पत्रकारसँग प्रमाण खोज्ने ज्वालासम्वधी यस्तो छ सरकारी प्रमाण
खुस्वु घिमिरेको जाहेरीका आधारमा प्रहरीले स्वघोषित अभियन्ता ज्वाला संग्रौला (टिका) लाई पक्राउ गर्यो । त्यसपछि उनले ‘मुद्दाको छिनोफानो भएपछि बित्थामा दुःख पाइने र विवादमा आउने काम नगर्ने बरु गाउँ फर्केर खेतिपाती गरी बस्ने’ भन्दै टेकू प्रहरी हिरासत बस्दा महानगरीय प्रहरी परिसर टेकू,काठमाण्डौका प्रहरी निरीक्षक नानीकाजी थापा र प्रहरी जवान सन्तोष अधिकारीसँग वताईन ।
अनुसन्धानमा संलग्न एक अधिकारीलाई उधृत गर्दै तीन वटा अभियोगअन्तर्गत पटकपटक उनलाई थुनामा राखी अनुसन्धान हुँदै गरेको सामाचारहरु प्रकाशित भए । ति समाचारलाई ज्वालाले प्रमाणित गर्न चुनौती दिईन । त्यपछि प्रहरी, सरकारी वकिलको कार्यालय र जिल्ला अदालत काठमाडौँमा उनले दिएको बयान अध्ययन गर्दा ज्वाला र उनको श्रीमान भनिएका हिमाल उपाध्यायमाथि असार ११ गते लिखतसम्बन्धी कसुर, अभद्र व्यवहार र जातीय तथा सामाजिक विभेदविरुद्ध मुद्धा चलाइएको थियो ।
लिखतसम्बन्धी कसुरको अभियोग पत्रमा ज्वाला दम्पत्तिले अछामको मंगलसेन नगरपालिका र पाँचथरको साविक सुभांग गाविसको लेटरप्याड आफैंले तयार गरी आफ्नो विवरण भरेर फोटो टाँसेको साथै उक्त कार्यालयको छाप तथा स्थानीय पन्जिकाधिकारीको दस्तखतसमेत आफैं गरी नक्कली छाप लगाएर सम्बन्ध विच्छेदको किर्ते प्रमाणपत्र तयार गरेको उल्लेख छ । राहत वितरणसम्बन्धी अनुमति पत्रमा समेत प्रहरीले कैफियत जनाएको छ ।
प्रहरी र सरकारी वकिल कार्यालयद्वारा ज्वाला दम्पत्तिको उक्त कार्य प्रचलित मुलुकी ऐन २०२० को किर्ते कागजको महलको १,९ र १२ नं.समेतको कसुर रहेको र उक्त कसुरलाई हाल प्रचलित मुलुकी अपराध संहिता २०७४ को दफा २७६ ले समेत निरन्तरता दिएको अवस्था हुँदा उनीहरुलाई साविक मुलुकी ऐनको किर्ते कागजको ९ र १२ बमोजिम ७ बर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म सजाय गर्न मागदाबी गरिएको थियो ।
मुद्दाको सुनुवाईपछि असार २९ गते जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले (मुद्दा नम्बर ०७७–ऋ१–१७६६) ज्वाला दम्पतिले किर्ते गरेको ठहर गर्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्म तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । इजलासले ज्वालालाई तारेखमा र उनका श्रीमान भनिएका हिमाल उपाध्यायलाई एक लाख धरौटीमा राखेर मुद्दा चलाउन आदेश दिएको हो ।
मिसिलमा संलग्न मंगलसेन नगरपालिकाबाट जारी २०७३ साउन ३ को पत्र तथा अछाम जिल्ला अदालतको ०७८ असार १७ को पत्रका आधारमा ती दुईले सम्बन्ध बिच्छेदको कागज बनाए पनि त्यो काम नक्कली भएको अदालतको ठहर छ ।
‘मंगलसेन नगरपालिकाको कार्यालयबाट जारी भएका भनिएका बिबादित लिखतहरु नगरपालिकाको चलानी किताबमा नदेखिएको, ०७३ साउन ३ मा धर्मराज ढुंगाना र भरतराज खनाल स्थानीय पन्जिकाधिकारी नदेखिएको भनी नगरपालिकाको ०७८ असार १५ गतेको पत्र प्राप्त भएको, त्यस्तै ०७३ मै बिहे गरेकी ज्वाला भनिने टीका सङ्ग्रौलाले गाउँ विकास समितिको कार्यालय सुभाङबाट ०७४ असार ५ मा बनाएको अविवाहितको सिफारिस किर्ते रहेको, उनले नाता उल्लेख गरेका लक्ष्मीप्रसाद संग्रौला र विष्णुकुमार संग्रौलाको हाल हिलिहाङ –५ (साविक सुभाङ)मा बसोबास भएको नदेखिएकाले उक्त कागजातहरु किर्ते देखिन्छ’, अदालतको ठहर छ ।
ज्वालाका पति हिमालसङ्ग एक लाख धरौटी लिने अदालतको आदेशमा भनिएको छ–‘प्रतिवादी हिमालप्रसाद उपाध्यायसंग सम्बन्धित कागजातहरु किर्ते देखिन आई ती उनको डेराबाट बरामद भएकाले मागदाबी बमोजिमका कसुरदाता होइनन् भनी विश्वस्त हुन सक्ने अवस्था नभई उल्लेखित तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी कसुरदाता देखिन आएकाले प्रतिवादीउपरको कसुर तथा निजलाई हुनसक्ने सजाय समेतलाई बिचार गरी पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने हुँदा मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ (१) बमोजिम एक लाख नगद धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक ग्यारेन्टी दिए लिई तारेखमा राख्नु । मागबमोजिमको धरौटी दिन नसके कागज गराई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न थुनुवा पुर्जी दिई जगन्नाथदेवल कारागार पठाउनु ।’
ज्वालाको हकमा भने (एक त २५ दिन हिरासतमा बसिसकेकी महिला, त्यसमाथि कोरोनाको कहर र जेलको भीडभाडका कारण पति–पत्नीलाई नै जेल हाल्दा पारिवारिक समस्या पर्ने कारण) अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६९ बमोजिम तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । यी सबै प्रकरणमा सफाइ दिएको होइन । सामान्यतया मुद्दा चलाउँदाका दुई वटा बिधि हुन्छन–कोरोनाको महामारीका वीच जेलमै राखेर पुर्पक्ष गर्ने कि धरौटी लिएर या नलिइकन तारिखमा छाड्ने । जस्तो कि ः गत हप्ता दश लाख धरौटीमा नेपाली काङ्ग्रेस उपसभापति विजय गच्छदारलाई विशेष अदालतले तारिखमा छाड्यो, यसको मतलब मुद्दा जारी छ भनिएको हो, पूरै उन्मुक्ति मिल्यो भनिएको होइन । यो मुद्दा तीन चार बर्षसम्म चल्ने नै हो । त्यसमाथि ज्वालाको हकमा अहिले बाहिरै रहेर मुद्दा लड्ने सुविधाविरुद्ध सरकारी वकिल ७३ नम्बरअन्तर्गत पुनरावेदनमा जाने समय छँदैछ ।
ज्वाला दम्पत्तिले काठमाडौँ जिल्ला अदालतमा दिएको बयान यस्तो छः
मुद्दाको सुनुवाइका क्रममा ज्वाला र हिमाल दुबैले किर्ते गरेको स्वीकार गरेका छन् । बयानमा आफ्नो कोठाबाट किर्ते कागजात बरामद भएको स्वीकार गरेका उनीहरुले कोठासम्म कसरी आइपुग्यो भन्ने चाहिँ जानकारी नभएको बताएका छन् ।
कसरी किर्ते भयो भनी इजलासले सोधेको प्रश्नमा दुवै जनाले उक्त कागजहरु नक्कली हो भन्ने जान्दाजान्दै घरमा राखेको कबोल गरेकै छन् ।
‘कागजातमा भरिएको विवरण हामीहरुकै हो । तर, ती कागज कसरी आइपुग्यो थाहा भएन’, हिमालले इजलासलाई भनेका छन्, ‘कागजातमा भरिएका विवरण सहि हुन् । यसमा टाँसिएका फोटो हाम्रै हो ।’
ज्वालाले दुःखी गरिबलाई सहयोग गर्दै हिंडेको दाबीसहित आफ्नो परिचय यसरी दिएकी छन–मेरो फेसबुक नाम ज्वाला संग्रौला हो भने वास्तविक नाम टिका संग्रौला हो । म ३७ वर्षकी भएँ । जापानबाट भर्खर फर्की आएकी हुँ ।”
‘मेरो र हिमालको ११ वर्षअघि सामाजिक परम्पराअनुसार विवाह भएको हो । विवाह भएको दुई वर्षपछि म अध्ययनका लागि जापान गएँ । ८ महिना पहिले नेपाल आई जोरपाटीस्थित डेरामा हिमालसँग बस्दै आएको छु । खुश्बू भन्ने नविता घिमिरेको जाहेरीले अभद्र व्यवहार मुद्दामा प्रहरीले असार ९ गते कोठा खानतलासी गर्दा म र श्रीमानबीच सम्बन्धबिच्छेद भएको प्रमाणपत्र फेला परेको साँचो हो’,ज्वालाको बयान छ, ‘उक्त कागजातमा भरिएको विवरण मेरो र श्रीमान हिमालको हो भने कागजातमा टाँसिएका फोटो पनि हाम्रै हुन् । उक्त कागजहरु को, कसले कसरी तयार गरी मेरो डेरा कोठामा राखेको हो मलाई थाहा छैन ।’
राहत वितरणमा पनि किर्ते
हिमालले ग्लोबल आइएमइ र नेपाल बैंक लिमिटेडमा आफ्नो खाता रहेको जानकारी दिदै खाता नम्बर र मौज्दात रकमवारे भने जिल्ला सरकारी वकिलसामु केही खुलाएका छैनन् । बरु उनीहरूले राहत वितरणमा समेत किर्ते कागज प्रयोग गरेको भेटिएको छ । त्यसबारे इजलासबाट सोधखोजसमेत भएको देखिन्छ ।
मंगलसेन नगरपालिका–६ वडा कार्यालयले ०७७ जेठ २ मा राहत वितरणको लागि अनुमति दिएको पत्रमा कार्यालयको सहीछाप मेटिएको पाइएपछि अर्को किर्तेको आशंका गरिएको हो । यसवारे असार २९ गते अदालतले उनीसङ्ग १९ नम्बरको प्रश्न सोधेको थियो । जसमा भनिएको छ–वडा कार्यालयको च.नँ.२६७ को सहिछाप मेटिएको कागजात देखाइन्छ । ब्यहोरा कसो हो खुलाई दिनुहोस् । यसमा हिमालले कागज गोजीमा राखेको समय पानीले भिजेर छाप मेटिएको हाँस्यास्पद बयान दिएका छन् ।
यो जोडीले लिखतमा मात्र किर्ते गरेर नपुगी वयानमा समेत पाइला पाइलामा न्यायालयलाई ढाँटेको भेटिन्छ । टिकाले ओमप्रसाद अर्याल श्रीमान सामु गरेको वयानमा भनिएको छ (७ ज)–११ बर्षअगाडि सामाजिक परम्पराअनुसार हिमाल र मेरो बिहे भएको हो । ज्वालाको यो दावी पत्याउने हो भने ०७८ सालमा आइपुग्दा त्यो १७ बर्ष पुगिसकेको हुनुपर्छ । एकातिर ०७३।३।३१ मा हामीवीच अछाम जिल्ला अदालतबाट सम्बन्धबिच्छेद भएको हैन भन्ने हिमालको वयान छ भने टिका (ज्वाला) ले चाहिँ त्यसको ठ्याक्कै एक बर्षपछि ०७४।३।५ गते पाँचथरबाट अविवाहित भएको नक्कली कागज बनाएको गाउँपालिकाले पुष्टि गरेको छ । असार २९ गते मङ्गलवारको बकपत्र (नम्बर ७) मा अदालतले –मङ्गलसेन नपाबाट जारी भएको सन २०१७ जुन १८ को नाता प्रमाणपत्रको च नं. ६६७ र सोही नपाको जुन १८ कै नाता प्रमाणपत्रमा च नं. ६६८ रहेको, नाता प्रमाण जारी गर्ने गणेशप्रसाद जैसीको दस्तखत फरकफरक देखिएको, प्रमाणपत्रमा टाँसिएका फोटोहरु उप्काएको, लेटरप्याडको पछाडि कार्यालयहरुको छाप पटकपटक लगाई अभ्यास गरेको र सम्बन्ध बिच्छेद लगायतका प्रमाणपत्र लेखिएको विवरण नै नभरिएका खाली लेटरप्याडहरु गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जोरपाटी, नमूनाचोकको डेराबाट बरामद भएकोवारे स्पष्ट हुन खोजेको छ ।
ज्वालाले सरकारी वकिल सुदीपकुमार दङ्गालसामु दिएको बयानमा पनि आफ्नो बन्द कोठामा भेटिएका कागजातहरु किर्ते हुन् भनेर नै सनाखत गरेकी थिइन् । ‘सबै कागजात किर्ते हुन्, अरु मलाई थाहा छैन’,असार १७ गते उनले यस्तो व्यहोरामा हस्ताक्षर गरेकी छन् ।
आफू रोल मोडल बनेर समाजलाई सहि दिशा निर्देश गर्नुपर्नेहरुले नै यसरी पाइला पाइलामा किर्ते काम गरेपछि ‘सामाजिक अभियन्ता’ शव्दको इज्जत कहाँ रहला !
सामाजिक सञ्जालमा सिमान्तहीन गालिगलौजका शब्द लेख्ने गरेको र प्रहरी चौकीमै साथी खुश्बू घिमिरेलाई कुटपिट गरेको अभियोगमा प्रहरी खोरमा पुगेकी झापाकी ज्वाला र अछामका हिमालको कागजात भिडाउने क्रममा प्रहरी, सरकारी वकिल र अदालतले किर्ते गरेको ठहर्याएका हुन् ।
पूरै सफाइ पाए जसरी फेरि पुरानै शैलीमा फर्किएकी ज्वाला तारेखमा छुटे पनि मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनीमाथि अनुसन्धान जारी रहन्छ । ‘कि थुनामा राखेर अनुसन्धान गरिन्छ कि तारेखमा । उनी तारेखमा मात्र छुटेकी हुन् । मुद्दाको किनारा लागिसकेको हैन’,एक सरकारी वकिलले भने । सरकार पुनरावेदनमा जाने बाटो बाँकी नै रहेको उनले बताए ।
ठगेर खानुभन्दा श्रम गरेर खानु इज्जतिलो कुरा हो । त्यसमाथि श्रमको उच्च कदर हुने जापानजस्तो मुलुकमा श्रम र पढाइ सकेर आएकी पात्रले कृषि प्रधान देशमा कृषि गर्ने कुरालाई हेयको भावले हेर्दै नकारात्मक प्रतिक्रिया जनाउनु र आफ्ना गल्तीमाथि पर्दा हाल्न मिडियालाई चुनौती दिनु आफैमा रोमाञ्चक बिषय हो ।
जनआस्थाको सहयोगमा