सेफ्टिक ट्याङकीमा निसासिएर दुई मजदुरको मृत्यु, एक घाईते
संखुवासभाको खाँदबारी नगरपलिका –४ सेकाहामा सेफ्टिक ट्याङ्कीमा निसासिएर दुई मजदुरको मृत्यु भएको छ ।
खाँदबारी–४ सेकाहाका २५ वर्षीय ईश्वर राई र ३३ वर्षीय ताराबीर गुरुङ रहेको मृत्यु भएको हो । शौचालयको नयाँ सेफ्टिक ट्याङ्की भित्रको सेटिङ खोल्न भित्र छिरेका उनीहरूको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
स्थानीय नरेश गुरुङको सेफ्टिक ट्याङ्कीको सेटिङ खोल्न सुरुमा राई ट्याङकी भित्र पसेका थिए भने त्यसपछि गुरुङ ट्याङ्कीभित्र छिरेका थिए । राई वेहोस भएको देखेपछि छिरेका गुरुङ्ग पनि बेहोस भएपछि दुवैलाई ट्याङ्की फुटाएर अचेत अवस्थाबा बाहिर निकालिएको थियो ।
उनीहरूलाई उद्धार गर्ने क्रममा ट्याङकी भित्र पसेका अर्का स्थानीय युवासमेत घाइते भएका छन् । अचेत अवस्थामा आइतबार साँझ जिल्ला अस्पताल पुगेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले बताए।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ ।