६ महिनाअघि हराएका बालबालिका भारतको वरेलीमा भेटिए
बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट उद्धार गरिएको छ ।
कोहलपुर नगरपालिका–४ निवासी ११ वर्षीय रोशन बादी, उनका भाइ सात वर्षीय विशाल र पाँच वर्षीया पूजा बादीलाई उद्धार गरी रुपन्देही हुँदै कोहलपुर ल्याइएको छ । बरेलीस्थित नारी निकेतन अनाथाश्रममा रहेका उनीहरुलाई रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरेर ल्याइएको र आजै परिवारको जिम्मा लगाइने वडाध्यक्ष तीर्थराम थारुले जानकारी दिए।
उनीहरुसँगै बैतडी र दाङका एकएक बालक पनि सोही बालगृहमा भेटिएको बताइएको छ । हराएका तीन बालबालिका नेपालगञ्जस्थित जमुनाह नाका हुँदै रुपैडिया हुँदै भारतीय ट्रकमा बरेली पुगेका थिए ।
बरेली पुग्नुभन्दा दुईतीन किलोमिटर वरै ट्रकले झारिदिएकाले अलपत्र अवस्थामा सडकमा हिँडिरहेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेर मञ्चको जिम्मा लगाएको थियो । साथीहरुको लहलहैमा घर छाडेर जोखिमपूर्ण यात्रा गर्दै भारत पुगेका बालबालिका त्यहाँका विभिन्न शहरमा अलपत्र पर्ने गरेको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले बताउए।