News प्रदेश ७

गत वर्ष वेपत्ता भएका बोहरा अझै भेटिएनन्, आफन्त भन्छन्, 'जिउँदै फर्किन्छन् कि भन्ने आश छ'  

गत वर्ष वेपत्ता भएका बोहरा अझै भेटिएनन्, आफन्त भन्छन्, 'जिउँदै फर्किन्छन् कि भन्ने आश छ'  

सुनिल धामी


गत वर्ष साउन २ गते बेपत्ता भएका बझाङको छबिस पाथिभेरा ०७ का ५५ वर्षिया काँशी बोहरा अझै भेटिएका छैनन् । साउन २ गते साँझ छबिस पाथिभेरा ०७ को मजखोरीबाट घर (खोरी) जान्छु भनेर हिँडेका बोहरा घर पुगेनन् । बोहरा सम्पर्क बिहिन भएको करिब १ वर्ष पुरा हुन लाग्दा समेत न श्वास भेटिएको छ न लास भेटिएको छ । 


बेपत्ता बोहरा घर फर्किने आशा अझै परिवारले मारेका छैनन् । ‘अझै घर फर्किन्छन् कि भन्ने आश छ । त्यसैले मृत्यु संस्कार पनि गरेका छैनौ । एकजना आफन्तले भने ।’


बोहरा सम्पर्क बिहिन भएको करिब १ वर्ष पुरा हुन लाग्दा पनि प्रशासनले घटनालाई अनुसन्धान गर्न आनाकानी गरिरहेको आफन्तको गुनासो छ । बोहराका नाती पर्ने बसन्त बोहरा भन्छन, ‘बाजे बेपत्ता भएको १ वर्ष पुरा हुन लाग्यो । हामीले प्रशासनसँग खोजि दिन अनुरोध गर्याै । तर हामीलाई चित्त बुझ्दो कुनै सुनुवाई भएको छैन । हामीलाई आफन्त बेपत्ता भएको पीडा एकातिर छ अर्कोतिर प्रशासन मौन बसिदिँदा झन निराशा छाएको छ ।’ 


बाजेको हत्या भएको आशंका रहेको बोहरा बताउँछन्, उनि भन्छन्, ‘खोलाले बगाएको आशंका गर्ने ठाउँ एकदम कम छ किनभने खोरी र मजखोरीको बिचमा पर्ने खोला सानो छ । त्यसले मान्छे बगाउन सक्छ भन्ने अवस्था छैन । तल रहेको तारु गाडले बगाउन सक्ला तर घर आउन हिँडेको मान्छे त्यहाँ जाने कुरा भएन । आत्महत्या गरे होलान् भनेर विश्वास गर्ने ठाउँपनि छैन । बाजे आत्महत्या गर्ने स्वभावका मान्छे होइनन् । राजनितिमा ठोस अडान लिने हक्कि स्वभावका थिए । सानो तिनो समस्याले आत्महत्या नै गर्लान भनेर कसैले सोचेका छैनौँ । राजनितिक रुपमा सक्रिय हुने स्वभाव भएकाले गाउँघरमा अलि अलि दुश्मनी थियो । त्यसैले पनि हत्या भएको हुनसक्ने आशंका गरेका छौ तर हत्या नै भएको हो भन्ने ठोस प्रमाण भने प्रशासनले भेटेको छैन भन्छ ।’ 

अघिल्लो वर्ष बोहराको खोजि गर्न सक्रियता देखाएको प्रहरी अहिले भने सुस्त भएको आफन्तको भनाई छ । अघिल्लो वर्ष बोहराको खोज तलासमा सक्रिय रहेको प्रहरीले घटनासँग शंकास्पद ५० जना भन्दाबढी व्यक्तिसँग सोधपुछ गरिसकेको छ । शंकास्पद भनिएका व्यक्तिहरुलाई थप अनुसन्धान गर्नु पर्ने आधार नभेटिएकाले अहिले कसैलाई नबोलाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दियो । 


खोरी गाउँछेउ भएर बग्ने तारु गाडमा प्रहरीले भदौको महिना एक जना व्यक्तिको शंकास्पद ककांल भेटेको थियो । खोलामा भेटिएको कंकाल बोहराको हुनसक्ने भन्दै डिएनए परिक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 


डिएनए परिक्षणको लागि दिएको करिब एक वर्ष बितिसक्दा पनि प्रहरी कार्यालयबाट कुनै प्रतिक्रिया नआउँदा आफन्त अनुसन्धानमा ढिलासुस्ती भएको बताई रहेकाछन् । 


यता जिल्ला प्रहरी कार्यालयले भने विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागि स्वाब पठाईसकिएको तर देश भरको एउटामात्रै प्रयोगशाला भएकोहुँदा ढिला भएको जनाएको छ ।


 

काँशी बोहरा

विशेष