News

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न: हिजो गाएका समानताका गीतको के अर्थ रह्यो ?

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न: हिजो गाएका समानताका गीतको के अर्थ रह्यो ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्यको भूमिका जिम्मेवार बनाउन सकिन्न भने हिजो गाएका समानताका गीत र आज संविधानमा लेखिएका न्यायका अक्षरहरुको मूल्य के बाँकी रह्यो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर रुपा सुनार र सरस्वती प्रधानबीचको जातीय विभेद प्रकरणमा सरकारकै मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिन खोज्नु कानूनी र नैतिक कोणबाट प्रश्न उब्जिएको बताएका छन् ।

कुनै पनि घटनाको न्यायोचित समाधानको विधिमा समाजलाई आश्वस्त तुल्याउने भूमिकाबाट राज्यलाई विमुख गराउन खोजेको हो ? भन्दै विज्ञप्तिमा भनिएको छ–‘राज्यको भूमिका जिम्मेवार बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीतहरु र आज संविधानमा लेखिएका न्यायका अक्षरहरुको मूल्य के बाँकी रहन्छ प्रधानमन्त्रीज्यू ?’

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय विभेदको आरोपमा हिरासतमा रहेकी काठमाडौंको बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन अदालतमै पुगेकोमा आलोचना भैरहेको छ।

समाजमा विभेदका कारण अपमान, अवहेलना र हत्याका घटना भइरहेको भन्दै शर्माले विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजिरहेको कांग्रेसले जनाएको छ । बबरमहलकी सरस्वती प्रधानले आफूमाथि जातीय विभेद गरेको आरोप लगाउँदै रुपा सुनारले उनीमाथि मुद्दा दायर गरेकी थिईन।

प्रधानलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि अदालत परिसरबाटै शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गाडिमा राखेर लगेपछि त्यसको आलोचना भैरहेको छ । 
 

नेपाली काँग्रेस विश्वप्रकाश शर्मा

विशेष