राजेन्द्र महतोले भने– यो अवस्था आउला भनेर हामीले कल्पना पनि गरेका थिएनौं
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आफ्नो पक्ष कमजोर देखिएपछि वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको आधिकारिक्ता निर्वाचन आयोगले नभई जनताले दिने वताएका छन् ।
निर्वाचन आयोगमा आज भएको ‘हेड काउन्ट’मा उपेन्द्र यादव पक्षमा ५१ र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा १६ जना केन्द्रीय सदस्य उभिएका थिए। जसपा विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका छन् ।
त्यसपछि महतोले अव जनतामा जाने बताए। उनले आफुहरुको माग विपरित आयोगले पार्टी फुटाउन खोजेको आरोप लगाए । ‘आयोगले त पार्टी फुटाउँछ। हामीले पार्टी फुटाउने माग नै गरेका थिएनौं,’ महतोले भने। निर्वाचन आयोगको फैसलापछि आगामी निर्णय लिने उनले बताए।
महतोले ५१ जना मात्रै दल नभएको जिकिर गरे । उनले जसपाको अहिलेको स्थितिलाई दुर्भाग्यपूर्ण भएको बताए। ‘५१ जना मात्रै दल होइन। दल कतै गएको छैन’ उनले भने–‘यो कुरा जनताले बुझेका छन्। निर्वाचन आयोगमा हामीले विभाजनसम्बन्धी प्राविधिक काम ग¥यौं। यो दुर्भाग्यपूर्ण हो।’
एक वर्षअघि उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजन हुनै लाग्दा आफूहरुले बचाएको स्मरण गरेका महतोले ‘यति चाँडै हाम्रो पार्टीमा यो अवस्था आउनला भनेर हामीले कल्पना पनि गरेका थिएनौं।’
तर दुर्भाग्यपूर्ण अवस्था आएकाले दलसम्बन्धी, जनमतसम्बन्धी, जनाधारसम्बन्धी सम्पूर्ण निर्णय गर्न जनतामै जाने उनले वताए ।
जसपा राजेन्द्र महतो