News राजनीति

योगेश भट्टराईलगायतका केहीलाई सहज बनाउन ओलीको एकतर्फी घोषणा !

योगेश भट्टराईलगायतका केहीलाई सहज बनाउन ओलीको एकतर्फी घोषणा !

संसद विघटन गरेपछि चौतर्फी दवावमा रहेका नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि आफू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किने घोषणा गरेका छन् ।

संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन र एकताको सम्भावना सकिएको खनाल–नेपाल समूहको निचोड सार्वजनिक भएकै दिन ओलीले पार्टी एकताका लागि यस्तो घोषणा गरेका ह्न ।

तर, उनले पार्टी एकताका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा रिट हालेका विघटित प्रतिनिधिसभाका २३ जना एमाले सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका छन् ।

‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुनेछ,’ ओलीले भनेका छन ।

खनाल–नेपाल समूहका नेताहरुले ओलीको यही सर्त नै षडयन्त्रको कडि भएको वताएका छन् । त्यसैले खनाल–नेपाल समूहको ठूलो हिस्साले यो घोषणालाई षड्यन्त्र भनेका छन् । तर, युवा नेता योगेश भट्टराई लगायतले भने सकारात्मक पहल भनेर प्रतिक्रिया दिएका छन । पार्टी एकताका लागि ओली समूहसँग समूहमा र एक्लाएक्लै छलफल गरेका नेता भट्टराईले ओलीको आह्वानलाई पार्टी एकताका लागि प्रवेशद्वारका रूपमा लिनु पर्ने वताए । 

‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वान मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ’ फेसवुकमा उनले लेखेका छन्–‘सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।’

ओली जेठ २ मा फर्किन तयार भए निःसर्त पार्टी एकता गर्नुपर्छ भनेर पहल गर्दै आएका भट्टराईसहित विघटित प्रतिनिधिसभाका केही सांसद ओली खेमामा लाग्न सक्ने आँकलन नेपाल समुहका नेताहरुले गरिरहेका वेला ओलीको यो घोषणा पनि त्यसैको कडिका रुपमा आएको विश्लेषण गर्न थालिएको छ । अव यसैलाई आधार वनाएर भट्टराई लगायतका केहि नेता अर्को समुहमा पुग्न सक्ने उनीहरुको आशंका छ । ‘हाम्रो विचार समूहमा फुटाऊ र राज गर भन्ने ओलीजीको नीति नै हो,’ एक नेताले भने, ‘यो आह्वानले उनलाई आंशिक सफलता मिल्न सक्छ।’

नेपाल समूहको स्थायी कमिटी बैठकले पनि प्रतिनिधिसभा विघटन गलत थियो भनेर ओलीले निर्णय फिर्ता नलिएसम्म पार्टी एकता हुन नसक्ने निष्कर्ष निकालेको थियो 

यसअघि पार्टी एकताका लागि भएका वार्ता प्रयासमा नेता नेपालले पार्टी विधि र पद्धतिमा चल्नुपर्ने र एक व्यक्ति एक पदको नीतिलाई ओलीले मानेर प्रधानमन्त्री या अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने बताएका थिए ।

बालुवाटारसम्बद्ध स्रोतका अनुसार भने उनलाई पार्टीको द्वितीय अध्यक्षका रूपमा प्रस्ताव गरिएको थियो । उक्त प्रस्तावमा दोस्रो पुस्ताका नेताहरूबीच संवाद चलिरहेका बेला ओलीले पार्टी एकताका लागि भन्दै आह्वान गरेका हुन ।

विशेष