News

पत्रकारका नाममा धम्की र रकम असुली, सःमिलवाट दुई जना पक्राउ

पत्रकारका नाममा धम्की र रकम असुली, सःमिलवाट दुई जना पक्राउ

मोरङ्गमा दुई जना नक्कली पत्रकार पक्राउ परेका छन् । पत्रकारको परिचय पत्र देखाएर ठगी गरेको आरोपमा प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका ६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देललाई पक्राउ गरेको हो ।

वनको कर्मचारी र पत्रकार भन्दै रकम ठगी गरेको आरोपमा उनीहरुलाई मोरङको रतुवामाई नगरपालिका १० बाट पक्राउ गरिएको हो । गत असार ४ गते रतुवामाई १० का पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलमा रकम उठाउन आएका बेला उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट ३२ हजार ९ सय ९५ रुपैयाँ नगद, सृष्टि साप्ताहिक र सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड, रकम उठाएको अभिलेख डायरी, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र, जनमत साप्ताहिक र बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र वरामद भएको छ ।

उनीहरुले मोरङका बिभिन्न स्थानका २५ जनाबाट १ हजार देखी ११ हजार ५ सयसम्म रकम उठाएको खुलेको छ । 

‘कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुन्छ’ भन्दै धम्की दिएर उनीहरुले रकम संकलन गर्ने गरेको पाईएको छ । दुवै उपर ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
 

विशेष