News

दिपक मनाङ्गेका भाई लागुऔषधसहित प्रहरी नियन्त्रणमा 

दिपक मनाङ्गेका भाई लागुऔषधसहित प्रहरी नियन्त्रणमा 

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गे (राजिव गुरूङ)का भाइ कोर्तो गुरूङ, अनुप श्रेष्ठ र अम्रिता खड्कालाई ललितपुर प्रहरीले लागुऔषधसहित  पक्राउ गरेको छ । 


ललितपुर महानगरपालिका कुमारीपाटीबाट पक्राउ परेका उनीहरू अहिले ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलको हिरासतमा छन् ।

 

पक्राउ पर्नेमा जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ, मनाङ्गेका भाई कोर्तो गुरूङ र अम्रिता खड्का रहेको प्रहरीले जनाएको छ । पकनाजोल बस्ने कोर्तो गुरूङलाई अजय वा रेम्बो भनेर पनि चिनिन्छ । 

कुनै बेला गुण्डाको छवि बनाएका मनाङे मन्त्री हुँदा उनका भाइ अहिले हिरासतमा छन् । कोर्तोको आपराधिक पृष्ठभूमि लामो छ । विभिन्न घटनामा उनी धेरै पटक पक्राउ परिसकेको ललितपुर परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।

‘यसपालि उनी लागुऔषधको मुद्दामा सेवनकर्ताको रूपमा पक्राउ परेका छन्,’ उनले भनिन् । उनी ४१ ग्राम आइस नामक लागुऔषधसहित पक्राउ परेका हुन् । यो लागुऔषध एक ग्रामकै १२ देखि १४ हजार वा सो भन्दा बढीमा किनबेच हुने गरेको ललितपुरका प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए । पक्राउ परेका कोर्तोले लागुऔषधको कारोबार नगरेको तर आफैं सेवन गर्ने गरेको प्रहरीसमक्ष बताएका छन् ।
 

दिपक मनाङे

विशेष