सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धि गरेर बालकोट गए ओली
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ । हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो । विभागका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ ।
सार्वजनिक यातायातको भाडा वृद्धि भएको सुचना सञ्चार माध्यममा बिहीबार सार्वजनिक भएपनि ओली नेतृत्वको मन्त्रिपरिषदले असार २७ गते निर्णय गरेको थियो । वर्तमान प्रधानमन्त्रि शेरबहादुर देउवा २९ गते प्रधानमन्त्री नियुक्त भएका हुन् । केही सञ्चार माध्यममा शेरबहादुर देउवा नेतृत्वको सरकारले भाडा वृद्धि गरेको उल्लेख गरेको छन् । यातायात व्यवस्था विभागको पत्रमा असार २७ गते भाडादर वृद्धि सम्बन्धी प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिएको उल्लेख छ ।
यातायात व्यवस्था विभागले जारी गरेको पत्रमा पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ ।
तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।
सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च समबन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा समायोजन गरिएको विभागको दाबी छ ।
श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा भाडामा समायोजन गरिएको विभागको भनाइ छ ।
असार २७ गते यससम्बन्धी प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिएको प्रवक्ता भुसालले बताए ।
२८ प्रतिशत भाडा वृद्धि