News

चोलेन्द्रको अर्को एक्सनः गच्छदारलाई धरौटीमा छाड्ने विशेषका अध्यक्षको २ दिनमै सरुवा

चोलेन्द्रको अर्को एक्सनः गच्छदारलाई धरौटीमा छाड्ने विशेषका अध्यक्षको २ दिनमै सरुवा

कांग्रेसका नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाड्ने विषेश अदालतका अध्यक्षको सरुवा भएको छ । गच्छदारलाई छाडेको दुई दिनमै अध्यक्ष प्रेमराज कार्कीको सरुवा भएको हो।

कार्कीलाई उच्च अदालत विराटनगरअन्तर्गत इलाम इजलासको मुख्य न्यायाधीशका रुपमा काजमा पठाइएको छ ।

सर्वोच्चले कार्कीको काज सरुवाको निर्णय भने सार्वजनिक गरेको छैन् । तर, अध्यक्ष कार्कीले भने काज सरुवाको निर्णय भएको जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ५६ लाख रुपैयाँ बिगो दाबी गरेर मुद्दा चलाएका गच्छदारलाई १० लाख धरौटीमा छाडिएको थियो ।

गच्छदारलाई १० लाख धरौटीमा छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।

मुद्दा चलेको डेढ वर्षसम्म फरार गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा उपस्थित भएका थिए । उनलाई अदालतले त्यही दिन धरानैटीम छाडेको थियो ।

ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ माघ २२ मा गच्छदारसहित १७५ जना लाई मुद्दा दायर गरेको थियो । विशेष अदालतको फरार सुचिमा रहेको गच्छदारलाई म्याद बुझाउन अदालतले ललितपुर सानेपादेखि गृह जिल्ला सुनसरीको दुहबीसम्म ताकेता गरेको थियो ।

पार्टीका आन्तरिक बैठकमा सहभागी हुँदै आएका उनी अदालतले खोज्दा डेढ वर्षदेखि भेटिएका थिएनन। 

गच्छदारलाई बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको नाममा पास गरिदिई भ्रष्टाचार गरेको आरोप छ । ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ गते उनीसहित १७५ जनालाई मुद्दा दायर गरेको थियो । २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री रहेको बखत उनले सरकारी जग्गा ब्यक्तिका नाममा पास गराई भ्रष्टाचार गरेको आरोप छ।

०६६ चैत २९ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सचिव दीपकुमार बस्न्यातले तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्मा पठाउन मन्त्री गच्छदारले नै सैद्धान्तिक स्वीकृति दिएका थिए ।

०६६ चैत २९, ०६७ वैशाख ३१, ०६७ साउन २८ र ०६९ असोज १८ को मन्त्री परिषद वैठकले प्रधानमन्त्री निवास विस्तार सम्बन्धमा निर्णय गरेको थियो । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले पूर्वउपप्रधानमन्त्री गच्छदारसहित तीन मन्त्री, ६ जना विशिष्ट श्रेणीका पदाधिकारीलाई मुद्दा लगाएको छ ।

यो पनि

पहिलो वलमै देउवाको ‘चौका’, आलमलाई छुटाएर ‘छक्का’ हान्ने तयारी

डेढ वर्ष कहाँ लुलेका थिए गच्छदार, देउवा जागेपछि फुत्त निस्किए ?

विजयकुमार गच्छदार चोलेन्द्रशमशेर जबरा विषेश अदालत प्रेमराज कार्की

विशेष