News

राष्ट्रवादी दावी गर्ने भिम रावललाई लाग्यो भारतीय गुप्तचर संस्था ‘रअ’ को दाग

राष्ट्रवादी दावी गर्ने भिम रावललाई लाग्यो भारतीय गुप्तचर संस्था ‘रअ’ को दाग

एमाले उपाध्यक्ष भीम रावलले आफूले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रतिनिधिसँग नभेटेको बताएका छन् । एउटा न्यूज पोर्टलमा रावलले असार २० गते साँझ ८ बजेदेखि ९ बजेसम्म होटल मेरियटमा भेटघाट गरेको भनेर लेखिएको समाचारलाई उनले ‘कथित’ भनेका छन्।

रावलले आज जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘त्यो दिन साँझ म र रघुजी पन्त माधवकुमार नेपालजीको निवासमा थियौं । हामीले कुरा गरिरहेको समयमा विष्णुप्रसाद पौडेलको फोन आयो । उहाँको फोन आएको कुरा दुबै जनालाई जानकारी गराएँ । विष्णुजीले बालुवाटारमा प्रधानमन्त्रीले कुरा गर्न खोज्नुभएको छ भन्नुभएपछि मैले माधव नेपालजी र रघुजीले सुन्नेगरी फोन खुल्ला राखेँ ।’

त्यसपछि आफू टोखास्थित घर गएर खाना खाइवरी बालुवाटारमा भेटघाटको लागि आउँदा साँझको सवा ८ बजेको तथ्यलाई बंग्याएर आफ्नो देशभक्ति र जनताप्रतिको समर्पित जीवन आदर्शमाथि आक्रमण गर्ने घृणित प्रपञ्च रचिएको भनेका छन्।

मनगढन्ते तरिकाले भारतीय गुप्तचर संस्थासँग आफुलाई जोडेर समाचार प्रकाशित गर्ने न्यूज पोर्टलको नाम र नेताहरुको नाम उल्लेख नगरी उनले जारी गरेको वक्तव्यमा बालुवाटारमा त्यसपछि प्रधानमन्त्री केपी ओलीसँग कार्यदलमा आफ्नो संलग्नताबारे मात्र कुरा भएको उल्लेख गरेका छन्।

वरिष्ठ नेता नेपालको निवासमा असार २० गते साँझ भएको कुरा उनी र पन्तलाई मात्र थाहा भएको र बालुवाटार गएको कुरो प्रधानमन्त्री र पौडेललाई मात्र थाहा भएको यथार्थलाई मनगढन्ते तरिकाले कसले प्रचार गर्यो भनेर उनले आश्चर्य व्यक्त गरेका छन्।

पद र प्रतिष्ठाको लागि वाह्य शक्तिका सामु घुँडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरुले नै आफ्नो विरुद्ध उक्त प्रकारको झुठो प्रचार गरेको बताउँदै रावलले लेखेका छन् –‘केपी ओलीले आफूलाई कार्यवाहक अध्यक्ष बनाउने प्रस्ताव गरेकाले म नरम भएको भन्ने कपोलकल्पित समाचार छापेको देख्दा यो सुनियोजित षडयन्त्रपूर्ण कुप्रचार भएको स्पष्ट हुन्छ ।’
जनआस्था

भीम रावल भारतीय गुप्तचर संस्था ‘रअ’

विशेष