बित्थडचिरको अस्पताल निर्माणमा 'सेटिङ', ठेक्का मिलाउन प्रयोग गरियो ‘अस्लार मेसिनरी वाल’
सुनिल धामी
गत वर्षको मंसिरको मंसिर २५ गते सरकारले देशभरीका ३०९ स्थानीय तहमा अस्पताल भवन र तीनवटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्यो । स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमध्ये ३०९ वटा र तीन वटा प्रदेशमा सरुवा अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरेको थियो ।
त्यसैमध्ये बझाङको वित्थडचिर गाउँपालिकामा पनि १५ शैयाको स्वाथ्य चौकी भवनको शिलन्यास भयो । सरकार स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले एकैपटक देशैभरि ठुलो संख्यामा अस्पताल शिलन्यास गरेको थियो । बझाङ जस्तो विकट हिमाली जिल्लाको स्थानिय तहमा १५ शैयाका अस्पताल शिलन्यास हुँदा जनता सहज स्वास्थ्य उपचारको आशाले उत्साहित भएका थिए ।
तर, जब अस्पतालको भवन निर्माण प्रक्रिया सुरु भयो त्यसपछि भने जनतामा निराशा छाएको छ । अस्पताल भवन निर्माणको जिम्मेवारी बोकेका स्थानिय तहले मनलाग्दि तरिकाले भवन निर्माणको प्रक्रिया सुरु गर्दा स्थानिय चिन्तित छन् । दुर दराजमा जनताको अत्यावश्यक मागसँग जोडिएका महत्वाकांक्षी विकासका योजनाहरु सिमित व्यक्तिहरुको निहित स्वार्थले गर्दा दिगो हुन नसकेको र राज्यको लगानिको सदुपयोग हुन नसकेका थुप्रै उदाहरणबाट जनता आजित भैइसकेका छन् ।
विगतका वर्षहरुमा झैँ राज्यको लगानिको सदुपयोग र दिगो उपयोग नहुने चिन्ता अहिले बझाङको वित्थडचिर गाउँपालिकाका जनतामाझ रहेको छ । गाउँपालिकामा निर्माणाधिन १५ शैयाको अस्पताललाई स्थानिय जनताले निकै महत्वाकांक्षी तरीकाले हेरेका थिए । तर, अस्पताल निर्मााणको ठेक्का प्रक्रिया भयो त्यसपछि भने गाउँपालिकाको निर्णय विवादास्पद बनेको छ । गाउँपालिकाले अस्पताल निर्माणका लागि टेण्डर आह्वान गर्दा सजिलै कमिसन लिन मिल्ने निर्माण कम्पनिलाई ठेक्का दिन निकै चलाखी हतकण्डा अपनाएको गम्भिर आरोप लागेको छ ।
गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले निकै मोटो रकम कुम्ल्याउने प्रलोभनमा परि आफु अनुकुल हुने निर्माण कम्पनिलाई ठेक्का दिन काग भन्दा बाँठो हर्कत देखाएको जानकारहरु बताउँछन् । १८ करोड लागत रहेको अस्पतालमा करिब तिनदेखि चार करोडसम्म जनप्रतिनिधि र कर्मचारीले कुम्ल्याउन खोजेको जानकारहरुको भनाई छ ।
कसरी दुरुपयोग हुँदैछ अस्पतालको बजेट?
गाउँपालिकाले अस्पताल निर्माणका पहिलो पटक टेण्डर आह्वान गर्दा भवनको भित्ता (वाल) ढुंगाबाट निर्माण गर्ने भनेर उल्लेख गर्यो । ढुंगाको पर्खाल जसलाई प्राविधिक भाषामा ‘स्टोन मेसिनरी’ भनिन्छ । सहजै इट्टा नपाइने तर प्रशस्त मात्रामा ढुंगा पाईने ठाउँहरुमा विकास निर्माणका लागि स्टोन मेसिनरी वालबाटै भवन निर्माण गरिन्छ ।
गाउँपालिकाले आह्वान गरेको यो टेण्डर प्रक्रियालाई सहजै रुपमा हेरिएको थियो । दुर दराजमा भवन निर्माणमा सक्रिय थुप्रै निर्माण व्यवशायीहरु टेण्डर हात पार्न प्रतिश्पर्धामा जान तयारी गरिरहेका थिए । तर जब टेण्डर आह्वान भएको करिब २३ दिन पुग्यो गाउँपालिकाले नाटकिय शैँलीमा टेण्डर संशोधन गरिएको भन्दै दोस्रो पटक सुचना निकाल्यो । टेण्डर आह्वान भएको २३औँ दिनसम्म भवन निर्माणको टेण्डर थाप्न तम्तयार रहेका निर्माण व्यवशायी तब अचम्मित भरे जब दोस्रो पटक जारी गरिएको सुचनामा ‘स्टोन मेसिनरी वाल’ को सट्टा ‘अश्लार मेसिनरी वाल’ हुनु पर्ने भनेर उल्लेख गरियो ।
पहिलो पटक टेण्डर गर्दा गरिएको स्टोन मेसिनरी वाल सम्बन्धि व्यवस्था
‘अश्लार मेसिनरी वाल’ प्राविधिक रुपमा निकै कठिन मानिन्छ । ढुंगालाई मेसिनद्धारा काटेर इट्टा जस्तै समान आकार दिनुपर्छ । अश्लार मेसिनरी वालको लागि ढुंगा मात्रै तयार गर्न लामो समय लाग्छ र त्यस्तै किसिमको उच्चस्तरिय प्रविधि र जनशक्ति पनि । सम्भवतः यस्तो किसिमको ‘अश्लार मेसिनरी वाल’ भएको कुनै पनि भवन सुदूरपश्चिम मै प्रयोग नभएको निर्माण व्यवशायी बताउँछन् । गाउँपालिकाले सुनियोजित तरिकाले आफुअनुकुल र कमिसन लेनदेन गर्न सकिने कम्पनिलाई भवन निर्माणको ठेक्का दिन कम प्रतिश्पर्धा होस् भनेर ‘अश्लार मेसिनरी वाल’ भनेर राखिएको निर्माण व्यवशायीको ठोकुवा छ । ‘अश्लार मेसिनरी वाल’ भनेर टेण्डरमा उल्लेख गर्दा सजिलै एक वा दुई कम्पनिले टेण्डर हाल्ने भएकाले सोझै चिताएको कम्पनिलाई ठेक्का दिन मिल्ने हुनाले गाउँपालिकाका प्रतिनिधि र कर्मचारीले यस्तो चलाखी अपनाएको निर्माण व्यवशायी दावा गरिरहेकाछन् ।
टेण्डर संशोधन गरेर थपिएको अश्लार मेसिनरी वाल सम्बन्धि व्यवस्था
नेपालमा औँलामा गन्न सकिने मात्रामा ‘अश्लार मेसीनरी प्रविधिबाट निर्माण गर्न सक्ने हैसियत भएको कम्पनि मात्रै रहेको निर्माण व्यवशायी दिनेश बोहरा बताउँछन् । उनि भन्छन्, 'अश्लार मेसिनरी वाल प्राविधिक दृष्टिकोणबाट बझाङमा सम्भव नै छैन । हामीले पनि वर्षौदेखि धेरै भवन निर्माण गरेका छौँ तर सुदूरपश्चिमको पनि बझाङमा ‘अश्लार मेसीनरी वाल’ प्रयोग गर्छु भन्नु जनताको आँखामा छारो हाल्नु मात्रै हो ।'
निर्माण व्यवशायी बोहरा स्वंयम इन्जिनियर पनि हुन् । बझाङमा ‘अश्लार मेसीनरी वाल’ जस्तो अत्याधुनिक प्रविधि धेरै कारणले असम्भव रहेको उनको दावी छ । उनि भन्छन्, 'ढुंगा तयार गर्न मात्रै नियमित विधुत आवश्यक पर्छ । त्यस्तै किसिमको प्रविधि आवश्यक पर्छ र त्यहि अनुरुपको जनशक्ति पनि । अहिले जसरी बझाङमा ‘अश्लार मेसीनरी वाल’ भनेर जनताको आँखामा छारो हाल्ने काम गरिएको छ यो सरासर धोका हो । आफुअनुकुल व्यक्तिलाई ठेक्का दिन मात्रै यो सब नाटक गरिएएको हो । अहिले ठेक्का पाएको कम्पनिले पनि भवन निर्माण गर्ने बेलामा ‘अश्लार मेसीनरी वाल’ सम्भव नभएको भन्दै बहाना गर्छ अनि जनप्रतिनिधिले त्यसो भए स्टोन मेसिनरी नै प्रयोग गर्नु भनेर निर्णय गरेपछि काम तमाम । जनताको आँखामा छारो पनि हालियो । बजेट पनि स्वाहा ।'
बझागं जस्तो दुर्गम जिल्लामा अस्लार मेसिनरी वाल कुनै पनि कोणबाट सम्भव नरहेको विगत २० वर्षदेखि अश्लार मेसिनरी सम्बन्धि काम गरिरहको ललितपुरका हरिराम श्रेष्ठ बताउँछन् । उनको बालकोटमा श्रेष्ठ स्लेट स्टोन कम्पनी छ । उनि भन्छन्, ‘अश्लार मेसिनरी प्रविधि मन्दिर, गुम्वा, पार्क जस्ता ठाउँमा प्रयोग गरिन्छ । अश्लार मेसिनरी वालमा ढुंगाहरु पनि समान किसिमका हुन्छन् । आवश्यकता अनुसार ढुंगाहरुमा विभिन्न आकृती कोर्दै डेकोरेसन पनि गरिन्छ । दुर्गम ठाउँमा यस्तो प्रविधि सम्वभ नै छैन । उहाँहरुले कसरी टेण्डर मिलाउनु भयो थाहा भएन ।’
टेण्डर आह्वान प्रक्रिया मै त्रुटी
सार्वजनिक खरिद नियमावली अनुसार टेण्डरको प्रस्ताव माग गर्दा आशयपत्रदाताहरूलाई प्रस्ताव सम्बन्धी कागजात, हुलाक, कुरियर वा व्यक्ति मार्फत पठाई कम्तीमा तीस दिनको समय दिई निजहरूबाट प्रस्ताव माग गर्नु पर्नेछ भनिएको छ । तर, गाउँपालिकाले यो नियमलाई ठाडै मिचेर २३औँ दिनमा टेण्डर संशोधन गरी सात दिन भित्र प्रस्ताव माग गरेको छ ।