News

पूर्वराजपालाई आउट गरेर प्रदेश २ सरकारमा माओवादीको इन्ट्री

पूर्वराजपालाई आउट गरेर प्रदेश २ सरकारमा माओवादीको इन्ट्री

प्रदेश २ सरकारमा नेकपा (माओवादी केन्द्र) को इन्ट्री भएको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लिएर माओवादी सरकारमा प्रवेश गरेको हो ।

माओवादी सरकारमा सहभागी हुने भएपछि सरकारको नेतृत्व गरेको जनता समाजवादीको उपेन्द्र यादव समूहले एक मन्त्री र एकजना राज्यमन्त्रीलाई राजीनामा गराएको छ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र अर्का राज्यमन्त्री सरोज सिंहले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका छन् । ज्ञानेन्द्रको ठाउँमा माओवादीका भरत साह र सरोजको ठाउँमा रुबी कर्णको नियुक्ती भएको छ।

माओवादीबाट मन्त्री बनेका साह र राज्यमन्त्री कर्णले आजै दिउँसो ३ बजे शपथ ग्रहण गर्ने तयारी छ।

राजीनामा दिन गएका मन्त्री यादवलाई मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर सम्मान गर्दै बिदाइ गरेका छन् । ज्ञानेन्द्रले आन्तरिक मामिला तथा कानून मन्त्रालयको नेतृत्व गर्दै आएका थिए। कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मन्त्रालय फुटाएर आन्तरिक मामिला तथा संचार मन्त्रालय बनाइएको छ ।

कांग्रेस यसअघि नै तीन मन्त्रालयसहित सरकारमा सहभागी भइसकेको छ। माओवादीलाई सरकारमा ल्याउन भने जसपाभित्रको पूर्वराजपाका मन्त्रीलाई हटाईएको हो । 
 

माओवादी केन्द्र भरत साह रुबी कर्ण

विशेष