News

५ रोपनी क्षेत्रफलसहित काठमाण्डौंमा बिप्लपको निवास !

५ रोपनी क्षेत्रफलसहित काठमाण्डौंमा बिप्लपको निवास !

लामो समय भुमिगत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का लागि ललितपुरको हरिसिद्धीमा भब्य निवास तयार भईरहेको छ।

हरीसिद्धि गुठीको करिव ५ रोपनी मोहियानी जग्गा लिजमा लिएर निवास निर्माणको काम सुरु गरिएको हो । गुठीसँग यो जग्गा विप्लव नेकपाले लिजमा लिएको छ । २० वर्षलाई लिजमा लिने गरी समझदारी भएपनि जग्गा लिने दिनेका बीचमा लिखित कागज भने भएको छैन।

तत्कालीन माओवादीले १ फागुन ०५२ मा ‘जनयुद्ध’ सुरु गर्दा विप्लव ललितपुर जिल्ला सेक्रेटरी थिए । त्यसैबेला उनको कमिटीका सदस्य थिए– रामशरण महर्जन । महर्जन गुठी जग्गाका गुठियार पनि हुन् । उनी विप्लवलाई जग्गा दिन तयार भएका छन् । पारिवारीक समस्याका कारण सम्झौता भने भईसकेको छैन । तर जग्गा भूमाफियाले हडप्न थालेको र त्यसको रक्षाका लागि पनि विप्लवको पार्टीलाई लिजमा दिँदा जोगिने विश्वासमा महर्जनले यो कदम चालेका हुन ।

राजधानीमा रहँदा विप्लव यहि रहने वताईन्छ। यहिवाट दैनिक पार्टी कार्य सञ्चालन, भेटघाट स्थल, खेती तथा पशुपालन र आयआर्जन समेत गर्ने तयारी अनुरुप उनका लागि निवास तयारी सुरु गरिएको हो । 

विप्लवका लागि काठमाडौँमा निर्माण हुँदै गरेको आवासलगायतमा ४५ लाख बराबरीको खर्च हुने जनाईएको छ । विप्वलवको निवास निर्माण कार्य पार्टीकै नेता–कार्यकर्ताले गरिरहेका छन् । 

कार्यालय व्यवस्थापन र निवास निर्माणको जिम्मा भिमसेन घिमिरे (विपिन) र विकास महर्जनले पाएका छन् । उनीहरूसहित झण्डै एक दर्जन नेता–कार्यकर्ता आलोपालो त्यहाँ काम गर्छन। जग खन्ने काम सकिएको छ भने डिपिसी भर्ने काम भइरहेको छ ।

के गर्दैछन् विप्लव ?
२८ फागुन २०७५ मा विप्लवको पार्टीले हिंसात्मक गतिविधि गरेको अभियोगमा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसपछिका २ वर्ष भूमिगत जीवन बिताएका विप्लव २१ फागुन २०७७ मा सार्वजनिक भए ।

सरकारसँग तीन बुँदे सहमति गरेर राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनै प्रधानमन्त्री ओलीसँगै सार्वजनिक भए, विप्लव ।

त्यसयता विप्लवले अधिकांश समय आफ्नै गाउँ कपिलवस्तुको शिवगढीमा बिताइरहेका छन् । उनको पार्टी नेकपाको केन्द्रीय कार्यालयसमेत शिवगढीमा बन्दै छ । लिफ्टसहितको आधुनिक केन्द्रीय कार्यालय भवन १ वैशाखमा विप्लवले उद्घाटन गरेका थिए । अहिले त्यो निर्माणकै चरणमा छ ।

खुल्ला परिवेशमा पार्टी अवतरण भएपछि नेकपाको दशौँ केन्द्रीय समिति बैठक शिवगढीमै बस्यो । प्रगतिशील संयुक्त राष्ट्रिय सरकार, वैज्ञानिक समाजवादका लागि जनमत संग्रहको नारासहितको ४ महिने कार्य योजना बैठकले पारित गरेको थियो । ‘एक पार्टी कमिटी, एक उत्पादन’ को नारा पनि त्यही कार्य योजनाभित्र छ । पार्टीको हेर्डक्वाटरदेखि तल्ला कमिटीसम्म आत्मनिर्भर बनाउने अभियानअर्न्तगत यो योजना बनेको हो ।

विप्लव स्वयम् गहुँ काट्ने, धान रोप्नेलगायतका कृषि कर्ममा संग्लन्न रहेको तस्विर बेलाबेला शिवगढीबाट सार्वजनिक भइरहेको छ । असार ९ गते मात्रै पनि केही नेता –कार्यकर्तासहित धान रोप्न व्यस्त रहेको उनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

‘श्रमसँग नियमित जोडिनु हरेक कम्युनिष्टको आचारण बन्नुपर्छ’ धान रोपिरहेको आफ्नो भिडियो पोष्ट गर्दै विप्लवले लेखेका थिए ।

तत्कालीन विद्रोही पक्ष माओवादीले आफ्नो लाल किल्ला रोल्पा, रुकुममा युद्ध कालमा थुप्रै जन कम्युनको अभ्यास गरेको थियो । अजम्बरी कम्युन, बलिदान जनकम्युन्, जुनी कम्युन इत्यादि । त्यसबेला माओवादीका कतिपय त्यस क्षेत्रका नेता कार्यकर्ताले निजी सम्पत्ति कम्युनलाई बुझाएर सर्वहाराकरणको दिशामा अगाडि बढेका थिए । त्यसपछि उनीहरूले सँगै खान थाले, सँगै बस्न थाले, मेला पातमा सँगै काम गर्न थाले । आम्दानी पनि सामूहिक, खर्च पनि सामूहिक र सम्पत्ति पनि सामूहिक । हर एकको खुसी कम्युनको खुसी, हर एकको दुःख सिंगो कम्युनको दुःख । यही नारामा माओवादीले कम्युनको प्राक्टिस गरेको थियो । तर, त्यो टिकेन ।

बीचमा माओवादी केन्द्रले हेटौँडा महाधिवेशनबाट उत्पादन विग्रेड बनाउने योजना अगाडि सारे । अहिले विप्लवले भने जस्तै हरेक कमिटी श्रमसँग जोडिने नीति थियो, त्यो । तर यो नारामै सिमित बन्यो ।

अहिले ठिक विप्लवले त्यसैगरी पार्टीका कमिटीलाई उत्पादनसँग जोडने अभियान अगाडि ल्याएका छन् । त्यसैअर्न्तगत उनले उत्पादनमा पार्टीलाई जोडन लागेका हुन् । त्यसै अन्तर्गत हरिसिद्धिको विप्लवको भवनलाई उपयोग गर्ने तयारी छ।

नेत्रविक्रम चन्द (विप्लव) निवास

विशेष