News राजनीति

वोली फेर्दै माधव पक्ष– जेठ २ मा फर्किने माग हाम्रो होईन

वोली फेर्दै माधव पक्ष– जेठ २ मा फर्किने माग हाम्रो होईन

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको हिजोको बैठकले सहमति जुटाएको र आज सोको दस्तावेज सार्वजनिक गर्ने बताइएको छ । केही दिनयता लगातार छलफलमा जुटेका कार्यदलका सदस्यहरुले पार्टी एकताका लागि सहमति जुटेको प्रतिक्रिया दिएका छन् । कार्यदलको आज बस्ने बैठकले भाषा परिमार्जन गरेर दस्तावेज सार्वजनिक गर्ने दावी हिजै गरिएको हो ।

पार्टी विवाद समाधानका लागि सहमति बनेको कार्यदल सदस्यहरुको प्रतिक्रिया आइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले भने त्यसप्रति शंका व्यक्त गरेका छन् । केन्द्रीय सदस्य विरोध खतिवडाले सहमतिबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । कार्यदलले सहमति जुटाए पनि आफ्नो समूहको केन्द्रीय समितिबाट पारित नभई उक्त सहमतिले मान्यता नपाउने उनको भनाइ छ ।

नेता खतिवडाले कार्यदलले एकताका लागि छलफल गर्ने म्याण्डेट पाएपनि स्थायी कमिटी वा केन्द्रीय कमिटीले मात्र त्यसलाई अन्तिम रुप दिन सक्ने बताए । ‘उता केपी ओली बोले पुग्ला, के–के गर्छन् थाहा भएन । तर,यता चैं त्यस्तो हुँदैन । हामी केपी ओलीको त्यहि एकाधिकारका विरुद्ध अहिलेसम्म लड्दै आएका छौँ । त्यसैले कार्यदलले प्रस्ताव तयार गरेको हो भने त्यसलाई हाम्रोतर्फको स्थायी कमिटी वा आवश्यकता परे केन्द्रीय कमिटीबाट पारित गर्नुपर्छ । त्यसपछि मात्रै सार्वजनिक हुन्छ, नत्र हुँदैन ।’

कार्यदलको प्रस्ताव व्यक्तिगत कुरा होइन । हिजो हामी केपी ओलीको एकलौटी निर्णयका विरुद्ध लड्दै आयौँ । पार्टीमा छलफल नभई निर्णय हुनु हुँदैन भन्यौँ । हामी छुट्टै बिचार समूह चलाउँदै आएका छौँ भने हाम्रो बिचार समूहमा छलफल हुनु पर्यो नि । लौ सहमति भयो भन्दैमा सबैले मान्ने कुरा हुन्छ र ? केपी ओली समूहमा त्यस्तो हुन्छ होला,यता हुँदैन । हाम्रोतर्फबाट जो कार्यदलमा छन् उनीहरुकै पछि हिँडेर हामीले साथ दिएका हैनौँ र ! अहिले हामीसँग छलफल नभई कसरी सहमति हुनसक्छ ?– खतिवडा भन्छन्।


हामीले पार्टीमा सम्मान र स्वाभिमानसहितको एकता चाहेका हौँ । यसका लागि अब फेरि पनि केपी ओलीको गुटको पेलाइमा पर्नु पर्दैन, एकलौटी हुँदैन, आफ्नो गुटलाई बोकेर फरक बिचारलाई छेकबार लगाइँदैन भन्ने कुराको ग्यारेन्टी भयो एकता हुन सक्ने उनले वताए । 

जेठ २ मा फर्किने आफुहरुको माग नै नभएको वताएका खतिवडाले भने–‘त्यसैले अहिलेको मूल कुरा त्यो हुँदै होइन । मूल कुरा त, आउँदो दिनमा पार्टीमा गुटबन्दी नहुने, एउटा पक्षको दादागिरी नचल्ने र सबैले योग्यता र क्षमताका आधारमा जिम्मेवारी पाउने कुराको सुनिश्चितता हुनुपर्छ भन्ने हो । त्यसका लागि कार्यदलको प्रस्तावमा के–के प्रावधान राखिएका छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यस्तो प्रावधान राख्नुपर्छ,जसले अब पक्षपात हुँदैन, एकलौटी चल्दैन र एमाले विगतकै जस्तो अनुशासित र व्यवस्थित गराउँछ । जेठ २ या अरु अरु अमूर्त बुँदा राखेर मात्र केहि हुँदैन ।’

केपी ओलीको नियतमा नै खतिवडाले शंका ब्यक्त गरे । ओलीले अब फेरि एकलौटी गर्नुहुन्न भन्ने कुराको सुनिश्चितताका लागि नेताहरुको कार्यविभाजनमा प्रष्टता हुनुपर्ने उनले वताए । ‘एक व्यक्ति, एक पद कार्यान्वयन गरिनुपर्छ । केपी ओली र माधव नेपाल दुवै नेताले हस्ताक्षर गरेका डकुमेन्ट मात्र आधिकारिक हुने गरी कार्यविभाजन गरिनुपर्छ । निर्वाचन आयोगलगायतका अन्य निकायहरुमा पठाइने पत्र र अन्तरपार्टी निर्देशिका (अपानि)मा दुवै नेताको हस्ताक्षर हुने अवस्थामा मात्रै यसअघिको जस्तै भविष्यमा पनि पार्टीमा एकाधिकार र एकलौटी हुने कुरालाई रोक्न सक्छ । त्यसो भयो भने बल्ल सम्मानजनक एकता हुने हो । जेठ २ भनेर मात्र हुँदैन ।’


ओलीले विधानअनुसार चल्छु, गुटका आधारमा पक्षपात गर्दिन, एकलौटी गर्दिन, दादागिरी चल्दैन भन्ने कुराको सुनिश्चितता गरे एकताको वातावरण वन्ने तर ओलीले त्यो गर्नुहोला भन्नेमा आफुहरुलाई विश्वास नभएको उनको भनाई छ। 
जनअस्थाको सहयोगमा

विरोध खतिवडा कार्यदल

विशेष