News राजनीति

उपप्रधानमन्त्री ज्यू, ‘ढोल पिपिही’ थन्क्याउनु भो ?

उपप्रधानमन्त्री ज्यू, ‘ढोल पिपिही’ थन्क्याउनु भो ?

नेपाली राजनीतिमा कहिलेकाँही उदेकलाग्दा समीकरणहरु बन्छन् । आफ्नो सत्ता जोगाउन नैतिकताको सीमा नै नाघेर अस्वस्थ र अप्राकृतिक गठबन्धन बनाउनु नेपाली राजनीतिको विशेषताजस्तै भइसकेको छ ।

हुन् तः राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र दुबै हुँदैनन् भनिन्छ । मुद्दाका आधारमा समीकरणहरु फेरबदल हुनुलाई पनि सामान्य नै मान्न सकिन्छ । तर, केही गठबन्धन यति अस्वाभाविक र अप्राकृतिक लाग्छन्, जुन नेपाली राजनीतिमा यदाकदा प्रकट हुने गरेका छन् ।

पछिल्लो समय जनता समाजवादी पार्टीको एउटा खेमा र प्रधानमन्त्री केपी शर्मा ओलीको गठबन्धन त्यसैगरी अप्राकृतिक र अस्वाभाविक ढंगले अगाडि आएको छ ।

केही महिना अघिसम्म पनि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीको सबैभन्दा खरो आलोचक थिए । ओलीमाथि मधेस,संघीयता र समानुपातिक समावेशीको मुद्दामा अनुदार रहेको उनीहरुले सार्वजनिक रुपमै आरोप लगाएका थिए । महन्थ–राजेन्द्रहरुको प्रमुख माग भनिएको संविधान संशोधनको एजेण्डामा त प्रधानमन्त्रीको कठोरता धेरै पटक सार्वजनिक रुपमै प्रकट भएको छ ।

मधेस आन्दोलनमा मारिएकामाथि ओलीले गरेको टिप्पणीको महन्थ–राजेन्द्रहरु अस्तिसम्म पनि चर्को बिरोध गर्थे । त्यतिबेला प्रधानमन्त्री ओलीले ‘दुई चार वटा कुहिएका आँप झर्दैमा केही फरक पर्दैन’ भनेर अभिव्यक्ति दिएको भन्दै सबैभन्दा बढी आलोचना पनि उनीहरुबाटै सुनिन्थ्यो ।

ओलीलाई मधेशमा छिर्नै नदिने घोषणा समेत गरेका महतोले ‘मधेशवाट ढोल पिपिही वनाएर एमालेलाई विदा गर्नुपर्ने’ वताउँथे ।
तिनै महन्थ–राजेन्द्रहरुको अहिले प्रधानमन्त्री ओलीसँग अचम्मको सहकार्य अघि बढेको छ । सरकारमा हिजोदेखि सामेल भएको महन्थ खेमाका वरिष्ठ नेता महतोले प्रधानमन्त्री ओलीका सन्दर्भमा गरेको टिप्पणी अहिले भाइरल भएको छ ।

कुनै एउटा सन्दर्भमा उनले प्रधानमन्त्री ओलीलाई राजनीतिक ठगको आरोपसमेत लगाएका थिए । ओलीले ठग्नेबाहेक अरु केही नगरेको भन्दै उनले पत्रकारमाझ आक्रोशित हुँदै भनेका छन्, ‘ठग्नेबाहेक केही काम गरेको छ केपी ओलीले ? केपी ओलीको नाम किन लिनुहुन्छ ?’

अप्ठेरो पर्दा जस्तोसुकै सहमति गर्ने तर कार्यान्वयन नगर्ने आरोप ओलीमाथि लाग्दै आएको छ । त्यहि आरोप लगाउँदै ओलीको नामै सुन्न नचाहेका महतोको अहिले प्रधानमन्त्री ओलीसँग दर्बिलो लगनगाँठो कसिएको छ ।

हिजोका अडान जे–जे भएपनि आफ्नो सत्ता जोगाइदिएको गुण तिर्न प्रधानमन्त्री ओलीले महन्थ–राजेन्द्रहरुका सबै माग पूरा गर्नुभएको छ । त्यसैका लागि उहाँले नागरिकता अध्यादेश ल्याउनुभयो । अदालतलाई मिलाएर शपथ खाने वातावरण मिलाउनुभयो ।

संविधान संशोधनको निम्ति अध्ययन कार्यदल बनाउनुभयो । नरसंहार गराएको फौजदारी आरोपमा जेलमा रहेका सांसद रेशम चौधरी रिहाइको प्रक्रिया अघि बढाइएको छ ।
–जनआस्था

विशेष