News

गोप्य रुपमा आयोजना गरिएको एमाले नेपाल समूहको स्थायी समिति बैठक शुरु

गोप्य रुपमा आयोजना गरिएको एमाले नेपाल समूहको स्थायी समिति बैठक शुरु

नेकपा एमाले खनाल–नेपाल समूहको स्थायी समिति बैठक शुरु भएको छ । बुध्दनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बैठक बसेको बताइएको छ ।

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित उक्त समूहका स्थायी समिति सदस्यहरु भीम रावल,अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली,सुरेन्द्र पाण्डे,योगेश भट्टराई,गोकर्ण विष्टलगायतको सहभागिता रहेको छ ।

निकै गोप्यताका साथ आयोजना गरिएको बैठकमा अन्य नेताहरु पुग्ने क्रम जारी रहेको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली समूहले यसअघि पार्टीको केन्द्रीय समितिलाई विधान विपरित स्वतः दशौं महाधिवेशन आयोजक समितिमा परिणत गरेपछि एमाले विवाद उत्कर्षमा पुगेको हो ।

त्यसैगरी, प्रक्रिया पूरा नगरी तत्कालीन एमालेको निर्वाचित स्थायी समिति र केन्द्रीय समितिमा संख्या थप्ने कार्यलाई पनि नेपाल समूहले अवैधानिक मान्दै आएको छ । 


वैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा जाने वा नजाने भन्ने विषयमा निर्णय गरिने एक नेताले वताए ।

यसअघि एमालेका दोस्रो तहका नेताहरूबीच छलफल भएको थियो। दुवै पक्षका दोस्रो तहका नेताले पार्टी एकताका विषयमा छलफल गरेका थिए। छलफलमा ओली पक्षबाट उपमहासचिव विष्णु पौडेल, नेताहरू सुवास नेम्वाङ र शंकर पोखरेल तथा नेपाल पक्षका उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य, गोकर्ण विष्ट र नेता सुरेन्द्र पाण्डे सहभागी थिए। 

दुवै पक्षका दोस्रो तहका नेताको छलफलपछि नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बसिरहेको छ। दोस्रो तहका नेताबीच भएको छलफलका विषयमा पनि बैठकमा चर्चा हुने जनाइएको छ। 

यससँगै नेपालले आफ्नो धारणा राख्ने भएका छन्। ओलीले महाधिवेशन आयोजक कमिटी विघटनसँगै केन्द्रीय कमिटीको बैठक बोलाएको विषयमा नेपालले स्थायी कमिटी सदस्यलाई आफ्नो धारणा सुनाउने भएका छन्। 
 

विशेष