपालिकाले जनाएको छ । गजुरेल सिरिजङ्गा गाउँपालिका—५ मामाखे गाउँमा जन्मिएका हुन ।
सिरीजङ्गा गाउँपालिका