News

कनिष्ठहरुलाई बरिष्ठ मन्त्री बनाएपछि एमालेमा रडाको

कनिष्ठहरुलाई बरिष्ठ मन्त्री बनाएपछि एमालेमा रडाको

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार विस्तार गरेको मन्त्रीपरिषदमा सिनियर नेताहरुलाई विदाई गर्दै जुनियर नेताहरुलाई नियुक्त गरेका छन् । 

०७७ असोजमा अर्थमन्त्री बनेका विष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा भएका छन् भने यसअघि उपप्रधानमन्त्री रहेका इश्वर पोखरेल बर्खास्त भएका छन् । पोखरेल उप्रधानमन्त्री पौडेल भन्दा सिनियर नेता हुन् । 

ओली सरकारबाट बाहिरिने मध्ये उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सिनियर नेता हुन् । प्रधानमन्त्री ओलीले सिनियर नेताहरुलाई बर्खास्त गर्दै जुनियर नेताहरुलाई बढुवा गरेको विषयले एमाले भित्र रडाको सुरु भएको छ।

एमालेका तर्फबाट रघुवीर महासेठ उपप्रधान एवं परराष्ट्रमन्त्री बनेका छन् । उनी एमाले भित्र निकै जनियर नेता मानिन्छन्।  

ओली सरकारबाट बाहिरिनेमा पर्यटनमन्त्री भानुभक्त ढकाल, कृषिमन्त्री पद्मा अर्याल, भूमिमन्त्री शिवमाया तुम्बाहाङ्फे, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, वनमन्त्री प्रेम आले, संघीय मामिलामन्त्री गणेश ठगुन्ना, सञ्चारमन्त्री पार्वत गुरुङ, महिला बालबालिका तथा समाज कल्याणमन्त्री जुली महतो छन् । राज्यमन्त्रीहरू रामवीर मानन्धर, नवराज रावत र विमला विक पनि हटाइएका छन् ।

बाहिरिने मध्ये महिला बालबालिका तथा समाज कल्याणमन्त्री जुली महतो उपप्रधानमन्त्री बनेका रघुविर महासेठकी पत्नि हुन् । ‘जुलीलाई हटाएर रघुविरलाई उपप्रधानमन्त्री बनाउने के बाध्यता आईलाग्यो ओलीलाई?’ भन्ने विषयमा पनि अहिले पार्टीभित्र वहस सुरु भएको छ ।

यसैगरी, शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बनेका छन् । जनता समाजवादी पार्टी (जसपा) तर्फबाट उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोसहित ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनेका छन् । जसपाकै शरतसिंह भण्डारी ऊर्जा, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया पर्यटनमन्त्री बनेका छन् ।

ओलीले जसपाका लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, एकवाल मियालाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्री र चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री बनाएका छन् ।

विशेष