News राजनीति

पहिलो वलमै देउवाको ‘चौका’, आलमलाई छुटाएर ‘छक्का’ हान्ने तयारी 

पहिलो वलमै देउवाको ‘चौका’, आलमलाई छुटाएर ‘छक्का’ हान्ने तयारी 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको परमादेशले पाँचौ पटक प्रधानमन्त्री वनेपछि मुलुक नयाँ कोर्षवाट अघि वढ्ने अपेक्षा गर्न थालिएको  छ।

तर, संसदमा उनको धरातल हेर्दा खासै आशा गर्ने अवस्था भने छैन । त्यसमाथि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका कारण वाक्क भएकाहरुले ओलीलाई खसाल्ने नाममा देउवावाट आवश्यक्ता भन्दा वढि अपेक्षा जगाएका छन् । मानौं देउवाले जादुको छडी वोकेर मन्तर पढ्न मात्र वाँकी छ ।

तर, देउवाका यसअघिका कार्यकाल खासै सम्झन लायक छैनन् । बरु प्रधानमन्त्रीका रुपमा देउवाले धेरै बदनामी कमाएको इतिहास छ । प्रधानमन्त्री हुँदा पार्टीदेखि लोकतन्त्रसम्मलाई क्षति पुर्याउने काम गरेको भन्दै उनको आलोचना हुने गरेको छ ।

यस पटक पनि उनीवाट धेरै आशा गर्ने ठाउँ त छैननै, सुरुवात पनि आचोचनावाटै भएको छ । संयोगले पाँचौँ पटक प्रधानमन्त्री बनेका देउवासँग विगतमा गरेका कमजोरीबाट सिक्ने र केही गर्ने अवसर छ । कम्तीमा ओलीले गरेका गल्तीबाट पाठ सिकेर काम गरे पनि देउवाको छवि केही राम्रो बन्ने छ ।

तर, उनले यो मौकालाई छवी सुधार्ने अवसरको रुपमा भन्दा पनि विवादित छविको निरन्तरताका रुपमा अगाडि वढाउने संकेत देखिएका छन् । सपथ ग्रहण गरेको भोलीपल्ट देखिनै उनको आलोचना सुरु भएको छ ।

देउवा प्रधानमन्त्री भएको भोली पल्ट ललिता निवास जग्गा प्रकरणमा मुछिएका र डेढ वर्षदेखि फारर रहेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएर १० लाख रुपैयाँ धरौटीमा रिहा भए।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गर्यो । यो प्रकरणमा देउवालाई जोडेर हेर्ने गरिएको छ। डेढ वर्षसम्म फरार रहेर ठिक यसै वेला अदालतमा हाजिर हुनु र धरौटीमा रिहा हुनुलाई सम्योग मात्रै मान्न नसकिने जानकारहरु वताउँछन् ।

यति मात्र होईन, हत्या अभियोगमा ललितपुरस्थित नख्खु कारागारमा सजाय काटिरहेका कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई समेत कारागार मुक्त गर्ने चलखेल सुरु भएको छ। देउवा सरकारले यो चर्चालाई पुष्टि गर्दै गएको छ ।

विहिवार मात्रै कारागार व्यवस्थापन विभागका महानिर्देशक फणिन्द्रमणि पोखरेलले आलमलाई भेटेका छन । कारागार स्रोतका अनुसार महानिर्देशक पोखरेलले एक सहयोगीसँगै कैद जीवन बिताइरहेका आलमलाई बिहीबार विशेष कक्षमा बोलाएर कुराकानी गरे।

श्रोतका अनुसार पोखरेल गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि आलमलाई भेट्न नख्खु पुगेका हुन । पोखरेलले गृहमन्त्रीको सन्देश पनि आलमलाई सुनाएका छन् । तर, पोखरेलले भने आफु नख्खु कारागार नगएको दावी गरेका छन् ।

यहि प्रकरण राजपुर राजपुरमा पनि चर्किएको छ। देउवा प्रधानमन्त्री भएसँगै आलमका समर्थकले रौतहट राजपुरस्थित गाउँमा घटनाका साक्षी धम्काउन थालेका छन् । बिहीबार उनका समर्थकले राजपुर–४ का मेवालाल यादव र रामबहादुर साहलाई घरमै पुगेर ज्यान मार्ने धम्की दिए। यादव र साह २७ चैत ०६४ साँझ राजपुरस्थित शेख इद्रिसको गाईगोठमा भएको बम विस्फोटका साक्षी हुन् ।

प्रधानमन्त्रीमा देउवा नियुक्त भएसँगै राजपुरमा समर्थकले आलम कैदमुक्त हुने भन्दै सोमबारदेखि दीपावली गर्दै आएका छन । खुसियालीमा पटाका र बन्दुक पड्काउने गरिएको छ ।

प्रधानमन्त्री भएको तीन दिन वित्न नपाउँदै भएका यस्ता प्रकरणले प्रधानमन्त्री देउवावाट देश र जनताको हितका कुरा धेरै सोच्न नसकिने कांग्रेसकै नेता कार्यकर्ता वताउँछन् । हुन त उनको विगत पनि देश र जनताको पक्षमा देखिएको छैन।

०५२ साल भदौमा पहिलो पटक प्रधानमन्त्री बनेका देउवाको सुरुवात देखि नै विवादीत वने । देउवाका पालामा महाकाली सन्धि भयो । अहिलेसम्म यो सन्धि विवादित छ र परिणामले महाकाली सन्धि देशको हितमा थिएन भन्ने पुष्टि भएको छ ।

४८ जनाको जम्बो मन्त्रिपरिषद वनाएर उनले अर्को वदनामी कमाए। प्राडो, पजेरो काण्डदेखि अनेकौ काण्डले उनको साख गिरायो । उनको यहि कार्यकालमा माओवादी जनयुद्ध शुरु भयो । माओवादीको टाउकोको मुल्य तोक्ने तिनै देउवा अहिले माओवादीकै समर्थनमा प्रधानमन्त्री वनेका छन् ।

०५८ साल साउनदेखि ०५९ साल असोजसम्मको देउवाको दोस्रो कार्यकालमा संसद विघटन भयो । बहुमत सांसदको चाहना विपरित उनले संसद विघटन गरिदिए। अहिले पनि देउवालाई प्रजातन्त्र दरबारमा बुझाएको आरोप लाग्ने गरेको छ । यही कार्यकालमा देउवाले पार्टी फुटाएको आरोप पनि खेप्दै आएका छन् । 

०६१ साल जेठमा तेश्रो पटक प्रधानमन्त्री बनेका देउवा आफैंले प्रतिनिधि सभा विघटन गर्दै प्रतिगमनलाई सहज तुल्याए। अरु दल प्रतिगमनको विरोधमा आन्दोलन गरिरहेका बेला देउवा भने तत्कालीन राजाको निगाहमा प्रधानमन्त्री बने।

०७४ जेठमा चौथोपटक प्रधानमन्त्री वेनका देउवाले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग र प्रहरी महानिरीक्षक प्रकरण मच्चाए । भारत भ्रमणका बेला संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्ने, फ्रि तिब्बतको पक्षमा रहेका धर्मगुरुलाई भेट्ने जस्ता गलत कामले पनि उनको साख गिरायो ।

यही कार्यकालमा ६४ सदस्यीय मन्त्रिपरिषद् बन्यो । चुनाव हारेर पनि सत्ता हस्तान्तरण गर्न नमानेपछि चर्को आलोचना भयो । 

देउवाको स्वभाव, विगत र सुरुवात हेर्दा यो कार्यकाल पनि देउवाको स्मरणयोग्य र चर्चा योग्य हुने कुरामा शंका उत्पन्न भएको छ । 

शेरबहादुर देउवा विजयकुमार गच्छदार मोहम्मद अफ्ताब आलम

विशेष