News

भीमदत्त राजमार्ग अवरुद्ध, सात जिल्लाका हजारौँ यात्रु अलपत्र

भीमदत्त राजमार्ग अवरुद्ध, सात जिल्लाका हजारौँ यात्रु अलपत्र

एघार घण्टा बितिसक्दा पनि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा नआउँदा हजाराँै यात्रु अलपत्र परेका छन् । 

जिल्लाको आलिताल गाउँपालिका–१ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको डडेल्धुरा प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने कार्य भइरहे पनि पहिरो नरोकिएका कारण राजमार्ग खुलाउनु समस्या भएको प्रहरीले जनाएको छ । 

राजमार्गमा पहिरो जाँदा सवारी साधन रोकिएपछि आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु आज बिहान ८ बजेदेखि अलपत्र परेका हुन् । सडकमाथिबाट निरन्तर पहिरो जाँदा राजमार्ग सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

मोड सुधार योजनाले राजमार्गमा पहिरोको जोखिम 
सुदूरपश्चिम प्रदेशको मुख्य विन्दुमा रहेको सात पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम पूर्ण बन्दै गएको छ । मोड सुधार योजनाका कारण सडकमा पहिरो र हिलाम्य भएकाले राजमार्ग जोखिमपूर्ण बन्दै गएको हो ।
 
ठेकेदारले असारको मुखमा मात्र काम गर्ने प्रवृत्तिले सडक जीर्ण हुँदै गएको छ । सडकको बीच–बीचमा ठूला–ठूला खाल्डा–खुल्डी खनिएकाले यातायात सञ्चालनमा जोखिम बढेको चालक इन्द्र एैरीले बताए । भीमदत्त राजमार्ग मर्मतका लागि प्रत्येक वर्ष ठेक्का हुने गरेको भए पनि ठेकेदारले यस वर्ष अन्तिममा सडकको मर्मत गर्ने र मोड सुधार योजनाका कारण पनि सडक जोखिमपूर्ण बन्दै गएको चालकको गुनासो छ । 

सडक डिभिजन कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्कीले बन्दाबन्दीले तोकिएको समयमा काम हुन नसक्दा समस्या उत्पन्न भएको हो । आगामी आवको असोजसम्म सडक मोड सुधार कार्यक्रम सम्पन्न गरिने उहाँको भनाइ छ । साविकको सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने एक मात्र यो राजमार्गमा सवारी साधनको अत्यधिक चाप हुने गरेको छ । रासस
 

विशेष