News प्रदेश ७

नेपाल-भारत नाकामा खाना अभियान सञ्चालन गरेको रोयल कालाबोरेटिभ्सको कार्यक्रम सम्पन्न

नेपाल-भारत नाकामा खाना अभियान सञ्चालन गरेको रोयल कालाबोरेटिभ्सको कार्यक्रम सम्पन्न

नेपाल र भारतको सिमा नाका गौरिफण्टामा ४२ दिनसम्म निःशुल्क खाना अभियान सञ्चालन गरेको रोयल कोलाबोरेटिभ्सले बिहिबार अभियानको समापन गरेकोछ । रोयल कोलाबोरेटिभ्स भारतबाट घर फर्किने नेपालीहरुलाई लक्षितगरी खाना खुवाउने अभियान सञ्चालन गरिरहेको थियो ।

अभियान अन्तर्गत यो अवधिमा २४ हजार प्लेट खाना खुवाईएको रोयल कोलाबोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका थिए । नेपालमा कोरोना महामारीको पहिलो लहर सुरु भएदेखि निरन्तर रुपमा सामाजिक कामहरुमा सक्रिय बन्दै आएको छ रोयल कोलाबोरेटिभ्स । अघिल्लो वर्षदेखि सिमा नाकामा खाना खुवाउने अभियान सञ्चालन गरेको युवाहरुको समुहले रोयल कोलाबोरेटिभ्स नामक संस्थाबाट कोरोना महामारीको प्रभावमा परेकाहरुलाई सक्दो सहयोग गर्दै आएको छ ।

यससँगै युवाको टोली यो अवधिमा विभिन्न सामाजिक काममा सक्रिय बनेको छ । सीमामा आवतजावत गर्ने सबै जनालाई निशुल्क रुपमा दैनिक ५ सयदेखि ७ सय जनालाई खाना खुवाईएको बताईएको छ । अभियानमा दैनिक रुपमा १८ जना स्वयमसेवकहरुले घर नगई सेवा गरेका थिए । यो अभियानमा धनगढी उपमहानगरपालिकाले खाद्यान्न र स्वास्थ्य सामाग्री तथा नेपाल रेडक्रस सोसाईटीले खाना स्थल निर्माण, निशुल्क पिउने पानी र खाद्यान्न सहयोग गरेका थिए । त्यस्तै देश विदेशमा रहेका र धनगढीकै मनकारीहरुले पनि अभियानमा सहयोग गरेका थिए । त्यसैगरी रोयल कोलाबोरेटिभ्सले सीममा निशुल्क खाना खुवाउने कामसँगै सेती प्रादेशिक अस्पतालका विरामी र कुरुवाहरुलाई पनि निःशुल्क खाना खुवाएको जनाइएको छ । कोरोना महामारीको समयमा संक्रमितहरुलाई आवतजावत गर्नका लागि एम्बुलेन्स सेवा पनि प्रदान गरेको छ ।

कोरोना संक्रमित २० जनालाई निशुल्क अक्सिजन सिलिण्डर पनि सहयोग गरेको रोयल कोलाबोरेटिभ्सका अध्यक्ष शाहीले बताए । सीममा खाना खुवाउने अभियानलाई समापन गरे पनि अन्य सेवाहरु पनि थप गरेको छ । रोयल कोलाबोरेटिभ्सले अब हेल्प डेस्क सेवाको सुरुवात पनि गरेको छ । हेल्प डेस्कले एम्बुलेन्स सेवा अटो एम्बुलेन्स सेवा, रगत संकलन तथा वितरण, औषधी घरदैलोसम्म पुराउने सेवा, कोभिड सम्बन्धी स्वास्थ्य परामर्श तथा सल्लाह लगायतका सुविधाहरु दिनेछ । धनगढी उपमहानगरपालिकाको सहकार्यमा कोरोना महामारीको अवस्था रहँदासम्म यी सेवाहरु सञ्चालन गरिने रोयल कोलाबोरेटिभ्सका प्रवक्ता देवेन्द्र जोशीले जानकारी दिए । धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडको आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष गजेन्द्र शाहीले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका प्रवक्ता देवेन्द्र जोशीले गरेका थिए ।

रोयल कोलाबोरेटिभ्स

विशेष