News

ओलीको टिप्पणी– मलाई कुकुरले टोकेको छ र माधवलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न ?

ओलीको टिप्पणी– मलाई कुकुरले टोकेको छ र माधवलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न ?

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई आफूले प्रधानमन्त्रीको प्रस्ताव नगरेको वताएका छन् । स्वर्गीय नेता मदन भण्डारीको ७०औ जन्मदिनका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले माधव नेपाललाई आफूले प्रधानमन्त्री बनाउने प्रस्ताव नगरेको बताए ।

‘मलाई बहुला कुकुरले टोकेको छ र ? कोही मान्छे नभेटाएर यस्ता मान्छे (माधव नेपाल)लाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’ उनले भने–‘कहिले अध्यक्षको, कहिले प्रधानमन्त्रीको प्रस्ताव राख्या छ भन्या छ । एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन् । जन्तु पूर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने पुच्छर पूर्वतिर लाग्छ ।’

ओलीले माधव नेपाललाई शेरबहादुर देउवाको कार्यकर्ता भन्दै टिप्पणी पनि गरे । नेता नेपाललाई ‘लाजशरम पचेको मान्छे’ भन्दै उनले आफ्नो सरकार ढाल्ने र कम्युनिष्ट आन्दोलन सिध्याउने षडयन्त्रमा लागेको आरोप पनि लगाए ।

‘माधव नेपाल भन्ने एकजना कांग्रेसका पछि कुद्ने मान्छे छन् । नेपालको राजनीतिमा सबैले चिन्लान् । यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छे’– उनले भने ।

वालुवाटारमा आयोजित कार्यक्रममा ओलीले नेपाली कांग्रेसले ‘प्रचण्डपथ’ अँगालेको आरोप पनि लगाए । कांग्रेसले अँगालेकै कारण प्रचण्डपथ व्यापक हुँदै गएको ओलीको उनको टिप्पणी छ। ओलीले भने– ‘नेपाली कांग्रेसका नेताहरू नै नाथुराम गोड्से खोजी गर्ने, भेटिएन भने आफैं नाथुराम गोड्से बन्ने भन्दैछन् । प्रचण्डपथ कांग्रेसले अँगालेको हो । यो त अदालततिर प्रचण्डका कार्यकर्ताको कुरा सुन्दा पनि पुष्टि भइहाल्छ।’
 

केपी शर्मा ओली माधव नेपाल बहुला कुकुर

विशेष