News विदेश Breaking News मुख्य समाचार

हङकङमा २६ वर्षदेखि प्रकाशित दैनिक पत्रिका ‘एप्पल डेली’ बन्द

हङकङमा २६ वर्षदेखि प्रकाशित दैनिक पत्रिका ‘एप्पल डेली’ बन्द

पत्रिकाको अन्तिम अकंको प्रथम पृष्ठमा कर्मचारीहरुले बिदाईको हात हल्लाउँदै गरेको तस्बिर छापिएको छ र लेखिएको छ, ‘वर्षाबीच हङकङेलीले गरे पीडादायी बिदाई ।’

काठमाडौँ — हङकङमा २६ वर्षदेखि प्रकाशित हुँदै आएको दैनिक पत्रिका ‘एप्पल डेली’ बन्द भएको छ । हङकङको प्रजातन्त्र पक्षधर मानिएको उक्त पत्रिका बिहीबार रातिदेखि बन्द गरिएको हो । 

ट्याब्लोइड आकारमा प्रकाशित हुने उक्त पत्रिकाको कार्यालयमा गत हप्ता अधिकारीहरुले छापा मारेका थिए । पत्रिकाले राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको अधिकारीहरुले दाबी गरेका छन् । पत्रिकाले प्रजातान्त्रिक पक्षको विचारलाई प्राथमिकता दिनुका साथै सेलेब्रिटीका गसिप र सत्तामा रहेका व्यक्तिका बारेमा अनुसन्धनात्मक रिपोर्टहरु प्रकाशित गर्दै आएको बताइएको छ ।

सन् २०१९ को अगस्टमा हङकङमा भएको सरकारविरोधी प्रदर्शनमा सहभागी भएको भन्दै पत्रिकाका मालिक जिम्मी लाईलाई फेब्रुअरी २८, २०२० मा पक्राउ गरिएको थियो । लाई हङकङको प्रजातान्त्रिक आन्दोलनका प्रमुख समर्थकका रुपमा रहेका थिए । तर उनलाई हालै हङकङमा लागू गरिएको राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरियो ।

बीबीसीका अनुसार ७३ वर्षीय लाईलाई १४ महिना जेल सजाय सुनाइएको छ । उनको सम्पत्ति करिब १ अर्ब डलर रहेको पनि बीबीसीले उल्लेख गरेको छ । अहिले उनको सम्पत्ति जफत गरिएको छ । पत्रिकाका अलावा उनको कपडासम्बन्धी व्यवसाय पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बिहीबार अन्तिम अंकका रुपमा करिब १० लाख पत्रिका अखबार छापिएको पनि हङकङ फ्री प्रेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एप्पल डेलीका साथै नेक्स्ट म्यागजिन र डिजिटल संस्करण पनि बन्द गरिएको कम्पनीले जनाएको छ । अनलाइन संस्करणमा केबल पत्रिका बन्द गरिएको सूचना मात्रै राखिएको छ । अन्य पुराना सामग्री पनि हटाइएको छ ।

व्यवस्थापनले कर्मचारी र पत्रकारको सुरक्षालाई मध्यनजर गर्दै अखबार बन्द गरेको पनि जानकारी दिएको छ ।

‘२६ वर्षदेखिको माया र साथका लागि सबै पाठक, ग्राहक, विज्ञापनदातालाई धन्यवाद दिन चाहन्छु । हामी बिदा माग्न चाहन्छौं, आफ्नो ख्याल गर्नुहोला,’ पत्रिकाले भनेको छ ।

तस्बिर : रोयटर्स

पत्रिका बन्द हुने सूचना पाएपछि सयौं समर्थक बुधबार राति कार्यालयअगाडि जम्मा भएका थिए भने पत्रकारहरुले बाल्कोनीमा आएर समर्थकहरुसँग कुराकानी गरेका थिए । पत्रिकाको अन्तिम अकंको प्रथम पृष्ठमा कर्मचारीहरुले बिदाईको हात हल्लाउँदै गरेको तस्बिर छापिएको छ र त्यसमा लेखिएको छ, ‘वर्षाबीच हङकङेलीले गरे पीडादायी बिदाई ।’

बुधबार राति एप्पल डेलीको न्युजरुममा पुगेका रोयर्टसका संवाददाताका अनुसार पत्रिका बन्द हुने घोषणापछि पत्रकारहरु भावुक बनेका थिए । सन् १९९५ देखि प्रकाशन सुरु भएको पत्रिका दैनिक ८० हजार प्रति छापिँदै आएको थियो ।

तस्बिर : रोयटर्स

हङकङका अधिकारीले भने एप्पल डेलीमाथिको कारबाही आमसञ्चार उद्योगप्रति लक्षित नभएको र प्रेस स्वतन्त्रताविरुद्ध नभएको बताएका छन् । अधिकारीहरुले एप्पल डेलीमा प्रकाशित सामग्रीले सुरक्षा कानुनको उल्लंघन गरेको दाबी गरेका छन् ।

ताइवानबाट समेत प्रकाशित हुँदै आएको एप्पल डेलीको अनलाइन संस्करण मात्र निरन्तरता दिने बताइएको छ ।ईकान्तिपुर

विशेष