News

पेट्रोलियम पदार्थः नेपाल आयल निगमले किन निरन्तर मूल्य बढाइरहेको छ?

पेट्रोलियम पदार्थः नेपाल आयल निगमले किन निरन्तर मूल्य बढाइरहेको छ?

केही महिनादेखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

पन्ध्र–पन्ध्र दिनको अन्तरालमा गरिने मूल्य समायोजनमा एकाध पटक मूल्य घटाइए पनि अरू बेला बढाइएको गुनासो सर्वसाधारणहरूको छ ।

गत वर्ष चैत १९ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालयले पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर तोकेको थियो । त्यस बेला डीजल र मट्टितेल दुवैको प्रतिलिटर मूल्य ८५ रुपैयाँ थियो ।

शनिवार गरिएको पछिल्लो मूल्य वृद्धिपश्चात् अहिले काठमाण्डूमा एक लिटर पेट्रोलको मूल्य १२५ रुपैयाँ पुगेको छ । त्यस्तै डीजलको र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ कायम गरिएको छ ।


पेट्रोलियम कारोबार गर्ने एक मात्र निकाय नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र त्यसैअनुसार भारतमा तोकिएको मूल्य बढेकाले नेपालमा पनि मूल्य उकालो लाग्ने क्रममा रहेको जनाएको छ ।

प्रत्यक्ष र परोक्ष रूपमा अर्थतन्त्रमा व्यापक प्रभाव पार्ने पेट्रोलियम पदार्थको मूल्य बढ्नु राम्रो नमानिए पनि भारतीय बजारमा भन्दा धेरै सुलभ मूल्यमा कारोबार गर्दा थेग्नै नसकिनेगरी नोक्सानी बढ्ने एक अर्थशास्त्री बताउँछन् ।


नेपालले इन्डियन आयल कर्पोरेशनबाट सीधै उपभोग गर्न सकिने पेट्रोलियम पदार्थको खरिद गर्ने गर्छ ।

भारतीय बजारमा उपभोग हुने करिब ८५ प्रतिशत कच्चा तेल खाडीका साथै अन्य केही देशबाट आयात हुन्छ ।

भारतले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको घटबढका आधारमा नेपाललाई मूल्य सूची पठाउने गर्छ । अनि त्यो सूचीका आधारमा रहेर निगमले नेपाली बजारका लागि मूल्य तोक्ने गर्छ ।


कोरोनाभाइरस महामारी सुरु हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १९ देखि २० अमेरिकी डलर प्रतिब्यारलको हाराहारीमा झरेको थियो ।

विश्वव्यापी रूपमै लकडाउनका कारण सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएपछि तेलको माग निकै कम भएको बताइएको थियो ।

त्यस बेला निगमले पनि प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको प्रवक्ता विनीतमणि उपाध्याय बताउँछन् ।


तर क्रमिक रूपमा तेल बजार पुरानो लयमा फर्केसँगै मूल्य निरन्तर उकालो लाग्दै पछिल्ला दिनहरूमा मूल्य प्रतिब्यारल करिब ७२ डलरमा पुगेको उनको भनाइ छ ।

‘हामीले पनि खरिद गरेर ल्याउनुपर्ने भएकाले जुन मूल्य सूची प्राप्त गर्छौँ त्यसकै आधारमा बढाउने गरेका छौँ । पछिल्लो समय मंसिरयता करिब दुई रुपैयाँको हाराहारीमा तेलको मूल्य बढाउँदै गएको अवस्था हो,’  उपाध्यायले भने ।
अर्थविद् केशव आचार्य पेट्रोलियम पदार्थलाई ‘क्रिटिकल इम्पोर्ट’ अर्थात् संवेदनशील आयातका रूपमा हेरिने र यसको मूल्यमा हुने घटबढले सर्वत्र प्रभाव पार्ने उनी बताउँछन् ।

औषधिदेखि लत्ताकपडा, नुन समेतलाई यसले प्रभाव पार्छ । उपभोक्तामा पर्ने प्रत्यक्ष प्रभावभन्दा परोक्ष प्रभाव अति धेरै छ, उनले भने ।

यसले मूल्यवृद्धि मात्रै नभएर लागत नै बढाउने उनी बताउँछन् ।


नेपालमा पेट्रोलियम पदार्थमा लगाइएको करको दर चर्को रहेको निगमकै अधिकारीहरू स्वीकार गर्छन् ।

पछिल्लो पटक निगमले ६२ रुपैयाँ ४१ पैसामा एक लिटर पेट्रोल खरिद गर्दा ५६ रुपैयाँ ३६ पैसा कर थप हुन्छ ।

निगमकै प्रशासनिक खर्च त्यसमा ६८ पैसा मात्रै हुन आउने उपाध्याय बताउँछन् ।

त्यसबाहेक राजस्व, भन्सार, मूल्य अभिवृद्धि कर, सडक सम्भार कर, पूर्वाधार विकास कर र वातावरण कर आदि समाविष्ट हुन्छन् ।


डीजलमा कर केही कम हुने उपाध्याय बताउँछन् । त्रिसट्ठी रुपैयाँ २५ पैसामा खरिद गरिने डीजलमा ३९ रुपैयाँ ३ पैसा कर लाग्छ ।

त्यस्तै ६० रुपैयाँ ३ पैसामा खरिद गरिने मट्टितेलमा १९ रुपैयाँ ५० पैसा कर लाग्छ । मूल्य अभिवृद्धि लगायतका कर नलिइने हुँदा कम हुन आउँछ ।

गत आर्थिक वर्षबाट लागु हुनेगरी सरकारले करको दायरा बढाएको थियो । निगमले सरकारले निर्देश गरेको कुरा पालना गर्नुपर्ने हुँदा आफूहरूले करबारे टिप्पणी गर्न नमिल्ने उपाध्यायले बताए ।


नेपालमा पेट्रोलियम पदार्थको खपत वार्षिक रूपमा करिब १० प्रतिशतले बढ्ने अनुमान छ । तर कोभिड–१९ का कारण अहिले खपत गत वर्षकै जस्तो छ ।

निगमका अनुसार पछिल्लो पटक मूल्य समायोजन गर्दा समेत उसको घाटा पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डीजलमा ३ रुपैयाँ १७ पैसा र एक सिलिन्डर एलपीजीमा २५८ रुपैयाँ ४६ पैसा छ ।

अर्थात् कोभिडको समयमा हाम्रो विक्री ५० प्रतिशतले घटेको छ । यस्तो समयमा पनि हामीलाई १५ दिनमा करिब ६० करोड रूपैयाँ घाटा छ, उनले भने ।

 

निगमका अनुसार पछिल्लो समय पेट्रोल नेपालमा करिब ३५ रुपैयाँ सस्तो पर्छ भने डीजल ४१ रुपैयाँ सस्तो पर्छ ।


नेपालमा मूल्य सस्तो हुँदा सीमावर्ती क्षेत्रमा मालवाहक र अन्य साना गाडीहरू आउने विषय सामान्य जस्तै रहेको अधिकारीहरू बताउँछन् ।

नेपाली बजारका लागि ल्याइको तेल अरूले उपयोग नगरून् भनेर आफूहरूले जर्किनमा बेच्न दुरुत्साहन गर्ने गरेको र सम्बन्धित निकायहरूलाई तेल बेच्दा क्रेताको आवश्यकता के कति हो भन्ने विषयको जानकारी लिन भनिएको उनको भनाइ छ ।

पेट्रोलियम कारोबार

विशेष