News

निलो रेडबुल विक्रि गर्ने चारजना पक्राउ

निलो रेडबुल विक्रि गर्ने चारजना पक्राउ

प्रतिबन्धित निलो बट्टा भएको क्याफिनयुक्त पेय पदार्थ रेडबुल बिक्रि वितरण गरेको आरोपमा महानगरिय अपराध महाशाखा काठमाडौले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौको बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक रबिनराज श्रेष्ठ, बाँके कोहलपुर घरभई हाल गंगबु बस्ने राजु पौडेल, निलो पुल बस्ने शक्तिमाता स्टोर कपनका सञ्चालक धन बहादुर श्रेष्ठ र ओसारपसारमा संलग्न बिरेन्द्र चौधरी पक्राउ परेकाछन् । 


सरकारले क्याफिनयुक्त  निलो बट्टा भएको  रेडबुल बिक्रि वितरण बन्द गरेको छ । सोमबार महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले काठमाडौंको न्यूरोड, सिनामंगल, पूरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट प्रतिबन्धित निलो कलरको शक्तिबर्धक पेय पदार्थ निलो रेडबुल बिक्रीबितरण गरिरहेको अवस्थामा फेला पारी ४ जना व्यक्तिहरुबाट २०२ कार्टुन रेडबुल बरामद गरेकोछ ।  बरामद सामाग्री मध्ये ८४ कार्टुन रेडबुल  बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा ओसारपसारका लागि लोड गरेको अवस्थामा नयाँवस्ती गोठाटारबाट बरामद गरिएको हो । 


बरामद समानहरु खुला सीमानाको फाइदा उठाउदैं भारतसंग सीमानाका जोडिएका तराईका बिभिन्न जिल्लाहरुबाट लुकाइछिपाई नेपाल भित्र्याउने र पिक अप भ्यान तथा रात्रीकालीन बसका बिभिन्न भागमा लुकाई काठमाण्डौसम्म ओसारपसार गरि बजारमा बिक्रि बितरण गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अपराध महाशाखाले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई बरामद सामान सहित आवश्यक कार्वाहीको लागि भन्सार बिभाग पठाईने उल्लेख गरिएको छ ।

महानगरिय प्रहरी अपराध महाशाखा

विशेष