News फोटो

निषेधाज्ञामा यसरी खुलेको छ कालिन्चोकको सुन्दरता (फोटो फिचर)

निषेधाज्ञामा यसरी खुलेको छ कालिन्चोकको सुन्दरता (फोटो फिचर)

सुनिल धामी


दोलखा जिल्लामा रहेको प्राकृतिक हिसाबले चित्ताकर्षक पर्यटकिय तथा धार्मिक स्थल हो कालिन्चोक । काठमाडौंबाट करिब ६ घण्टाको यात्रामा कालिञ्चोक पुगिन्छ । काठमाडौबाट चरिकोट १३३ किमि । चरिकोट–कुरी बजार १७ किमि । चरिकोटबाट हिँडेर जाँदा ६ घन्टामा कुरी बजार पुगिन्छ । कुरीबाट हिँडेरै मन्दिर पुग्न अर्को १ घन्टा लाग्छ ।

काठमाडौंबाट दोलखाको चरिकोटसम्म पक्की सडक भए पनि कालिञ्चोक भगवती मन्दिर पुग्न डेढ घण्टा कच्चि बाटोमा हिँड्नुपर्छ । कालिञ्चोकको फेदी कुरीसम्म सवारी साधन जान्छ । अनि सुरु हुन्छ पैदल यात्रा । सिधै ठाडो उकालो भएकाले केही असहज भएपनि मन्दिर पुगेपछि स्वर्गीय आनन्द प्राप्त भएको अनुभूति मिल्छ ।


कालिन्चोक भगवतीको मन्दिर रहेको डाँडाबाट अन्नपूर्ण, लाङटाङ, र रोल्वालिङ हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । दोलखाको पहिचान गौरीशंकर हिमाल आँखैमा टाँसिन आइपुग्छन् । मौसम उघ्रिएका बेला नीलो आकाश मुन्तिर मोतीझैं चम्केका हिमाल आँखा नझिम्क्याई हेरिरहूँझै लाग्छ । डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि मनमोहक देखिन्छ ।


मन्दिरमा वर्षैभरि तिर्थालु पुग्छन् । असारदेखि भदौसम्म भने चहलपहल कम हुन्छ । पुस–माघमा हिउँ खेल्ने गन्तव्यका रूपमा समेत कालिन्चोकले ख्याति कमाउँदै छ । काठमाडौं नजिकको यस रमणीय गन्तव्यमा विशेषतः युवा हिउँ खेल्न पुग्छन् । 


कुरीमा दर्जनौं होटल खुलेका छन् । कुरी पहिला खर्क थियो । गाउँलेसँग जमिनको लालपूर्जा छैन । लालपूर्जा नभएको गुठीको जमिनमा ठूल्ठूला होटल बनाइएका । राजनैतिक पहुँच र शक्तिका आडमा होटलमा लगानी बढेको हो । राम्रा होटल खुलेका छन् । तिनले महँगो शुल्क असुल्छन् तर पानीको राम्रो सुविधा दिँदैनन् । होटलको मापदण्ड कायम नहुँदा सय जनासम्म अटाउने होटल पनि खुलेका छन् ।


धार्मिक मान्यता अनुसार कालिञ्चोक भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ । कालिन्चोक मन्दिरमा दशैं, जनैपूणिर्मा, नववर्ष र चैतेदशैंमा खुट्टा टेक्ने ठाउँ समेत हुंदैन । यो मन्दिर  समुद्र सतहबाट करिब ३८ सय ४२ मिटरको उचाइमा छ ।


मनोकामना पुर्याइदिने शक्ति पीठका रूपमा यिनको पूजाआराधना गरिन्छ । यिनको दर्शनले सबै खाले रोगव्याधिबाट मुक्ति मिल्ने, धनधान्यले पूर्ण हुने, सुखशान्ति मिल्ने, दीर्घ जीवन प्राप्त हुने र मरेपछि स्वर्ग पुगिन्छ भन्ने जनविश्वास छ ।


भाकल पूरा भएपछि भक्तजन भगवतीको चरणमा आई बोका, कुखुरा, हाँस, नरिवल, त्रिशुल र घन्ट चढाउँछन् । मन्दिरमा बडा दसैं, चैते दसैं, बुद्ध पूर्णिमा र जनै पूर्णिमामा विशेष मेला लाग्छ । 


हिन्दू धार्मिक ग्रन्थ मार्कण्य पुराणका अनुसार महिषासुर दैत्यले स्वर्ग कब्जा गरेपछि स्वर्गका राजा इन्द्रले मत्र्यलोकको एउटा डाँडामा बसी ब्रम्हा, विष्णु र महेश्वरलाई आफ्ना सबै कुरा सुनाए । विष्णु क्रोधित भए, उनको वदनबाट एक तेजपुञ्ज निस्किएर नारी स्वरूपमा कालिन्चोक देवी उत्पन्न भइन्  र उनैले महिषासुरको वध गरिन् ।


यसरी कालिन्चोकको धार्मिक महिमा ठूलो छ । भगवतीलाई महाकालीका रूपमा पूजिने होटल संघ कालिन्चोकका संस्थापक अध्यक्ष सोनाम शेर्पा बताउँछन् । डाँडाको थाप्लोमा कुण्ड, त्रिशूल, घन्ट र देवीका मूर्ति छन् । शेर्पाका अनुसार कुण्ड मात्र प्राचीन हो, बाँकी त्रिशूल, घन्ट र मूर्ति पछि राखिएका  ।
 

कालिन्चोक

विशेष