News अपराध सुरक्षा

चप्पल वोक्न नमानेपछि एस्काभेटरको वकेटले हानेर वडाध्यक्षको हत्या

चप्पल वोक्न नमानेपछि एस्काभेटरको वकेटले हानेर वडाध्यक्षको हत्या

सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा पोखरी खन्दाको विवाद बढ्दै गएपछि एस्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या गरिएको छ ।

हिजो बेलुकी ९ बजे सोही वडामा निर्माणाधीन पोखरीको अनुगमनमा गएका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको नगरप्रमुख मनोजकुमार देवकोटाले बताए।

शुक्रबार साँझ जेसिबी चालकसँग विवाद चर्किंदा एस्काभेटरले ठक्कर दिई वडाध्यक्ष श्रेष्ठको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले पनि बताए। उनका अनुसार नगरपालिकाको बजेटमा निर्माणाधीन मुखलाल राजपोखरीमा पुगेर साँझ घर फर्कने क्रममा वडा अध्यक्ष श्रेष्ठको हत्या भएको हो।

उक्त पोखरी निर्माणको ठेक्का इल्धन सहनीले लिएका थिए। इल्धनले पोखरी खन्नका लागि प्रेमराज दाहाललाई ठेक्का दिए। एस्काभेटर ठेकेदार दाहालले हरिपुर नगरपालिका–१ का रविन तामाङ भन्ने हर्कबहादुर तामाङलाई एस्काभेटरमार्फत पोखरी खन्न लगाएका थिए।

शुक्रबार साँझ पोखरी खन्न बन्द गरेर उनीहरु चारै जनाले सँगै बसेर खानपिन गरेका थिए । राति ११ बजेतिर घर फर्कने क्रममा उनीहरुबीच विवाद भएपछि अपरेटरले एस्काभेटरको बकेटले हानेर वडा अध्यक्ष श्रेष्ठको हत्या गरेको प्रहरी निरीक्षक गिरीले बताए।

पानी परेकाले बाटो चिप्लो भएपछि अपरेटर रविनले आफ्नो चप्पल वडा अध्यक्षलाई बोक्न लगाएका थिए। चप्पल बोक्न लगाएपछि आफूलाई हेपेको महसुस गरेका वडा अध्यक्ष र अपरेटरबीच विवाद सुरु भएको थियो। विवाद र गालीगलौज बढ्दै गएपछि आवेशमा अपरेटर रविनले वडा अध्यक्षको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको गिरीले बताए। 

बकेटले हानेर वडा अध्क्षको हत्या गरेको भन्ने खबर आएपछि एसपीसहतिको टोली घटनास्थल पुगेको थियो। घाइते वडा अध्यक्ष श्रेष्ठलाई तत्काल जिल्ला अस्पताल मलंगवा पठाइएको भएपनि डाक्टरले मृत घोषणा गरेका थिए।

प्रहरीले एस्काभेटर चालक रबिन र ठेकेदार प्रेमराज दहाललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । सहनीलाई शुक्रबारै प्रहरीले पक्राउ गरेको थियो भने एस्काभेटर अपरेटर रविनलाई शनिबार विहान पक्राउ गरिएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए।

दुवैले वडाध्यक्षको हत्या गरेको स्वीकार गरिसकेको उनको भनाई छ। 
 

एस्काभेटर वडा अध्यक्षको हत्या

विशेष