News

भीम रावलको राजीनामा 'नयाँ स्टण्ट’, यसरी भए ओलीतिर ‘यूटर्न’

भीम रावलको राजीनामा 'नयाँ स्टण्ट’, यसरी भए ओलीतिर ‘यूटर्न’

हिजो प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरिरहँदा बाहिर एमाले उपाध्यक्ष भीमबहादुर रावलले सञ्चारकर्मीहरुमाझ उभिएर सांसद पदबाटै राजीनामा दिएको निवेदन पढेर सुनाए । त्यति नै बेला उहाँलाई पछाडिबाट स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले यसो नगरौं,भित्र जाऊँ भनिरहेका थिए। तर रावलले झोक्किँदै छाड्नुस् भनेर पाण्डेको हात झट्कारे।

पहिले केपी प्रवृत्तिविरुद्ध उग्र देखिएका रावल पछिल्लो पटक एक्लै बालुवाटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर फर्किएपछि लगभग ‘यु टर्न’ भएको उनका अभिव्यक्ति र गतिविधिलाई नजिकबाट नियालेका कमरेडहरुले बताउन थालेका छन् । अस्ति बेलुकीसम्म वरिष्ठ नेता माधवकुमार नेपालसँग निकट भनिएका केही नेतासँग रावलको ओरिएन्टेशन अध्यक्ष ओलीको निर्देशनअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्ने भन्ने नै थियो ।

सबै जसोलाई उनले ‘ल है’ भनी सम्झाउँदै आएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत हिजो बिहान एक्कासी लिने निर्णय गरेपछि सबैजसो असमञ्जस्यमा परे । त्यो क्रममा रावल छुट्ने कुरै भएन । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने योजनामा अरु सहमत नहुने देखिएपछि हिजो रावलले तात्तिँदै राजीनामाको ‘स्टण्ट’ प्रयोग गरेको निकटस्थहरुले बताएका छन् । एक जना नेताको भनाईमा उक्त कार्य रावलको नयाँ ‘फण्डा’ हो ।

यसअघि मेघा पार्टी प्यालेस,कलँकीमा नेपालपक्षीय नेताहरुको भेला हुँदा अलग पार्टी घोषणा गरेर जानुको विकल्प नभएको बताउने उनी नै थिए। नयाँ पार्टी गठननिम्ति रावलले विधानसमेत बनाएका थिए। विधान बनाउन आफू अनुकूल मान्छेको खोजीसमेत उनी एक्लैले गरेका थिए । त्यसैगरी पाँच दलको गठबन्धन बनाउने भन्दै तयार पारिएका काँग्रेसको भागको कागजातसमेत रावलले लगेर आफूलाई नदिएको उताका महामन्त्री पूर्णबहादुर खड्काले एकाध नेतासँग उतिबेलै बताएका थिए।

शनिबार रातिसम्म नेपाल निकट उपमहासचिव घनश्याम भुसाललगायतका नेताहरुले अध्यक्ष ओली समूहका उपमहासचिव विष्णु पौडेलहरुलाई तत्काललाई पार्टीको बैठक रोक्न र संसदको विश्वासको मत लिने प्रस्तावलाई पनि केही दिन पर धकेल्न आग्रह गरेको बुझिएको छ ।

बुधबार दिउँसो बालुवाटारबाट बालकोट सरेपछि अध्यक्ष ओली आफ्नै घरको वार्दलीमा बाहेक अन्य कतैपनि सार्वजनिक टिप्पणीको लागि प्रस्तुत भएका छैनन्। हिजो संसदको बैठकमा समेत उनी अनुपस्थित भएर मतदानको प्रक्रिया शुरु हुनु केही बेरअघि मात्र सदनभित्र प्रवेश गरेका थिए। कसैसँग एक शब्द नबोली नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शुरुमा हात मिलाएर बधाई भनेको नजिकैका काँग्रेसीले सुनेका थिए।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो ।

यो पनि

भीम रावलद्वारा प्रतिनिधि सभा सदस्यबाट राजिनामा (राजिनामा पत्रसहित)

भीम रावल राजीनामा

विशेष