News विचार

एमाले विभाजनको घोषणा भएको भोलीपल्ट ओली दुधमा डुबेको झिंगा झै फालिन्छन

रामप्रसाद रिजाल

एमाले विभाजनको घोषणा भएको भोलीपल्ट ओली दुधमा डुबेको झिंगा झै फालिन्छन

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरेको लम्पसारवादी अभिनन्दन नेपाली झण्डाको अपमान थियो । तर, ओलीले गरे ।

भारतसँग अरुण लगाएतका नेपालको हित विपरीतका समझौताहरु, लिपुलेकसहितको नक्सा जारी गर्ने तर प्रकाशन गर्न रोक्ने हर्कत, भारतीय दुतावासका कर्मचारीको चिट्ठीको भरमा विषादीयुक्त तरकारी नरोक्ने लगाएतका राष्ट्रघाटी निर्णयहरु ओलीवाट भए ।

जसपाका राजेन्द्र महतो र महन्थ ठाकुरसँगको अपवित्र गठबन्धन, नागरिकता संशोधन विधेयक, चुरे सम्पदा बेच्ने निर्णय र मधेशवादी दलका वहमुत सदस्यहरु सम्मिलित मन्त्रीमण्डल गठनबाट ओलीको नक्कली राष्ट्रवाद निर्वस्त्र भैसकेको छ । एमाले विभाजनको घोषणा भएको भोलीपल्ट ओलीलाई दुधमा डुवेको झिंगा फाले झै फाल्छन ।

अहिलेको भारतको मुख्य डिजाइन अनुसार ओलीबाट प्रतिनिधि सभा विघटन गराउने योजना पुरा भैसक्यो। निर्धारित मिति कार्तिक÷मंसिरमा चुनाव नगराउने अनि अनि राष्ट्रपति शासन लगाउने योजनामा ओली अघि वढेका छन् ।

त्यसपछि अहिलेको संघिय लोकतान्त्रिक व्यवस्था लाई  कोल्याप्स गर्ने र कम्युनिस्टहरूलाई कमजोर बनाएर पुरै नेपाललाई उपनिवेश जस्तो बनाउने भारतीय योजनामा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारी भारतीय मतियारको रुपमा प्रयोग भैरहेका छन ।

भारतले नेपालको मधेशमा विद्रोह नहोस भनेर संविधान जारी गराउन पहल गर्नु अस्वभाविक थिएन। तर, यसमा भारतको द्वैध रणनीति थियो । भारत स्वयम मधेशवादी दलहरूलाई असंतुष्ट राख्न चाहान्थ्यो। १२ बुँदे समझौतापछी ‘नयाँ संविधान घोषणा’ नै नेपालको पहिलो राजनीतिक घटनाक्रम थियो जसमा भारतलाई वाइपास गरिएको थियो । तत्कालीन नेकपा एमाले, कांग्रेस र माओवादीहरु मिलेर जारी गरेको नयाँ संविधान प्रति भारत सन्तुष्ट थिएन ।

मधेसवादीका माग सम्बोधन गर्न कांग्रेस, माओवादी केन्द्र लगाएत दलहरु सहमत नै थिए तर एमाले अध्यक्षसमेत रहेका ओलीले मधेशका जनतालाई युपी विहारका हुन भन्दै उग्र कटाक्षकासाथ उपेक्षा गर्दै नयाँ संविधानमा मधेसका मागलाई समेट्न दिएनन ।

संविधान जारी भएपछी मधेशवादी दलहरु असन्टुष्ट भएको घटनामा भारतले नेपालमा अघोषित नाकावन्दी गराईदियो । ओली भर्सेज मधेशवादी दल र भारत जस्तो परिस्थिति बन्यो। नाकावन्दीपछी नेपालमा भारत विरोधी भावना उग्र रुपमा बढ्यो, यसैबेला ओलीले आफूलाई महान राष्ट्रवादी सावित गर्ने मौंका पाए ।

भारतको नाकावन्दीको खास उद्देश्य भनेको नेपालीको राष्ट्रवादी भावानाकै जगमा आफ्ना सेवक (नोकर) ओलीलाई स्थापित गर्ने चाल थियो । भारतले बुझेको थियो नेपालीहरुमा उग्र राष्ट्रवादी भावना छ। यही भावनालाई बुझेर सच्चा राष्ट्रवादीलाई सत्तामा आउन दिनु भन्दा आफ्नो वफादार सेवक ओलीलाई नै किन नेपाल को सत्तामा स्थापित नगर्ने ? भन्ने योजना भारतले वनायो।

नेपाली राष्ट्रवादी संवेदना भजाएर ओली जस्ता नक्कली राष्ट्रवादी÷राष्ट्रघाती÷भारतका दासलाई भारतले नेपालको सत्तामा स्थापित गरियो । जसको परिणाम अहिले हामी सबै राष्ट्रप्रेमी नेपालीहरुले खेपिरहेका छौ । ओली भारतको निर्देशनमा संघिय लोकतांत्रिक व्यवस्थालाई नै समाप्त पार्न न्वारानदेखिको बल लगाईरहेका छन ।

रिजाल नेकपा एमाले माधव नेपाल पक्षका युवा नेता हुन् ।

रामप्रसाद रिजाल

विशेष