News स्वास्थ्य

विरामी औषधी किन्दै हैरान, सरकारी औषधी म्याद गुजारेर खाल्टोमा

विरामी औषधी किन्दै हैरान, सरकारी औषधी म्याद गुजारेर खाल्टोमा

सप्तरीको सप्तकोशी नगरपालिका १, फत्तेपुर स्थित स्वास्थ्य चौकीमा देखिएको ब्यवस्थापकिय कमजोरी तथा स्वास्थ्यकर्मी÷कर्मचारीको लापर्वाहीका कारण सेवाग्राही मारमा परेका छन्। स्वास्थ्य चौकीको लापर्वाहीले एकातर्फ हैरानी वढेको छ भने अर्कोतर्फ अनावश्यक रुपमा खर्च समेत वढेको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।

सर्वसाधारणको सेवा गर्ने भन्दै इमर्जेन्सी सेवा समेत सुरु गरेको स्वास्थ्य चौकीमा सेवाग्राहीले आधारभुत सेवा र औषधी समेत पाउन सकेका छैनन्। स्वास्थ्य चौकीमा एकातर्फ चेकजाँच तथा उपचारमा त समस्या छ नै सामान्य औषधी समेत महंगो मुल्य तिरेर खरिद गर्नु परेको गुनासो वढिरहेको छ । 

तीन वर्ष अघि लाखौ मुल्य तिरेर खरिद गरिएका ल्यावका सामग्री हालसम्म जडान हुन सकेको छैन । ल्याव सञ्चालनका लागि आवश्यक पुर्वाधार नै तयार नगरी कमिसनका लागि खरिद गरिएका कारण ति सामग्री अहिले पनि गोदाममा सडाएर राखिएको स्थानीय राजनीतिक दलका नेता÷कार्यकर्ताहरुको गुनासो छ । उनीहरु भन्छन्–‘पैसा छैन भनौ भने १ दशमलव ५ करोडभन्दा बढी रकम पहिलै छुट्याइएको थियो। तर मर्मत, इन्धन र भत्ता शिर्षकमा फेरी रकमान्तर गरेर सकिएको पाईयो।’

ल्यावका सामग्री समयमै उपयोगमा नआउँदा त्यसमा प्रयोग हुने एक लाख भन्दा वढि मुल्य पर्ने केमिकल काम नलाग्ने भएर फालिएको उनीहरुको भनाई छ।

भएका सामग्री थुपारेर राख्ने अनि काम नलाग्ने भएपछि नष्ट गर्ने प्रकृयाले सर्वसाधारण भने मारमा परेको स्थानीयवासीको गुनासो छ ।

यतिमात्र होईन, औषधी खरिद र वितरणमा पनि स्वास्थ्य चौकीमा लापर्वाही दिएको छ। म्याद गुज्रन लागेका औषधी सस्तोमा खरिद गर्ने र कमीसनको वार्गेनिङ्ग गर्ने गरेको पाईएको छ । स्वास्थ्य चौकीले केहि दिनअघि मात्रै वोरामा हालेर म्याद गुज्रेका औषधी नष्ट गरेको प्रत्यक्षदर्शीहरु वताउँछन् । भएको औषधी नष्ट गर्ने तर, सर्वसाधारणले भने जिवनजल समेत नपाउने गरेको उनीहरु वताउँछन् ।

स्वास्थ्य चौकी फत्तेपुरमा म्याद गुजारेर फाल्नका लागि राखिएको औषधी

 

जिवन जल माग्न जाँदा २ वटा भन्दा वढि दिन मिल्दैन भन्ने स्वास्थ्य चौकीका कर्मचारीले त्यहि जिवनजल र औषधी नष्ट गरेको फाल्ने गरेको भन्दै सर्वसाधारणमा ब्यापक गुनासो वढिरहेको छ ।

स्थानीय गणेश प्रसाद खतिवडा भन्छन्–‘म सामान्य घाउ भएर उपचारका लागि गएको थिए, तर स्वास्थ्यकर्मीले उपचार गर्न मानेनन्। पहिला वाहिरवाट औषधी किनेर ल्याए मात्र उपचार हुन्छ भन्दै फर्काए ।’

स्वास्थ्य चौकीमा एक÷दुई वटा सामान्य औषधी दिए पनि अधिकांश औषधी वाहिरवाटै किन्न लगाउने गरेको तर भएको औषधी म्याद गुजारेर फाल्ने गरेको सर्वसाधारणहरु वताउँछन् । 

स्वास्थ्य चौकीमा विरामी तथा सेवाग्राहीसँग गर्ने ब्यवहार समेत रुखो र अब्यवहारीक हुने गरेको उनीहरु वताउँछन् । सेवाग्राहीसँग झर्केर कुरा गर्ने, लामो समयसम्म कुराएर राख्ने, भएको औषधी पनि छैन भनेर पठाउने लगायतका समस्याले स्वास्थ्य चौकीमा सेवाहरु आजित भएको नगरवासी वताउँछन्।

सप्तकोशी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख महेश चौधरीले भने ब्यवस्थापकिय त्रुटिका कारण यस्तो हुने गरेको वताए । कतिपय औषधीहरु खरिद गरेर राखेपनि विरामी नआउँदा म्याद गुज्रेर जाने गरेको तथा केहि औषधीको म्याद नै छोटो हुने भएकाले यस्तो समस्या हुने गरेको उनको भनाई छ।

सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार शर्माले भने यी समस्याहरुलाई सुधार गर्दै लगिने वताए ।

विशेष