News राजनीति

शंकर पोखरेल आफ्नै जिल्लामा कमजोर, एमाले सांसदको माओवादीमा छलाङ

शंकर पोखरेल आफ्नै जिल्लामा कमजोर, एमाले सांसदको माओवादीमा छलाङ

सत्तारुढ एमालेले राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा बागमती र लुम्बिनी दुवैतिर पराजय हुनुको कारण पार्टीभित्रको अन्तर्घात नै मुख्य रहेको निश्कर्ष निकालेको छ ।

मंगलबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले अन्तर्घातका कारण आफ्ना उम्मेदवार पराजित भएको निश्कर्ष निकाल्दै थप अध्ययनपछि आवश्यक निर्णय लिने बताएको थियो ।

आफ्नै उम्मेदवार उठाएकाले बागमती प्रदेशमा माधव नेपाल पक्षले ओली पक्षका उम्मेदवार रामबहादुर थापालाई भोट नदिएको प्रष्ट देखिएपनि लुम्बिनीमा भने अन्तर्घात नभएको त्यहाँका एमाले नेताहरुले बताएका छन् ।

उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय १७ गते विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । पाण्डेलाई माओवादी केन्द्र,जसपा र जनमोर्चाले साथ दिएको थियो । जसपाको महन्थ ठाकुर खेमाको सहयोग खड्कालाई थियो ।

जम्मा २९६ मत खसेकोमा पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरे भने खड्काले प्रदेशसभातर्फ ४० र स्थानीयतहतर्फ ९४ मत पाए । प्रदेश र स्थानीय दुवैतर्फ १–१ मत बदर भएको थियो ।

प्रदेशसभामा एमालेका ३८ सांसद छन् भने विपक्षी गठबन्धनका ४१ छन् । यस्तै,स्थानीय तहका २१७ मतदातामध्ये एमालेका ९४, स्वतन्त्र ४, राप्रपाका २ छन् । नेपाली काँग्रेसका ६४, माओवादीका ३६, जसपाका ११, नयाँ शक्ति १, जनमोर्चाका ५ छन् ।

यो मतलाई हेर्दा अन्तर्घात भएको मान्न नसकिने एमाले लुम्बिनीका एक नेताले बताए । ‘एउटा बदर भयो, सूर्य र रुख दुइटैमा हालेको रहेछ । एक दुई जनाले यताउता गरे कि भन्ने आशंका त छ तर परिणाममा त्यस्तो ठूलो फरक परेको होइन’,ती नेताले भने ।

उनले प्रदेश सांसद विष्णु पन्थीले विपक्षीलाई मत हालेको आशंका भएपनि अरुले सूर्यमै भोट हालेको दाबी गरे । ८÷१० वटा पालिकाका प्रमुखहरुले यताउता गरेको हुनसक्ने उनको अनुमान छ । यद्यपि भोटमा ठूलो अन्तर नपरेकाले भन्न सकिने अवस्था नरहेको उनले बताए ।

निर्वाचन परिणामले प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई धक्का लागेको विपक्षीहरुको विश्लेषण छ । चुनाव हार्नुको दोष पोखरेललाई जाने एमालेकै कतिपय नेताले बताएका छन् । पोखरेलका खास भनिएका सांसदहरु नै पार्टीमा अडिन नसकेपछि परिणाम विपक्षीको पोल्टामा गएको उनीहरुको दाबी छ ।

एक नेताका अनुसार पोखरेल आफ्नै जिल्लामा कमजोर बनेका छन्। पोखरेलकै कारण दाङ्ग निर्वाचन क्षेत्र नं (ख)बाट निर्वाचित अमर डाँगीले राजीनामा दिएको बताइन्छ । यता,विमला खत्री माओवादीमा जानुको कारण पनि दाङ्गको आन्तरिक राजनीति नै प्रमुख कारक रहेको धेरैको विश्लेषण छ ।

विमला मुख्यमन्त्री पोखरेलको खास निकट भनिएका उत्तरकुमार वलीकी श्रीमती हुन् । प्रदेशसभा सदस्य उत्तर कुमारको सवारी दुर्घटनामा निधन भएपछि रिक्त क्षेत्रमा पोखरेलकै जोडबलमा विमलालाई उम्मेदवार बनाइएको थियो । नेकपाको तर्फबाट चुनाव जितेकी विमला गत महिना माओवादी प्रवेश गरेकी थिइन् ।
–जनआस्था

विशेष