News कभर स्टोरी

बुवाद्धारा छोरी बलात्कृतः १३ वर्षीया बालिकाको पेटमा ८ महिनाको गर्भ 

बुवाद्धारा छोरी बलात्कृतः १३ वर्षीया बालिकाको पेटमा ८ महिनाको गर्भ 

कञ्चनपुरकी एक १३ वर्षीया बालिका आफ्नै बुवाको गर्भ बोक्न बाध्य छिन् । जिल्लाको बेदकोट नगरपालिका–३ की १३ वर्षीया बालिका आफ्नै ५५ वर्षीय बुवाको गर्भ बोक्न बाध्य भएकी हुन् । बुवाले पटकपटक बलात्कार गरेर गर्भवती बनाएको उनको आरोप छ ।  ती बालिकाका बुवा किसान हुन् । उनी खेतीपातीको काम गर्दै आएका थिए । पीडित बालिकाका अनुसार उनको ६ जनाको परिवार छ । 


बालिका भन्छिन्, ‘मलाई थाहा छैन, पहिले ममाथि बुवाको दृष्टि राम्रै थियो । तर घटना कसरी घट्न पुग्यो थाहा छैन । गर्मीको समय थियो । हाम्रो सानो घर छ । भित्री तलामा दाईको परिवार बस्छन् । बहिनी, म, आमा र बुवा भुँईतलामा सँगै सुत्थ्यौँ । अलग–अलग सुत्न ठाउँ छैन । त्यसैले एउटै ओछ्यान लगाएर सुत्ने गर्छौँ । छेउमा बाबा सुत्नुहुन्थ्यो । त्यसपछि बहिनी, आमा अनि म लहरै सुत्ने गथ्यौँ ।


तर रातिको समयमा बुवा उठेर आफू भएको ठाउँमा आउने गरेको उनी बताउँछिन् । ‘राति सुतेपछि बुवा उठेर मेरो छेउमा आउनुभयो । अनि मसँग गलत हर्कत गर्न थाल्नुभयो ।’ जवरजस्ती गर्न थालेपछि म चिच्याउन थालेँ ।’ उनी भक्कानिइन्, ‘पीडा हुन थालेपछि म जोरले कराएँ । बुवाले मुख थुनेर ममाथि जवरजस्ती गर्न थाल्नुभयो ।’ 

जवरजस्ती करणी भएको ३-४ दिनपछि पीडित बालिकालाई उनका बुवाले कसैलाई भने, पिट्ने र ज्यान मार्ने धम्कीसमेत दिएका थिए । उनी भन्छिन्, ‘घटनाको ३-४ दिनपछि कसैलाई भनिस् भने, तँलाई हान्छु र मार्दिन्छु भनेर बुवाले धम्काउनुभयो । डरले मैले त्यो कुरा कसैलाई पनि भनिन् ।’ त्यसपछि हरेक दिन आफूमाथि बुवाले बलात्कार गर्ने गरेको उनी बताउँछिन् ।

आमासँगै सुत्ने उनले आफ्नै बुवाबाट बलात्कृत भएको कुरा आफ्नै आमालाई पनि भन्न सकिनन् । ‘आमासँगै सुतेका बेला त्यस्तो हुन्थ्यो । म कराएको आमाले सुनेको होला भनेर मैले भनिन् । त्योमाथि बुवाको धम्की सम्झदाँ कसैलाई भन्ने आँट पनि गर्न सकिन्’  उनले भनिन्, ‘म पीडाले कराउँदा पनि आमालाई थाहा भएन् । मलाई त लाग्छ, आमाले जानीजानी नजानेको जस्तो गरेकी हुन् ।’ 


समाजमा इज्जत जाने डरले घटनालाई परिवारले लुकाएको देखिन्छ । पीडितका दाईले पनि आफूलाई ८ महिनासम्म घटनाबारे थाहा नभएको बताए । उनी भन्छन्, ‘छिमेकमा हल्ला सुनेपछि परिवारका अन्य सदस्यलाई सोधेँ । बहिनीले बताएपछि घटनाबारे थाहा पाएको हुँ ।’ भारतमा रोजगारी गर्दै आएका उनी केही दिन अघि मात्रै कञ्चनपुर फर्केका हुन् । 


पीडित बालिकाको शरीरमा परिवर्तन देखिन थालेपछि छिमेकीमा गाँइगुँइ हुन थाल्यो । र छिमेकीले शंकाका आधारमा शान्ति पुर्नस्थापना गृह कञ्चनपुरलाई जानकारी गराए । २०७८ जेठ १६ गते शान्ति पुर्नस्थापना गृहले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा पीडित बालिकालाई उद्दार गरेको थियो । बालिकाको उद्दार गरे लगत्तै दोस्रो दिन जेठ १७ गते कञ्चनपुर प्रहरीले पीडित बालिकाका ५५ वर्षीय बुवालाई पक्राउ गर्यो । 

पीडित बालिकाले गर्भमा रहेको बच्चा आफ्नै बुवाको भएको भन्दै आरोप लगाएपछि प्रहरीले पीडितका बुवालाई पक्राउ गरेको थियो । पीडकले पनि आरोप स्विकार गरिसकेका छन् ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आरोपित पुरूषलाई जिल्ला अदालत कञ्चनपुर चलान गरिएको छ । 

विशेष