News विदेश Breaking News मुख्य समाचार राजनीति

चीनलाई कसैले धम्क्याउन खोजे टाउकोमा प्रहार गर्ने सी जिनपिङको चेतावनी 

चीनलाई कसैले धम्क्याउन खोजे टाउकोमा प्रहार गर्ने सी जिनपिङको चेतावनी 

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले चेतावनी दिँदै "विदेशी शक्तिले उनको देशलाई धम्काउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुने" बताएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै बेइजिङले "आफू मात्रै असल भनेर अरूलाई दिने उपदेश"लाई नसहने पनि बताएका छन् ।

उनको टिप्पणी अमेरिकालाई लक्षित गरिएको मानिएको छ । हङकङमा भइरहेको भनिएका मानवअधिकार उलङ्घन र दमनका घटनाहरूलाई लिएर चीनको आलोचना भइरहेको समयमा त्यस्तो टिप्पणी आएको हो ।

उनले चीनलाई दमन गर्न खोज्नेको ‘टाउको ग्रेट वाल अफ स्टिलमा ठोक्किने’ चेतावनी समेत दिए । सीले झन्डै एक घण्टासम्म सम्बोधन गरेका थिए । उनले चीनको विकासमा कम्युनिष्ट पार्टीको मुख्य भूमिका रहेको भन्दै यसलाई जनताबाट अलग गर्न खोज्ने प्रयास असफल हुने बताए । उनले कसैलाई पनि चीनविरुद्ध दमन गर्ने मौका नदिने बताए ।

अमेरिकाले आफ्नो विकास रोक्ने प्रयोग गरिरहेको आरोप चीनले बारम्बार लगाउने गरेको छ । त्यहीकारण यो भनाईलाई पनि वासिङटनसँग जोडिएको हेरिएको छ ।  बिहीबार बिहानको समारोहमा सैनिक जेट उडाइएको, तोप पड्काइएको र राष्ट्रवादी गीतहरु बजाइएको थियो ।

हालैको समयमा व्यापार, गुप्तचर क्रियाकलाप र कोरोना भाइरस महामारीका विषयमा अमेरिका र चीनको सम्बन्ध खराब देखिँदै आएको छ । ताइवानको मुद्दा पनि दुई देशबीचको तनावको प्रमुख कारण हो । प्रजातान्त्रिक ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्ने गर्छ भने चीनले उक्त टापुलाई आफूबाट अलग भएर गएको प्रान्त भन्ने गर्छ ।

अमेरिकी कानुन अनुसार ताइवानलाई बेइजिङले बल प्रयोग गरेर आफूमा विलय गर्न खोजेमा उस्लाई आफ्नो बचाउ गर्न सक्ने सहयोग प्रदान गर्न आवश्यक पर्दछ । राष्ट्रपति सीले ताइवानसँगको एकताका निम्ति चीनको "अविचलित प्रतिबद्धता" रहेको बताए ।

१९२१ मा चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) गठन भएको थियो । लामो गृहयुद्धपछि १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टी सत्तामा पुगेको थियो । 

 

विशेष