बिपी प्रतिष्ठानमा चर्किदै आन्दोलन, पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा संयुक्त संघर्ष समितिले बुधबार तालाबन्दी गरेको छ।
१६ दिनदेखि आन्दोलनरत चिकित्सक–कर्मचारी सम्मिलित संघर्ष समितिले चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो । समितिले चारैजना पदाधिकारीको राजीनामाको माग गरेको छ।
मंगलबार वार्ता हुने बताइए पनि उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादकपदार्थ सेवन गरेर आएका कारण सम्भव नभएको संघर्ष समितिले आरोप लगाएको छ । संघर्ष समितिले मापसे परीक्षण गर्न आग्रह गरे पनि गिरीले मानेका थिएनन् ।
पदाधिकारीहरूले प्रतिष्ठानको गाडी दुरुपयोग गरेको भन्दै गाडीको चाबीसमेत संघर्ष समितिका सदस्यहरूले खोसेका थिए ।
उपकुलपति गिरी गैरजिम्मेवार रूपमा प्रस्तुत भएको भन्दै चिकित्सक, नर्स र कर्मचारीले उपकुलपति गिरीसहित पदाधिकारीलाई मंगलबार अपराह्न साढे ३ देखि बेलुका साढे ९ सम्म उपकुलपतिको कार्यकक्षमा थुनेका थिए । पदाधिकारीलाई प्रहरीले स्कर्टिङ गरेर घर पु¥याएको थियो ।
पदाधिकारीले आफ्ना माग नसुनेको भन्दै अब प्रधानमन्त्रीले बनाएको उच्चस्तरीय वार्ता समितिसँग मात्र वार्ता हुने संघर्ष समितिका संयोजक डा. एसपी रिमालले बताए । संघर्ष समितिले माग पूरा गर्न २३ असारसम्मको समय दिएको छ ।
एक साताभित्र माग सम्बोधन नगरिए सम्पूर्ण फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक, विद्यार्थीले सामूहिक राजीनामा दिएर प्रधानमन्त्री कार्यालय घेराउ गर्न जाने रिमालले बताए । प्रतिष्ठानको बेथितिका विषयमा समितिले स्थानीय तह, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको अवस्था मंगलबार ठीक नभएको बताए । मदिरा पिएर वार्तामा बसेको र वार्ता भाँडिएको खबर आएपछि प्रतिष्ठानका सिनेटरसमेत रहेका मेयर राई प्रतिष्ठान पुगेर दुई घन्टाभन्दा बढी उपकुलपतिसहित उपस्थित पदाधिकारीहरूसँग छलफल गरेका थिए ।