News विचार

ओलीको मण्डले रणनीतिः गणतन्त्र भित्र छिरेर गणतन्त्र ध्वस्त

रामप्रसाद रिजाल

ओलीको मण्डले रणनीतिः गणतन्त्र भित्र छिरेर गणतन्त्र ध्वस्त

पञ्चायतकालमा जनपक्षीय उम्मेदवारहरुको रणनीति हुन्थ्यो–पंचायत भित्रै पसेर पंचायतको भण्डाफोर गर्ने, या पञ्चायतलाई ध्वस्त पार्ने । अहिले लोकतन्त्रका योद्धा भनिएका केपी शर्मा ओलीले ठ्याक्कै यही रणनीति अपनाएका छन ।

पहिलेदेखि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरोधी ओली काकताली परेर र अन्य नेताहरुको मुर्खताको कारण सत्तामा हाबी भए । गणतन्त्र भित्रै छिरेर गणतन्त्र ध्वस्त पार्ने ओलीको रणनीति स्पष्ट भैसकेको छ ।

संसद ओलीले दोस्रो पटक पनि विघटन गरीसके संविधानलाई ओलीले कागजको खोस्टोमा परिणत गर्न खोजीरहेका छन । राष्ट्रपति विद्यादेवी भण्डारी ओलीको कठपुतली भएकी छिन । जसले गर्दा गणतन्त्र प्रति नै जनतामा वितृष्णा जागेको छ, जुन ओलीको चाहना नै हो । ओलीलाई जसरी पनि सत्तामा टिक्नु छ। चाहे गणतन्त्र भाँडमा किन नजाओस ।

पञ्चायतकालको अन्त्यपछी बहुदल आएको केही वर्षमै पुनः महापञ्चहरु सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री भए । पूर्व मण्डलेहरु धमाधम मन्त्री भए  र उनीहरुले बहुदलीय व्यवस्था नै बदनाम गरे । सत्ता समीकरणको सोही कालखण्डमा पजेरो काण्ड सुरा–सुन्दरी काण्ड  लगाएत सांसद खरीदबिक्रीका अनेक काण्डहरु सार्वजनिक हुनुमा पूर्व मण्डलेहरुको भूमिका थियो ।

त्यस्तै गणतन्त्र आएपछि पनि अहिले ओली जस्ता गणतन्त्र विरोधीहरु बयलगाडा सिद्धान्तका  मालिकहरु माओवादीको वैशाखी टेकेर ओली र विद्याहरु एकाएक सत्ता राजनीतिको शिखरमा पुगे। जसले गर्दा प्रतिगामी शक्तिहरुले खेल्ने मौका पाउन थाले । सायद अहिले ओलीलाई प्रधानमन्त्री र विद्यालाई राष्ट्रपति बनाएकोमा प्रचण्ड पुर्परोमा हात राखेर पश्चाताप गरिरहेका छन ।

त्यस्तै माधव कुमार नेपाल झलनाथ खनाल शेरबहादुर देउव लगाएतका नेताहरुले पनि ओली यति तल्लो स्तरमा नाङ्गै हिड्छन भन्ने कल्पना समेत गरेका थिएनन होला ।

अब नक्कली राष्ट्रवादी, नक्कली लोकतन्त्रवादी र सत्ताको लागि जे जस्तो असंवैधानिक कदम पनि उठाउने ओली आफू कुर्सीमा बस्न नपाए बरु कुर्सी नै भाँचिदिने तर अरुलाई बस्न नदिने भनिरहेका छन्। धन्दुकारी स्वभावका ओलीलाई  प्रधानमन्त्रीको कुर्सीबाट हटाउन जति ढिलो हुन्छ त्यति नै  मुलुक संकटको दलदलमा फस्ने निश्चित छ ।

यो लेखकको निजी विचार हो।

विशेष