News

एकै ब्यक्तिलाई दुईथरी कोभिड आक्रमण !

एकै ब्यक्तिलाई दुईथरी कोभिड आक्रमण !

वेल्जियममा एकै ब्यक्तिलाई एकैपटक दुईथरी कोभिडले आक्रमण गरेपछि उनको मृत्यु भएको छ । 

एकै पटक अल्फा र बीटा भेरिअन्टबाट बिरामी परेकी ९० वर्षीय महिलाको गत मार्च २०२१ मा मृत्यु भएको हो । ती महिला दुईजना फरक मानिसबाट सङ्क्रमित भएको डाक्टरहरूको आशङ्का छ। ती महिलाले खोप लगाएकी थिइनन्।

यस प्रकारको घटना दुर्लभ हुने भए पनि यस्तै खाले दोहोरो सङ्क्रमण अन्य ब्यक्तिमा पनि भइरहेको डाक्टरहरूले बताएका छन्।

ज्यानुअरी २०२१ मा ब्रजिलका वैज्ञानिकहरूले दुईजना मानिस एकसाथ दुई प्रकारका कोरोनाभाइरसबाट सङ्क्रमित भएको रिपोर्ट गरेका थिए। तीमध्ये एक जनालाई गामा कोरोनाभाइरस सङ्क्रमण भएको थियो।

पोर्चुगलमा अनुसन्धानकर्ताहरूले हालै एक जना १७ वर्षका व्यक्तिलाई उपचार गरेका थिए। उनलाई एकप्रकारको कोभिडबाट निको हुने क्रममा रहेका बेला अर्को प्रकारको कोभिड सङ्क्रमण भएको थियो।

दुई प्रकारका भेरिअन्टबाट सङ्क्रमित ती ९० वर्षीय महिलालाई पटक पटक आफै भुइँमा लडेपछि अस्पताल भर्ना गरिएको थियो। पछि उनमा श्वास प्रश्वास सम्बन्धी समस्या देखा परेको थियो।

प्रयोगशालामा परीक्षण गर्दा उनमा अल्फा र बीटा भेरिअन्ट दुवै रहेको पत्ता लागेको थियो।

भाइरसहरूले आफ्नो संख््या बढाउँदै लग्दा निरन्तर स्वरूप परिवर्तन गर्दै जाने त्यसैबाट नयाँ भेरिअन्ट पैदा हुँदै जान्छन्।

कोभिडको पनि केही महत्वपूर्ण परिवर्तन भएका छन् त्यसले संख्या बढाउने उसको क्षमता बढाइदिएको हुन सक्छ वा पहिलाको सङ्क्रमण अथवा खोपबाट प्राप्त रोग प्रतिरोधी शक्तिलाई जित्ने पनि हुन सक्छ।

वैज्ञानिकहरू नयाँ खोपको विकास गर्ने क्रममा छन् जुन नयाँ भेरिअन्टमा झन् राम्रो काम गर्न सक्छन्। वैज्ञानिकहरूले त्यसलाई बूस्टर वा तेस्रो खोपका रूपमा लगाउन सकिन्छ कि भनेर काम गरिरहेका छन्।

बीबीसीको सहयोगमा

विशेष