News

डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको छ : उपप्रधानमन्त्री

डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको छ : उपप्रधानमन्त्री

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको बताएका छन् ।

मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले पछिल्लो समयमा कोभिडपछि उत्पन्न परिसिस्थतिमा  डिजिटलाईजेसनको अभ्यास बढ्दै गएको र त्यसले डिजिटल अर्थतन्त्र निर्माणमा सहयोग पुगेको बताए।

उनले भने–“कोभिडपछि डिजिटल अर्थतन्त्रको महत्व थप बढेको छ, डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलाप थप सहज बनाउने छ ।” उपप्रधानमन्त्री पौडेलले उद्यमशीलता वृद्धिका लागि सरकार लागिपरेको बताउँदै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो भने। उनले मिडिया इन्टरनेसनलद्धारा आयोजित ‘फाइनान्सियल डिजिटलाईजेसन लिट्रेसी’ को लोगो अनावरण गरेका थिए। 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठूलो सहयोग पुगेको बताए । कोरोना महामारीपछि डिजिटलाइजेसनको महत्व बढेको भन्दै उनले अहिले पुँजीबजारको क्षेत्रका अधिकाँश कुराहरु  डिजिटलाइजेसन भएको उल्लेख गरे।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय  फाइनान्सियल डिजिटलाईजेसनलाई महत्व दिएको बताए। उनले समय बदलीएको उल्लेख गर्दै आर्थिक क्षेत्रमा डिजिटलाइजेसनको महत्व बढेको बताए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै त्यसको विस्तारका लागि डिजिटलाइजेसन महत्वपूर्ण हुने बताए।
(रासस)

विशेष