News

गण्डकी प्रदेशमा मार्सल लगाएर प्रमुख प्रतिपक्षी विना नै वजेट पारित

गण्डकी प्रदेशमा मार्सल लगाएर प्रमुख प्रतिपक्षी विना नै वजेट पारित

गण्डकी प्रदेश सरकारले मार्सल लगाएर प्रमुख प्रतिपक्षी विना नै वजेट पारित गरेको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका विच सदनमा विनियोजित विधेयक पेश गरेपछि एमाले सांसदहरू नाराबाजीमा उत्रिएका थिए। एमालेले सदन अवरोध गरेपछि विनियोजन विधेयक पेश गर्न मार्सल लगाएको थियो।

नाराबाजी हुँदा समेत मार्सल गगाएर सदनमा विनियोजन विधेयक पेश भएपछि एमाले सांसदहरू बाहिरिए। एमालेका सांसदहरु वाहिरिएको मौका पारेर सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरेको बजेट मार्सल लगाएर पारित गरिएको हो ।

एमाले नेतृत्वको सरकारले ल्याएका योजना र कार्यक्रम काटिएको भन्दै एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए।

ध्यानाकर्षण पत्रमा उल्लेखित बुँदामा वैधानिक सम्बोधन नहुँदासम्म प्रदेश सभा सञ्चालन गर्न नदिने उल्लेख छ। एमालेका सांसदहरूको उपस्थितिबिना नै प्रदेशसभाले आगामी वर्षको बजेट पारित गरेको छ।

मुख्यमन्त्री तथा अर्थमन्त्री पोखरेलले विनियोजन विधेयक सदनमा पेश गरेपछि सभामुख नेत्रनाथ अधिकारीले सत्तारूढ सांसदहरू दोबाटे विश्वकर्मा, आशा कोइराला र चन्द्रबहादुर बुढालाई विनियोजन विधेयकमाथि छलफल गर्न बोलाएका थिए। 

प्रतिपक्षीविहीन सदनमा कसैले पनि छलफलमा भाग लिएनन्। त्यसपछि सभामुख अधिकारीले छलफल समाप्त भएको घोषणा गरेका थिए।

मुख्यमन्त्री तथा अर्थमन्त्री पोखरेलले असार १ गते सदनमा पेश गरेको बजेट छलफल नै नगरी यसरी पारित गरेको हो।

गण्डकी प्रदेश नाराबाजी कृष्णचन्द्र नेपाली पोखरेल

विशेष