News अपराध सुरक्षा

परपुरुषसँग हाँसेको भन्दै पत्निको कान छिनालेर हातमा राखिदिए

परपुरुषसँग हाँसेको भन्दै पत्निको कान छिनालेर हातमा राखिदिए

बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डारगाउँकी २१ वर्षीया जानकी नेपालीको उनकै पतिले बायाँकान छिनालेकाछन् । परपुरुषसँग किन हाँसेको भन्दै जानकीका पति मनोज नेपालीले शनिबार निर्घात कुटपिट  गर्दै कान छिनालेर भागेकाछन् ।  

बायाँ कान छिनालेर हातमा राखिदिएपछि मनोज भागेको जानकीले बताएकीछन् । उनि भन्छिन्, काटिएको कान मेरो हातमा दिँदै भोलि मेडिकल गएर जोडी माग्नु भनेर भाग्यो।’ जिल्ला अस्पतालमा उपचाररत उनको काटिएको कानको शल्यक्रिया भएको छ। शल्यक्रिया सम्पन्न भए पनि कान जोडिने वा नजोडिने निश्चित नभएको चिकित्सकहरूले बताएका छन् । 


जानकीमाथि उनका श्रीमान्ले गरेको पाशविक हिंसाको यो पहिलो घटना भने होइन । १५ वर्षको उमेरमा ९ कक्षा पढ्दै गर्दा विवाह गरेकी उनले ६ वर्षको अवधिमा श्रीमान्को कुटाइका कारण पटक–पटक मृत्युशय्यामा पुग्नु परेको बताइन् । मनोजले विवाहको केही महिनापछि नै उनलाई यातना दिन सुरु गरेका थिए । सासूससुरालगायत सबै परिवार भारतको बैंग्लोरमा बस्ने जानकी श्रीमान् र तीन छोराछोरीमात्रै घरमा बस्थे । उनका चार वर्ष, अढाई वर्ष र १६ महिनाका तीन सन्तान छन् ।   

निरन्तरको यातना र टाउकोलगायत संवेदनशील भागमा परेको चोटका कारण जानकीको मानसिक अवस्थामै असर परेको चिकित्सकहरू बताउँछन् ।  जिल्ला प्रहरी कार्यालयले जानकीमाथि भएको हिंसाको घटनामा ठाडो उजुरी आए पनि जाहेरी नपरेको र पीडकको खोजी गरिरहेको बताएको छ । बझाङका प्रहरी प्रमुख डीएसपी रूपक खड्काले पीडकको खोजी गरिरहेको बताए ।

विशेष