News

प्रतिबन्ध फुकुवापछि जनताको सेवामा विप्लब कार्यकर्ता

प्रतिबन्ध फुकुवापछि जनताको सेवामा विप्लब कार्यकर्ता

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवापछि कार्यकता जनसेवामा खटिरहेकाछन् । 


सरकारसँग सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूह कोरोना महामारीबीच नै विभिन्न सामाजिक काममा सक्रिय छन् ।

गत शनिबार उनीहरूले कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा कोरोना संक्रमित बिरामीका कुरूवाका लागि प्रतिक्षालय निर्माण गरेर हस्तान्तरण गरेका थिए ।

विभिन्न व्यक्तिहरूसँग सहयोग जुटाएर विप्लवका कार्यकर्ताले आफैँ श्रमदान गरी प्रतिक्षालय निर्माण गरेका हुन् । उनीहरूले एक साता काम गरेर प्रतिक्षालय निर्माण गरी अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।

उनीहरूले निर्माण सामग्री भने सहयोगबाटै जुटाउने गरेका छन् । सामग्री जुटेपछि निर्माणको काम भने आफूहरूले गर्ने गरेको नेपाल कम्युनिष्ट पार्टी दाङ सेक्रेटरी प्रदीप वलीले बताए ।

उक्त प्रतिक्षालय एक लाख ३० हजार निर्माण गरिएको उनको भनाइ छ ।

‘हामी उत्पादन र विकासमा जोड दिइरहेका छौं । पार्टीको नीति अनुरूप सामाजिक कार्य पनि गर्दै जान्छौं,’ उनले भने ।

अति विपन्न र अशक्त परिवारलाई प्रतिबन्धको समयदेखि नै सहयोग गर्दै आएको र अब पनि त्यो अभियान जारी रहने उनले बताए ।


यस्तै सोमबार नेकपाको सहायक संगठन, युवा संगठन नेपाल जिल्ला समिति दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का दलबहादुर शाहुको घर निर्माण गर्न आवश्यक सामग्री सहयोग गरेका छन् ।

उनीहरूले इँटा, बालुवा, सिमेन्ट सहयोग गरेका हुन् । साथै खाद्यान्न सहयोग गरिएको छ । चामल, नुन, तेलसहित करिब २२ हजार बराबरको सहयोग हस्तान्तरण गरिएको युवा संगठन नेपाल दाङ जिल्ला ईन्चार्ज मनोज परियारले बताए ।

शाहुका परिवारमा ६ वर्षीया बालिका पनि छन् । शाहुको घर केही पहिले परेको वर्षाले भत्काएको थियो ।

पार्टीका तुलसीपुर नगर ईन्चार्ज अमर खड्काले  जनतासँगै खेतबारीमा काम गर्दै आफूहरू उत्पादनसँग जोडिँदै आएको बताए ।

‘फुर्सदको समयमा श्रमसँग जोडिनु पर्छ भन्ने हाम्रो पार्टीको नीति हो,’ खड्काले भने ‘महासचिव बिप्लवका हातमा आज गएर हेर्नुभयो भने काम गरेका ठेला छ ।’
 

विशेष