News प्रदेश ७

मनकारी शिक्षिकाः जसले हरेक दिन कोभिड बिरामीलाई निःशुल्क खाना खुवाउँछिन्

मनकारी शिक्षिकाः जसले हरेक दिन कोभिड बिरामीलाई निःशुल्क खाना खुवाउँछिन्

हरेक दिन बिहान १० बजेदेखि ११ बजेसम्म र साँझ ६ देखि साढे ७ बजेसम्म सेती प्रादेशिक अस्पतालको कोरोनावार्ड अगाडी रहेको रुखमुनि एक महिला बसिरहेकी हुन्छिन् ।


धनगढीस्थित विशालनगरकी मीना अधिकारी जेठ ६ गतेदेखि सेती प्रादेशिक अस्पतालका संक्रमित बिरामी, कुरुवा लगायत कम्तीमा १ सय जनालाई खाना खुवाइरहेकी छिन् । 

 

परिवारको सहयोगमा उनी घरबाटै पकाएर अस्पतालमा खाना पुर्याउँछिन्  । बिहान ५० र साँझ ५० जनाका लागि खाना पकाएर खुवाउने गरेको उनले सुनाइन् ।  


‘जेठ ५ गते अस्पतालबाट अनुमति मागे  । सुरुमा सर्जिकलवार्डका बिरामीहरुका लागि मात्रै खाना ल्याउने गरे  । तर धेरै जनालाई खाना नपुगेपछि फेरि ५०÷५० सेट खाना ल्याउन थालेँ  । अहिले बिहान र साँझ ५० गरी दिनमा १०० जना जतीर्ला खाना खुवाइरहेकी छुँ’ उनले भनीन् ‘अहिल सर्जिकल वार्ड, मेडिकल वार्ड, इमर्जेन्सी वार्ड लगायत जो पनि खान आउनुहुन्छ उहाँलाई दिने गर्छु ।’


सुरुमा आफैँले खाना खुवाउनु सुरु गरेको बताउँदै उनले भनिन, ‘सुरुमा त आफ्नै खर्चमा खाना खुवाउन थालेकी थिएँ तर अहिले म सँगैका साथीहरुले सहयोग गरिरहेका छन् ।’

उनी घरमै खाना बनाएर अटोमार्फत अस्पताल पुर्याउँछिन्  । घरमा आमा, भाइबुहारी र बहिनीले सघाउँछन् भने एक जना सहयोगी पनि राखेको उनले बताइन् । 

यसरी आयो उनीमा खाना खुवाउने उत्प्रेरणा


गत चैत्र २६ गते उनकी आमालाई कोरोना संक्रमण देखियो  । त्यसपछि उनी र उनकी बहिनीमा समेतमा कोरोना पुष्टि भयो  । सो समयमा घरभित्रै बस्नुपर्ने खाना पनि समयमा नपाउने अवस्था थियो । 

संक्रमण भएपछि आफुहरु कम्तीमा १ महिना जती घरधित्रै बसेको उनी सुनाउँछिन्  । ‘ठिक भएपछि बाहिर आउँदा र अस्पतालको अवस्था हेर्दा एकदमै कहालीलाग्दो थियो’ उनले भनिन् ‘धेरै जना यहाँ भोकै बसेको देख्न सकिन्थ्यो ।

निशेधाज्ञाले होटलहरु पनि बन्द हुँदा उनीहरुलाई खानाको कमी कमी हुने देखियो  । त्यो अवस्था देख्दा र आफुपनि संक्रमित भएको बेलाको अनुभवहरु महसुस गर्दा अरु केही गर्न नसकेपनि खाना चाहिँ खुवाउने इच्छा जाग्यो ।’ 

त्यसपछि अस्पतालसँग सहकार्य गरेर जेठ ५ गतेदेखि खाना खुवाउने अनुमति पाएको उनले बताइन् । 

के हो उनको आयस्रोत ?


मीनाले अस्पतालमा निःशुल्क खाना खुवाउँछिन्  । दैनिक १०० जनालाई खाना खुवाएको ६ हजार जति खर्च आउने उनले बताइन् । 

दैनिक ६ हजारको दरले हेर्दा जेठ ६ गतेदेखि अहिलेसम्म उनले १ लाख २ हजार बराबरको खाना खुवाईसकेको अनुमान गर्न सकिन्छ । 

उनी एक व्यवसायी पनि हुन्  । उनको गोदावरी एग्रीकल्चर फार्म प्राइभेड लिमिटेड र होलसेल कपडा पसल छ, भने उनी नर्सिङ विषय पनि पढाउँछिन् । 

उनले आफुलाई कुनै पनि संघ संस्थाले सहयोग नगरेको बताइन्  । तर नर्सिङको एक दुई जना बाहिरका  साथीहरुले सहयोग गरेको उनको भनाई छ । 

घर परिवारबाट पनि सहयोग पाएको बताउँदै मीना अधिकारीले भनिन्, ‘निषेधाज्ञा अवधिभर खाना खुवाउने लक्ष्य लिएकी छुँ । यो सेवा गर्न पाउँदा मैलै धेरै खुसी र गर्व महसुस गरेकी छुँ ।’

 

 


 

विशेष