News राजनीति

चीनियाँ खोपको रियाक्सनः राष्ट्रपति सि चिनफिङले नै दिए भण्डारीलाई यस्तो दबाब

चीनियाँ खोपको रियाक्सनः राष्ट्रपति सि चिनफिङले नै दिए भण्डारीलाई यस्तो दबाब

फुटको अन्तिम कसरत गर्दै गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई एक ठाउँमा ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छन् ।

गत साता चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको टेलीफोनपछि पार्टीलाई एक वनाउन भण्डारीको सकृयता वढेको हो । चिनियाँ राष्ट्रपतिसँगको छलफल सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शीतल निवास बोलाएकी थिइन् । त्यसयता उनले दोस्रो तहका नेताहरूमार्फत पार्टी एकतामा जोड दिइरहेकी छन् ।

माधवकुमार नेपाल समूहले २०७५ जेठ २ मा अध्यक्ष ओली फर्के पनि पार्टी एक हुन नसक्ने अवस्थामा पुगेको बताइरहँदा शीतल निवास फरक ढंगले लागेको हो । यद्यपि उनको पहलमा अध्यक्ष ओली गलत नभएको स्पष्टोक्ति हुने गरेकाले त्यो पहलले सार्थकता नपाउने देखिएको छ ।  

चिनियाँ राष्ट्रपति सीले खोप उपलब्ध गराउने सँगै नेपालको राजनीतिक अवस्थाबारेमा चासो राखेका थिए । राजनीतिक कुराकानीलाई भने अझै औपचारिक रूपमा बाहिर ल्याइएको छैन ।

यद्यपि अदालतको निर्णय आएपछि त्यो विषयमा सोच्न सकिने धारणा केही नेताहरूले व्यक्त गरेका छन् । विभिन्न कोण र तप्काबाट एमाले एकताको प्रयास भइरहेको छ । हुनत, वरिष्ठ नेता नेपालले ओलीविरुद्धको हस्ताक्षर फिर्ता नलिने बताएकाले पनि पार्टी एक हुने सम्भावना तत्काललाई टरेको छ ।

ओलीले नै नेपाललगायत नेतालाई पार्टीबाट निष्कासनसमेत गरिसकेका छन् । अध्यक्ष ओलीले आफूविरुद्धको हस्ताक्षर फिर्ता लिन भनिरहेका छन् भने नेपालले ओलीलाई संसद् विघटनको निर्णय फिर्ता लिएर २०७५ जेठ २ मा फर्कन भनिरहेका छन् ।

दुवैतर्फका दूतहरू मिलाउन सक्रिय छन् । सत्ताको रापमा परेका केही भने मिलेमा आफ्नो जागिर धरापमा पर्ने डरले ओलीभन्दा चर्को स्वरमा ओलीको गुणगानमा लागेको आरोप पनि नेपाल समूहको छ । 
 
सर्वोच्चमा पुगिसकेको विषयलाई लिएर बहस नगर्न र सर्वोच्चको निर्णय पर्खनसमेत आग्रह गरेका छन् । नेपाल समूहले तत्काल ओलीविरुद्धको हस्ताक्षर फिर्ता लिने कुनै पनि सम्भावना नरहेको बताएको छ । उनीहरूले ओलीले नेपाली जनतासँग माफी मागेर पार्टीको धुमिल छवि सुधार गर्नु पर्नेमा जोड दिइरहेका छन् ।

ओलीले प्रतिनिधि सभा विघटनको निर्णय गलत भएको भन्दै जनतासँग माफी मागेर फिर्ता गरेमात्र पार्टी एकता हुनसक्ने सन्देश नेपाल समूहले राष्ट्रपति भण्डारीसमक्ष राखेको छ । 

पार्टी मिलाउन सक्रिय भएर लागेकाले नेपाल समूहले राष्ट्रपतिलाई त्यस्तो जवाफ दिएको हो । पार्टीबाट निकाल्ने अनि वार्ताको ढोंग गर्ने भन्दै त्यस्तो वार्ताको औचित्य नभएकोसमेत उनी निकट नेताहरू बताउँछन् । 

एमाले एकता गर्न बनेको कार्यदलका सदस्य तथा नेपाल निकट प्रमुख ११ नेतालाई नै कारबाही गरेपछि वार्ताको ढोंग किन आवश्यक रह्यो भन्दै नेपालले वार्ता आवश्यक नभएको बताएका छन् । ओलीले नेपालसहित नेतालाई गत १० गते साधारण सदस्यसमेत नरहने गरि निकालेका थिए । 

यद्यपि कतिपय विषय अहिले अदालतमा रहेकाले पनि त्यो टुंगोमा नपुगेसम्म वार्ताहरू चलिरहने र प्रयास हुने बताए । नेपाल निकट नेता घनश्याम भुसालले निराश हुने अवस्था अझै नभएको बताए । 

विशेष