News

आफनै ठेगान नभएका एमाले सांसदको आरोप– महन्थहरु षड्यन्त्रपूर्ण ढंगले परिचालित !

आफनै ठेगान नभएका एमाले सांसदको आरोप– महन्थहरु षड्यन्त्रपूर्ण ढंगले परिचालित !

साउन ३ गते राति प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावउपर मत विभाजन हुँदै थियो । प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको एमालेको संस्थापन पक्ष निकट भनेर चिनिएका आठ जना सांसद एकाएक वरिष्ठ नेता माधवकुमार नेपालको पछि लागे । एक्लै भए पनि विश्वासको मत दिने दिउँसै निर्णय गरिसकेकाले नेता नेपाल प्रस्तावको पक्षमा उभिने सामान्य आंकलन सबैको थियो । तर,केपी ओलीको खम्बा भनेर चिनिएका ८ भाइसमेत विश्वासको मतका लागि लाइन लागेर नेता नेपालको पछि लाग्दा भने धेरैले अचम्म माने ।

प्रतिनिधिसभाको निरन्तरता चाहेका नेता नेपाल सरकारलाई विश्वासको मत दिएर अर्को विघटन रोक्न चाहन्थे। सम्भावित अर्को विघटन रोक्न नेपाल पक्षका सांसदहरु नै निर्णायक थिए । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा पेश गरिएको दाबी पत्रमा सही गरेका र अदालतमा परमादेश मागेका नेपाल समूहका केही “हेभिवेट’ नेता विश्वासको मत नदिने निर्णयमा पुगेपछि पुनः संसद विघटन हुने हो कि भन्ने चिन्ता कायमै थियो । तर,अप्रत्यासित रुपमा ओली पक्षका ८ सांसद विश्वासको मतको पक्षमा उभिएसँगै प्रतिनिधिसभा मात्र जोगिएको छैन राष्ट्रिय राजनीतिमा नेपाल समूहलाई थप निर्णायक बनाएको छ ।

त्यसो त, जसपाको महन्थ ठाकुर खेमाले अन्तिम समयमा विश्वासको मत दिने निर्णय गरेपछि एमालेका सांसद बिना नै सरकारलाई बहुमत पुग्ने अवस्था थियो । नेपाल समूहका कतिपय नेताले सार्वजनिक रुपमै त्यस्तो तर्क गरिरहेका थिए । अहिले पनि उनीहरु महन्थहरुको भोटले संसद बच्ने भएपछि पार्टी एकताका लागि आफूहरु तटस्थ बस्ने निर्णयमा पुगेको बताइरहेका छन् । तर,विश्वासको मतको पक्षमा उभिएका ओली पक्षका एक सांसदले भने महन्थहरुले विश्वासको मत नदिने देखिएकाले आफूहरु माधव नेपालको पक्षमा उभिएको दाबी गरेका छन् ।

महन्थ खेमाको अस्वभाविक व्यवहारले आफूहरुलाई विश्वासको मतको पक्षमा उभिन बाध्य बनाएको दाङ्ग–३ का एमाले सांसद हिराचन्द्र केसीले दाबी गरे। उनी भन्छन्– ‘हामीले विश्वासको मत नदिएको भए महन्थ ठाकुरहरुले पनि दिँदैनथे, हामी नउठ्दासम्म उनीहरु उठेका थिएनन् । यदि हामीले विश्वासको मत नदिएको भए उनीहरु तटस्थ बस्ने या विपक्षमा जाने अवस्था बुझेर नै हामी त्यो निर्णयमा पुगेका हौँ ।’

सांसद केसीले महन्थ खेमा षड्यन्त्रपूर्ण ढंगले परिचालित भएको आशंकासमेत गरे। ‘उनीहरु कतैबाट प्रयोग भएको जस्तो लाग्छ । अन्तिम समयमा निरिह भएर भोट हाल्ने निर्णयमा पुगेको हो । हाम्रो निर्णायक भूमिकालाई कमजोर बनाउन कतैबाट परिचालन गरिएको हुनसक्छ’–उनले भने।

विगतमा आफू पार्टीभित्र अध्यक्ष केपी ओलीको पक्षमा भए पनि अब माधव नेपाललाई साथ दिने केसीले बताए। दुई पटकसम्म संसद भंग गरेर ओली संविधान र लोकतन्त्रका विरुध्द उभिएपछि आफूहरुले साथ छोडेको उनको भनाइ छ । ‘हाम्रो पार्टीमा स्वेच्छाचारिता बढ्यो । पार्टीमा छलफल नै नगरी पटक–पटक संसद विघटन गर्ने काम भयो । मैले यसअघि पनि अध्यक्ष ओलीलाई गलत गर्नुभयो भनेको थिएँ,तर उहाँले हाम्रो कुरा सुन्नुभएन । त्यसैले म अब माधव नेपालतिर लागेँ’,उनको भनाइ छ ।

७६ (५) को सरकारलाई विश्वासको मत दिँदा सांसदहरु स्वतन्त्र हुने सर्वोच्च अदालतको आदेशविपरित स्पष्टिकरण सोधिएकोमा उहाँले असन्तुष्टि जनाए । हिजो बसेको ओली पक्षीय केन्द्रीय समितिको बैठकले देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर,सांसद केसीले भने स्पष्टिकरणको जवाफ नदिने पनि प्रष्ट पारे।

‘७६ (५) को सरकारलाई विश्वासको मत दिँदा सांसदहरुलाई स्पष्टिकरण सोध्न या कारवाही गर्न मिल्दैन भनेर अदालतले अस्ति भर्खरै ब्याख्या गरेको हो । त्यसका विरुद्ध हुने गरी हामीलाई स्पष्टिकरण सोधिएको भन्ने कुरा मैले पनि मिडियामार्फत थाहा पाएको छु । आधिकारिक जानकारी पाएको छैन र पाए पनि जवाफ दिन्न’,उनले भने।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो ।

शेरबहादुर देउवा हिराचन्द्र केसी परिचालित

विशेष