News

दीपेन्द्र– देवयानीको १३ वर्ष लामो प्रेम, सुप्रिया थिईन पहिलो प्रेमीका

दीपेन्द्र– देवयानीको १३ वर्ष लामो प्रेम, सुप्रिया थिईन पहिलो प्रेमीका

बेलायतका धनीमानी मध्ये एक छन्, लर्ड क्यामोयज। क्यामोयज जसको बेलायती दरवारसँग विशेष सम्बन्ध छ। उनी र वीरेन्द्र शाहले बेलायतको प्राइभेट स्कुल इटनमा सँगै पढेका थिए।

बुढानिलकण्ठबाट फस्ट डिभिजनमा एसएलसी पास गरेपछि २०४५ सालमा वीरेन्द्रले दीपेन्द्रलाई पनि कलेज पढ्न बेलायतको इटन नै पठाए। यसपटक वीरेन्द्रका सहपाठी लर्ड क्यामोयज दीपेन्द्रका लागि स्थानीय अभिभावक बने। दीपेन्द्र इटनमा पढ्दै थिए। संयोग, त्यतिबेला देवयानी पनि पढ्नका लागि बेलायत नै पुगिन्। उनको स्थानीय अभिभावक पनि क्यामोयज नै बने। 

तर देवयानी भने फरक कलेजमा पढ्थिन। क्यामोयजका चार सन्तानमध्ये कान्छी छोरी सोफी देवयानीको साथी बनिन्, कान्छा छोरा विलियम दीपेन्द्रका साथी । 

अक्सफोर्डसायरमा क्यामोयजको स्टोनर पार्क नामक भव्य बंगला छ। यही बंगलामा एक दिन पार्टी थियो। 

विलियमसँगै इटन कलेजबाट दीपेन्द्र आएका थिए, सोफीसँग देवयानी। यहीँ देवयानी र दीपेन्द्रबीच पहिलो भेट भएको थियो। १८ वर्षका दीपेन्द्र र १७ वर्षकी देवयानीले एकअर्कालाई यहीँ दिल दिएका थिए।

‘उनीहरु १३ वर्षदेखि सँगै थिए’ जेठ १९ गते भएको राजदरवार हत्याकाण्डको छानविन गर्न गठित समितिसँगको बयानमा दीपेन्द्र र देवयानीको सम्बन्ध बारे सुप्रिया शाहले पुष्टि गरेकी छिन्। 

प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय अध्यक्ष तथा सभामुख तारानाथ रानाभाट सदस्य रहेको समितिले सुप्रिया (दिपेन्द्रको पहिलो प्रेमीका) लाई सोधेको थियो, ‘वैवाहिक जीवनमा (दीपेन्द्रले) कुनै मान्छेसँग कोहीसँग गर्ने कुरा आदि इत्यादि केही कुरा गर्नुहुन्थ्यो ?’

जवाफमा सुप्रियाले भनेकी छिन्, ‘वैवाहिक जीवनको त्यस्तो त अब त्यही देवयानीसँगै गर्ने भन्ने उहाँको इच्छा थियो क्यारे। अब यो विषयमा तपाईंले डिटेलमा सोध्ने हो भने त उहाँ (देवयानी) लाई सोधे राम्रो हुन्छ है, मलाई होइन।’ 

फेरि समितिले सुप्रियालाई सोधेको थियो, तर तपाईंसँग केही कुरा हुँदैन ? अथवा म देवयानीसँग गर्दैछु भन्ने बारेमा ? 

जवाफमा सुप्रियाले भनेकी थिइन्, देवयानीका बारेमा मसँग अहँ। यो देवयानीलाई सोधे राम्रो हुन्छ।

दीपेन्द्रले देवयानीसँग प्रेम मात्रै होइन बिहे पनि गर्न चाहेका थिए। तर परिवारमा उनलाई साथ दिने कोहि भएन । बहिनी श्रुति तथा भाइ निराजनसमेत आमा ऐश्वर्यको लाइनमा थिए। रानी ऐश्वर्यले दीपेन्द्रको पहिलो प्रेम सुप्रियामा रानी हुने गुण देखेकी थिइनन् भने देवयानीमा पनि उनको रुचि थिएन। नागरिकता नेपाली भए पनि देवयानी आधा भारतीय थिइन्। पशुपति राणा र भारतीय राजपरिवारकी उषाराजे सिन्धियाकी कान्छी छोरी देवयानीसँग दीपेन्द्रको विवाह गर्दा राजनीतिक र वित्तीय रुपमा दरवारमा देवयानी प्रभावशाली हुने विश्लेषण ऐश्वर्यको थियो। 

उषाकी आमा भारतीय जनता पार्टीमा थिइन् भने दाजु माधवराव सिन्धिया काँग्रेस पार्टीभित्र शक्तिशाली थिए। सिन्धिया परिवार राजनीतिक रुपमा मात्रै प्रभावशाली थिएन, वित्तीय हिसाबमा पनि शक्तिशाली थियो।

सुप्रिया र देवयानीलाई ’नो’ भनेकी रानी ऐश्वर्य भने गरिमा राणालाई बुहारी बनाउन चाहन्थिन्। एसएलसी टपर गरिमासँग दीपेन्द्रको बिहे गर्नुपर्छ भन्ने लाइनमा आमासँगै छोरी श्रुतिको पनि जोडबल थियो। श्रुतिको विवाह गोरखशम्शेर राणासँग भएको थियो, गोरखका काका लोकभक्त राणाकी छोरी गरिमा श्रुतिकी नन्द थिइन्। हजुरआमा रत्न सुप्रियाको पक्षमा। पिता वीरेन्द्र यता न उता। यस्तो बेला दीपेन्द्र खुसुक्क बिहे गर्ने विषयमा समेत सोचिरहेका थिए।

दीपेन्द्रले जेठ १९ को घटना हुनुभन्दा एक वर्षअगाडि देखि नै देवयानीसँग विवाह गर्ने तयारी सुरू गरिसकेका थिए ।

१९ जेठ २०५८, शुक्रबार।

राति ८ बजेर १२ मिनेट गएको थियो। दीपेन्द्रले आफ्नो ९८१०२१५१३ नम्वरको मोवाइल फोनबाट ९८१०२४३३९ नम्वरको मोवाइलमा फोन गरे। नेपाल ग्यासका नाममा दर्ता भएको यो फोन देवयानीले उठाइन्। 

दीपेन्द्रले देवयानीलाई सोधे, ‘आइतबार सुरु हुन लागेको राष्ट्रिय खेलकुदको उद्घाटन कार्यक्रममा तिमी आउँछ्यौ होइन?’ 

दीपेन्द्रले सोधेको प्रश्नको जवाफ दिन खोज्दै थिइन् देवयानी, तर मोवाइलमा आवाज स्पष्ट आएन। 

छानविन समितिलाई दिएको बयानमा देवयानी भन्छिन्, ‘सरकार मैले कुरा बुझिनँ भन्दै थिएँ। फेरि सोधिबक्स्यो, मैले जवाफ दिनुभन्दा अगाडि नै फोन राखिदिबक्स्यो। यसपटक १ मिनेट १४ सेकेन्ड कुराकानी हुँदा पनि देवयानीले दिएको जवाफ दीपेन्द्रले सुन्न सकेनन्।

देवयानीले फेरि आफ्नो कोठामा रहेको ल्याण्डलाइनबाट दीपेन्द्रको मोबाइलमा ८ बजेर १९ मिनेटमा फोन गरिन्। फोन गयो–गयो तर दीपेन्द्रले उठाएनन्। देवयानीले दिएको बयानअनुसार दीपेन्द्रले फोन नउठाएपछि त्यो फोन अटोमेटिकल्ली ड्युटी एडिसीकोमा ट्रान्सफर भयो। ड्युटी अफिसरसँग देवयानीले भनिन्, सरकारको स्वर अलिकति लरवराई बक्सिरहेको छ। गाथमा आराम छैन कि? उनले डिउटी अफिसरलाई माथि खोपिमा गएर हेर्न समेत अनुरोध गरिन्। यसपटक चार मिनेट १४ सेकेन्ड कुराकानी भयो।

त्यसको २० मिनेटपछि ८ बजेर ३९ मिनेटमा फेरि दीपेन्द्रले आफ्नो मोवाइलबाट देवयानीको मोवाइलमा फोन गरे। यसपटक जम्मा ३२ सेकेन्ड मात्रै कुराकानी भयो। दीपेन्द्रले देवयानीलाई भने ‘म भोलि बिहान मात्रै तिमीलाई फोन गर्छु।’ 

देवयानीले समितिलाई दिएको बयानमा भनेकी छिन्, गुडनाइट भनेर हुकुम भो। अनि मैले पनि गुड नाइट भने। त्यसपछि फेरि हुकुम भयो, ‘अब म सुत्न लागेको छु है। म भोलि बिहान फोन गर्छु।’ 

जेठ १९ गतेको भोलिपल्ट बिहानीसँगै २० गते त आयो। तर गुडनाइट भन्दै विदा भएको देवयानीको मोवाइलमा दीपेन्द्रको गुडमर्निङको फोन आएन। 

जेठ १९ को त्यो रात, वीरेन्द्र राजाको वंश विनाश। देवयानीलाई अन्तिम कल गरेको अर्को ३० मिनेटमा के भएको थियो नारायणहिटी दरवारमा।

अब राजतन्त्र नरहेपछि दरबारका कुरा खोतल्दै छन्, पूर्वदरबारिया कर्मचारीहरू पनि । भलै पूर्वराजदरबारका विषयमा स्वतन्त्र अनुसन्धानमूलक फेहरिस्त अझै बाहिर आएका छैनन् । त्यही कारण तिनै पूर्व कर्मचारीका संस्मरणमा चित्त बुझाउनुपरेको छ । सेनाका सबाल भने सायदै अब गोप्य रह्यो, पूर्व सेनापतिद्वय रुक्मागद कटवाल र छत्रमान गुरुङका ‘बहादुरी आत्मकथा’ बजारमा ‘हिट’ भइसकेका छन् । यसले अरू जर्साबहरूलाई आत्मकथा लेख्ने हौसला बढाएको हुनुपर्छ । तर, उनीहरूको पुस्तकमा दिवंगत राजा वीरेन्द्रको वंश नास कसले र कसरी गर्यो भन्नेचाहिं भेट्टाउन सकिंदैन, सैन्य–सचिव शाहको ‘मैले देखेको दरबार’देखि रेवतीरमण खनालका अनुभूतिसम्ममा । उनीहरू सबै अनुमानमै सीमित छन् । २०५८ जेठ १९ को राति दरबारमा वीरेन्द्रको वंश समाप्त भएको थियो । उनीहरूको संकेतचाहिं दीपेन्द्रतिरै देखिन्छ, स्वभाव विश्लेषण गर्दै । दीपेन्द्रप्रति शाह र खनालको समान अनुभव छ, ‘दीपेन्द्र अस्वाभाविक उपद्रोकर्ता, हठी, बदमासी, परपीडक स्वभावयुक्त पात्र हुन् ।’

दरबारभित्रको तत्कालीन परिस्थिति र दीपेन्द्रको चरित्र–स्वभावलाई आधार मान्दै उनैलाई प्रमुख दोषी देखाउन खोजिएको छ । उता, ईश्वरीमान श्रेष्ठ भने ‘दीपेन्द्र भद्र, शालीन र दयालु युवराज’ ठान्छन् । तर उनै श्रेष्ठको तर्क छ, ‘युवराज दीपेन्द्रको प्रेमहठ र रानी ऐश्वर्यको राजहठको परिणाम दरबार हत्याकाण्ड भएको थियो कि भन्ने लाग्छ ।’ दरबारका कुरा लेख्नेहरूले ‘बडामहारानी ऐश्वर्य’को स्वभावबारे राम्रैसँग खुलाएका मात्र छैनन् कि उनलाई ‘तारो’ नै बनाएका छन् । लेखकहरूको समान धारणा छ– रानी ऐश्वर्यको स्वभाव ‘रफ’ थियो । उनी चर्कैसँग रिसाउँथिन् । दरबारका प्रमुख सचिवहरूलाई ठाडै हकार्थिन् । छोरा दीपेन्द्रलाई रूखो स्वरमा गाली गर्थिन् । खनाल लेख्छन्, ‘दरबारको बैठक तथा बगैंचामा काम गर्ने कर्मचारीहरूले पनि बडामहारानीलाई अति कडा भन्थे ।’ शाही परिवारसम्बन्धी नियमावली रानी ऐश्वर्यको जिद्दीकै कारण ‘सुधार’ हुन सकेन । राज्य सञ्चालन रानीको हठले ‘प्रमुखता’ पाउँथ्यो भने वीरेन्द्र मौनता साँध्थे । खनालका अनुसार, २०३१ मा राजपरिवारमा ‘श्री ५’ को उपाधि पाएकाहरूले गल्ती गरेमा कानुनी सजायसम्बन्धी व्यवस्था नियमावलीमा उल्लेख हुन नहुने र राजाबाट जे हुन्छ, त्यही मान्नुपर्ने धारणा ऐश्वर्यबाट आयो ।

त्यसमा राजा वीरेन्द्र मौन रहे । श्रेष्ठको पनि उही अनुभव छ, ‘रानी ऐश्वर्यमा यस्तो हठ थियो कि प्रधानमन्त्री कसलाई बनाउने ? राज्य सञ्चालन कसरी गर्ने ? कर्मचारीतन्त्रको व्यवस्था कसरी गर्ने भन्ने विषयमा राजा वीरेन्द्रभन्दा रानी ऐश्वर्य एक कदम अघि भएको आभास हामीलाई हुन्थ्यो । कुनै पनि महत्वपुर्ण निर्णयमा रानी ऐश्वर्यको सहभागिता रहन्थ्यो ।’ श्रेष्ठ २०३७ मा राजा वीरेन्द्रका स्वकीय सचिव भएका थिए । रानी ऐश्वर्यको राजनीतिमा सक्रियता, एडीसीहरूको हैकम, शरदचन्द्र शाहको हालीमुहालीका कारण काम गर्न असहज भएको उल्लेख गरका छन्, उनले । राजा महेन्द्र र वीरेन्द्र दुवैसँग निकै नजिकका राजनीतिक पात्र मानिन्थे, नवराज सुवेदी पनि । उनी पञ्चायतको आगमनसँगै मन्त्री र पञ्चायतको उत्तराद्र्धमा राष्ट्रिय पञ्चायत अध्यक्ष थिए । उनको पुस्तकमा पनि ‘रानी ऐश्वर्यको महत्वकांक्षा, राजाको निरीहता, दरबारिया सचिवहरूको दबदबा’का केही झलक उल्लेख छन् ।

उनका अनुसार, ‘श्री ५ साह्रै भद्र र सोझा व्यक्ति । रानीको बढी सक्रियता र सचिवहरूको बढी दबदबाजस्ता कारणले राजा वीरेन्द्रको समयबाट राजसंस्थाको अधोगति सुरु भयो । सचिव र एडीसीहरू राजाका रूपमा देखिन थाले । मन्त्रिपरिषद् स्थापना मात्र हुन गयो । रानीले भनेपछि राजा कुरा नकाट्ने, प्रत्येक निर्णयमा रानीको उपस्थिति अनिवार्य हुँदै गयो । यसलाई सचिव र एडीसीहरूले आफ्नो स्वार्थ पूर्तिमा प्रयोग गर्न थाले ।’ हुन पनि वीरेन्द्रको पालामा शासनमा रानी ऐश्वर्य र अधिराजकुमार ज्ञानेन्द्रको बढ्ता प्रभाव थियो । रानी र दुई भाइलाई शासकीय कार्यविभाजन गरिएको थियो । रानी ऐश्वर्य सामाजिक क्षेत्र हेर्थिन् । ज्ञानेन्द्रको भागमा वन तथा पर्यटन परेको थियो । अधिराजकुमार धीरेन्द्र प्रहरी हेर्थे । राजा वीरेन्द्र भने परराष्ट्र र राष्ट्रिय सुरक्षामा केन्द्रित थिए । त्यहीकारण चालीस दशकमा आमतहमै टिप्पणी हुन्थ्यो, ‘शासकीय शक्ति जती भाइ–भारदार खेलाउँछन् ।

रानी ऐश्वर्य पनि अधिक शक्ति उपयोग गर्छिन् । वीरेन्द्र त थापना मात्रका राजा हुन् ।’ रानी ऐश्वर्य समाज कल्याण परिषद् संरक्षक थिइन्, २०३४ पछि । त्यो संस्थाका निम्ति चन्दा संकलनको खेती खुब भयो । सँगै समाजमा अनेकन ‘किंवदन्ती’ सुनिन्थे । खुला आलोचना हुन सक्ने सम्भावना थिएन, सक्रिय राजतन्त्र भएकाले । दरबार नजिक हुने होडमा अञ्चलाधीश र प्रमुख जिल्ला अधिकारीहरू ‘चन्दा’ संकलन अभियानमा उत्रिए । व्यापारीहरूबीच परिषद्लाई चन्दा दिने होडबाजी नै चलाइयो । त्यतिखेर चन्दाअनुरूप ‘विभूषण’ दिने नीति परिषद्ले लिएको थियो । खनाल लेख्छन्, ‘नेपालका ठूला साहु–महाजन व्यापारीले धेरै चन्दा दिएर तक्मा पाउन थाले ।’ पञ्चायतको उत्तराद्र्धताका त्यो अथाह चन्दा रानीले ‘स्वीट्जरल्याण्ड बैंक’मा पम्फादेवीको नाममा राखेको हल्लाले सहर तरंगित भयो । ‘स्वीस बैंक खातामा १६ करोड अमेरिकी डलर राख्ने पम्फादेवी ठकुरी भनेकी को हुन् ?’ सबैको मुखमा झुन्डियो यो प्रश्न । २०४६ पहिलो जनआन्दोलनलई आक्रामक बनाउन पनि ‘पम्फादेवी’ र ‘स्वीस खाता’ले खुब काम गर्यो । उपल्ला व्यापारीका चन्दा र विदेशी सहायताबाट प्राप्त रकम ऐश्वर्यले आफ्नै खातामा राखेको टीकाटिप्पणीको पृष्ठभूमिमा ‘स्वीस खाता र पम्फादेवी’ प्रकरणलाई अकाट्य सत्य ठानियो । त्यहीखाले ‘हल्ला’ तीसको दशकमा पनि देखा नपरेको होइन, पात्र मात्र फरक थिए ।

त्यतिखेरको त्यो हल्ला आमतहमा नभएर शासकीय वृत्तमा मात्र सीमित थियो । जब राजा महेन्द्रको मृत्यु भयो, तब उनैका प्रमुखसचिव ईश्वरीमान श्रेष्ठलाई जर्मनीको राजदूत बनाइयो । वीरेन्द्रले उनलाई युरोपेली मुलुकमा आफ्ना पिता महेन्द्रको सम्पत्ति कहाँ, कति छ भनेर बुझ्न र व्यवस्थापन गर्न पठाएको टिप्पणी चलेको थियो, त्यो बेला । हुन पनि दरबारमा कार्यरत रहँदारहँदै श्रेष्ठलाई राजदूत बन्ने अवसर मिलेको थियो । उनी २०३७ सम्म राजदूतमा कार्यरत रहेर फेरी वीरेन्द्रको स्वकीय सचिव हुन आइपुगेका थिए । चालीस वर्षपछि श्रेष्ठले त्यसलाई ‘अफवाहपूर्ण आशंका’ मात्र भन्ने जिकिर गरेका छन् । राजा महेन्द्र र वीरेन्द्रले दरबारिया, दरबारमा कार्यरत कर्मचारी र बफादार पञ्चहरूलाई सरकारी सम्पत्ति ‘बक्सिस’ दिने प्रचलन बसाएका थिए । त्यतिखेर कतिपयलाई जंगल नै आफ्नो नाममा गराउने अवसर मिल्यो । त्यसरी सबभन्दा बढी पाउनेमा यिनै काजी ईश्वरीमान श्रेष्ठ थिए ।

उनले विराटनगरमा सिंगो ब्यारेक नै बक्सिस पाएका थिए । श्रेष्ठले आफ्नो पुस्तकमा सगर्व लेखेका छन्, ‘राजा महेन्द्रबाट कमलादीमा युवराज्ञीहरू शान्ति राज्यलक्ष्मी, शारदा राज्यलक्ष्मी, शोभा राज्यलक्ष्मीहरूकै घरको आडमा २ रोपनी ८ आना जग्गा र घर निर्माण गर्न १ लाख रुपैयाँ बक्सिस उपलब्ध भयो । राजाबाट गोदावरीमा ८० रोपनी जग्गा, चितवनमा केही बिघा जग्गा, विराटनगरमा सिंगो ब्यारेक नै बक्स प्राप्त भएको थियो भने सिमरामा श्रीमतीका निम्ति १५ बिघा जग्गा बक्स भएको थियो ।’ यसैगरी खनालले पनि हुकुम प्रमांगीबाटै कालीमाटीमा ठूलो परिमाणमा जग्गा प्राप्त गरे । उनीहरू मात्रै होइन, जो घरानियाँ र शक्तिसम्पन्न बनेका छन– उनीहरूमध्ये धेरैले त्यो हैसियत बनाउनुको प्रमुख आधार उही हुकुम प्रमाङ्गी थियो । तर त्यो लाभ शाही परिवारका सदस्य र दरबारले मन पराएका व्यक्तिले मात्र प्राप्त गर्थे ।

खनालको पुस्तकमा राजा महेन्द्रको भारतप्रतिको दृष्टिकोणबारे छोटो प्रसंग छ । २०२६ फागुनमा राजा वीरेन्द्रको विवाह हुँदै थियो । त्यतिखेर विभिन्न देशका राजकुमारहरू, सरकारप्रमुखहरू र भारतबाट राष्ट्रपति निम्ता मान्न आएका थिए । पाहुनालाई राजा महेन्द्रले सम्बोधन गर्ने कार्यक्रम थियो । र, आफ्नो मन्तव्यमा महेन्द्रले घुमाउरो शैलीमा भारतप्रति असन्तुष्टि जनाउने एउटा वाक्य पारे, ‘भारतले नेपाललाई सानो भाइलाई जस्तै असुविधा गर्छ ।’ त्यो भाषण परराष्ट्र सचिव यदुनाथ खनाललाई लेख्न लगाइएको थियो । पाहुनासामु त्यस्तो वाक्य राख्न उचित नहुने मान्यता भए पनि महेन्द्रले ‘जिद्दी’ गरेर त्यो वाक्य राख्न लगाएका थिए ।

त्यसले भारतीयहरूलाई बेखुसी तुल्याएको थियो । पञ्चायत र संसदीय कालखण्डमा दरबारभित्रका ‘कुरा’ लेख्न वा बोल्न सकिने अवस्था थिएन । त्यहीकारण त्यहाँका क्रियाकलाप रहस्यमय रहे । कतिपय त किंवदन्तीमा परिणत भए । दरबारका दुई पूर्व प्रमुखसचिव श्रेष्ठ र खनाल, अनि सैन्य सचिव शाहको संस्मरण–पुस्तकले थोरै मात्र पर्दा खोलेको छ । उनीहरू अझै पनि डराएका पो हुन् कि ?

 

यो पनि

किन विरेन्द्र सर्वसाधारणको हृदयमा बसे ?

पूर्वराजा वीरेन्द्र दरवार हत्याकाण्ड दीपेन्द्र देवयानी

विशेष